
सुर्खेत । कालिकोटको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धिरबहादुर विष्टलाई स्थानीय युवाले कान समातेर उठबस गराएका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका विष्टले सरकारी गाडी दुरुपयोग गरेको र सार्वजनिक स्थलमा मदिरापान गरेको भन्दै स्थानीय युवाले माफी मगाउँदै उठबस गर्न लगाएका हुन् ।
विष्टसँगै मदिरा सेवनमा सहभागी नरहरीनाथ– ७ का वडाअध्यक्ष दलबहादुर विश्वकर्मालाई पनि स्थानीयले उठबस गराएका छन् । उनीहरुले उठबस गराएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
भिडिओमा देखिन्छ– सुर्खेतको एक होटलमा सरकारी गाडीसहित उनीहरु मदिरा सेवन गरिरहेको अवस्थामा केही युवा फेला पार्छन् । विष्टले माफी माग्छन् । र पनि उठबस गराएरै छाड्छन् ।
अध्यक्ष विष्टले आफूमाथि सुनियोजितरुपमा प्रहार गर्न थालिएको बताए । ‘भिडियो कहाँ खिचेका हुन् थाहा भएन, को–को हुन् भन्ने पनि म चिन्दिनँ’, उनले नेपालप्रेससँग भने, ‘अहिले मेरो पक्षमा माहोल बन्दै गएको छ । त्यसैले सुनियोजित प्रहार भयो ।’ उनले आफूसँग पैसा मागेको र नदिएपछि भिडिओ सार्वजनिक गरेको बताए ।
स्रोत ः नेपाल प्रेस