
सीता कुमाई, वैशाख १९ जुम्ला
किर्डाक नेपाल जुम्लाले जिल्ला विपद् व्यवस्थापन समिति जुम्लालाई अति आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति जुम्लालाई आवश्यकताको आधारमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड प्रोग्राम म्यानेजर पंकज शाहीले जानकारी दिनुभयो ।
शाहीका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिलाई ८ लाख ३६ हजार ४ सय ७६ रुपैयाँ ८५ पैसा बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । जसमा २ लाख ३६ हजार रुपैयाँको ३ वटा अक्सिजन कन्सनटेटर, १४ हजार ६ सय २० रुपैयाँ बराबरको २ वटा बि प्याक मेसिन, ६ हजार ६ सय पचास रुपैयाँ बराबरको ९५ पिस फेसिल्ड, ७६ हजारको ९५ प्याकेट हाते पन्जा हस्तान्तरण गरिएको शाहीले बताउनु भयो ।
त्यस्तै २२ हजार ८ सय बराबरको ९५ प्याकेट सर्जिकल माक्स, १ लाख ९९ हजार ५ सय रुपैयाँको ९५ सेट पिपिइ, ४ हजार २ सय ७५ रुपैयाँको १९२ पिस साबुन र ९ हजार बराबरको ५ लिटर सेनिटाइजर जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको फिल्ड प्रोग्राम म्यानेजर शाहीले बताउनु भयो ।
जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरु समितिले आवश्यकताका आधारमा वितरण गर्ने उहाँले जानकारी दिनुभयो । जिल्लामा एकद्धार संकट व्यवस्थापन प्रणाली अनुसार सामाग्री हस्तान्तरण गरिने शाहीको भनाइ छ ।
कोभिड महामारीका समयमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले किर्डाक नेपाल जुम्लालाई धन्यवाद व्यक्त गर्नु भएको छ । आगामी दिनहरुमा पनि यस्तै सहयोगको आशा गरेको प्रसाईको भनाइ छ ।