नेकपा एमालेको घोषणा पत्र सार्वजनिक ः निःशुल्क र अनिवार्य शिक्षा समावेश – Karnali News

नेकपा एमालेको घोषणा पत्र सार्वजनिक ः निःशुल्क र अनिवार्य शिक्षा समावेश

 १९ बैशाख २०७९, सोमबार १८:१०  

नौरते नेपाली, वैशाख १९ जुम्ला
नेकपा एमाले जुम्लाले चन्दननाथ नगरपालिकाको घोषणा पत्र सार्वजनिक गरेको छ । “सुशासन, समृद्धि रसामाजवादको आधार, चन्दननाथ नगरपालिकामा एमालेको सरकार” भन्ने नाराका साथ नगरपालिकाको घोषणा पत्र सार्वजनिक गरेको हो । १–१२ अनिवार्य र निःशुल्क शिक्षा, शैक्षिक राहत कोष, उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था, कर्णाली प्राविधिक शिक्षालयलाई बुहप्राविधिक शिक्षालयको रुपमा स्तरवृद्धि गरिने कुरा घोषणा पत्रमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलन कार्यक्रम मार्फत घोषणा पत्र सार्वजनिक गर्दै नेकपा एमाले नगर प्रमुखका उम्मेदवार धर्मेन्द्र रोकायाले स्वास्थ्य क्षेत्रमा निःशुल्क स्वास्थ्य बिमा, एक विद्यालय एक नर्स, घातक रोग उपचार कोष, निःशुल्क एम्बलेन्स सेवा र प्रत्येक तिन महिनामा जेष्ठ र अशक्त नागरिकका लागि घुम्ती स्वास्थ्य शिविर संचालन गरिने बताउनुभयो ।

प्रत्येक गाउँमा सुधारिएको कालोपत्रे सडक, टोलटोलमा शुद्ध खानेपानी र ढल निकासलाई जोड दिईएको रोकायाले बताउनु भयो । उहाँले भन्नुभयो, काठे र झोलुगें पुल बिस्थापित, आधुनिक पक्कि पुल स्थापित गर्ने कुरा घोषणा पत्रमा उल्लेख गरिएको छ । नगरपालिका भित्रका सबै बस्तिमा एक घर एक धारा, निःशुल्क खानेपानी सबैको साहारा नारालाई सार्थक बनाईने रोकायाको भनाइ छ ।

एक घर एक जुल्ठेनाको फोहोर, कम्पोष्ट मल बनाई कमाऔँ मोहरको नीति निर्माण गरिने रोकायाले बताउनु भयो । २ सय युनिट सम्मको बिजुली निःशुल्क, “स्थानीय स्तरमा जैविक ग्यास, बैकल्पिक उर्जाको अभ्यास” कार्यक्रम मार्फत (वायु, शौर्य र गोबर ग्यासमा) अनुदान दिने विषय घोषणा पत्रमा लेखिएको उहाँको भनाइ छ ।

एक घर एक उद्यमी, आवस्यकताका आधारमा लगानी, गाउँ–गाउँमा तालीम घर, सम्वृद्धिको लागि नपरौं अरुको भर र युवाको लागि शैक्षिक ऋण, स्वदेसमै बनाऔँ सुनौला दिन कार्यक्रम लागु गरिने घोषणा पत्रमा लेखिएको छ । यस्तै कृषि क्षेत्र तिर यान्त्रीकीकरणको विकास गर्ने, अर्गानिक उत्पादनमा जोड दिने, १ सय देखि ५ सय सम्म भेडा तथा बाख्रा पालन गर्ने किसानलाई, खोर, खोप र बिमा निःशुल्क गराई दिनने, भैँसी तथा उन्नत जातको गाई पालन गर्ने किसानलाई गोठ निर्माण गरिने रोकायाले बताउनु भयो ।

उहाँका अनुसार पालिका स्तरीय खेल मैदान, टोलटोलमा युवा क्लब गठन गर्दै नगरमा सद्भावना दुत बनाईने जानकारी गराउनु भयो । शारीरिक व्यायमबाट तन्दुरुस्ती तन, हरेक पालिकामा तालीम तथा खेल प्रशिक्षक व्यवस्थापनको कुरालाई कार्यान्वयन गरिनेछ । साथै एक विद्यालय एक खेलकुद प्रशिक्षकको दरबन्दीको व्यवस्थापन गरिने नगर प्रमुखका उम्मेदवार रोकायाले बताउनु भयो ।

गाउँ गाउँमा सहकारी, उत्पादनको भकारी, घर घरमा बचत, सुपथ मूल्यको पसलमा खपत र सहकारीमा महिला नेतृत्वको बिकास गरौं, अर्थतन्त्र बलियो बनाउन अघि सरौं लगायतका कार्यक्रमलाई नेकपा एमालेको सरकार भएमा लागु गरिने कुरा घोषणा पत्रमा लेखिएको छ । टोल टोलमा हरित उद्यानको निर्माण, पर्यटन विकासको ठोस प्रमाण, पुरातात्विक महत्व बोकेका बस्तुको प्रचारप्रसार तथा जिणओद्धार र गाउँ गाउँमा पर्यटकको लागि होमस्टे तथा खस कला संस्कृतिको प्रचार प्रसार केन्द्रको स्थापना गरिने रोकायाले बताउनु भयो ।

समाजमा समानता र समताको नीति, हरेक कार्यमा महिला तथा दलित अनिवार्य उपस्थिति र समाजमा पछाडि पारिएका वर्गको उन्नति र उत्थानको लागि सामाजिक सुरक्षाको व्यवस्था गरिने छ घोषणा पत्रमा लेखिएको छ । जडिबुटी संकलन, व्यवस्थापन र बजारीकरणमा सहयोग पुर्याउने तथा प्रसोधन केन्द्र स्थापना गर्ने र जडिबुटीको चोरीनिकासी तथा अव्यवस्थित संकलन कार्यलाई निरुत्साहित गरिने विषय नेकपा एमाले जुम्लाको नगर घोषणा पत्रमा उल्लेख गरिएको छ ।

नगरपालिकामा नेकपा एमालेको सरकार भएमा विपद्मा परेकाहरुलाई नाना, खाना र टिनको छानाको व्यवस्थापन गर्ने, बाढी, पहिरो, भू–क्षय जान सक्ने स्थानमा तटबन्धन गर्ने र प्रत्येक गाउँमा विपद् सहजकर्ता तयार गर्ने लगायतका नीतिहरु नेकपा एमालेको नगर घोषणा पत्रमा लेखिएको छ ।

जनप्रतिनिधि जनता प्रति उत्तरदायि हुनेछन, भ्रष्टचार मुक्त नगरपालिका कायम गर्ने, प्रत्येक ३ महिनामा खर्चको विवरण जनता सामु सार्वजनिक गर्ने र जनताको सहभागितामा विकासे कार्यक्रम बाँडफाड गर्ने एमालेको घोषणा पत्रमा लेखिएको छ । घोषणा पत्रमा उल्लेख गरिएका सबै कुरा नेकपा एमालेको सरकार भएमा हुबहु कार्यान्वयन हुने रोकायाले बताउनु भयो ।