
नौरते नेपाली, वैशाख १८ जुम्ला
नेपाली काँग्रेस पातारासि गाउँपालिका अध्यक्ष पदका उम्मेदवार पूर्णसिंह बोहोराले चौधबिसलाई पर्यटकिय क्षेत्र बनाउने चुनावी एजेण्डा बनाउनु भएको छ । पातारासि गाउँपालिकामा रहेका विभिन्न पर्यटकिय क्षेत्रको प्रवद्र्धन तथा विकास गर्दै पाँच वर्ष भित्र पर्यटकिय क्षेत्र बनाउने चुनावी एजेण्डा बोहोराले बनाउनु भएको हो । यति बेला बोहोरा चुनावी कार्यक्रम अन्तर्गत घरदैलो अभियानमा हुनुहुन्छ ।
कान्जिरोवा, पातारासि हिमाल र विश्वको अग्लो स्थानमा धान फल्ने छुम ज्युलोलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने उहाँको लक्ष्य रहेको छ । पातारासि हिमाल र शिवजी जन्मेको भूमिलाई पर्यटयिक क्षेत्र बनाउने एजेण्डा बोकेर जनताको घरदैलोमा प्रचार प्रशारका लागि पुग्ने गरेको उहाँले बताउनु भयो । अध्यक्ष पदका उम्मेदवार बोहोराका अनुसार विकास गरी सुखी र खुसी चौधबिस बासि बनाउने चाहना रहेको सुनाउनु भयो । सुन्दर र समृद्ध चौधबिस बनाउने इच्छा भएकाले अध्यक्ष पदमा उम्मेदवारी दिएको उहाँले बताउनु भयो ।
जडिबुटीको पकेट क्षेत्रका रुपमा परिचित पातारासि क्षेत्रलाई समृद्ध बनाउन सकिने बोहोराको भनाइ छ । विश्वकै अग्लो स्थानमा धान फल्ने छुम ज्युलाको संरक्षण गर्दै हाई अल्ट्च्यिुट खेलमैदानको विकास गर्नको लागि प्राथमिकता दिने उहाँले जानकारी गराउनु भयो । बोहोराका अनुसार पातारासिको विकट गाउँहरु हुरी र महरीसम्म बाह्रै महिना सहजै सवारी गुड्ने सडक निर्माणमा ध्यान केन्द्रित गर्ने प्रतिवद्धता गर्नु भएको छ ।
शैक्षिक क्षेत्रमा पछि परेका चौधबिसका बालबालिकालाई नियमित विद्यालय जाने वातावारण तयार गर्ने भन्दै उहाँले शैक्षिक प्याकेजका कार्यक्रमहरु ल्याउने बताउनु भयो । बेरोजगारी न्युनिकरण गर्ने, कृषि क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने, युवाहरुलाई रोजगारी दिने, महिला र दलित समुदायलाई जीविको पार्जनका कार्यक्रममा जोड्ने चुनावी मुद्दा बोकेको उहाँको भनाइ छ ।
कृषि तर्फ भेडापालन, चौरी पालन र मौरी पालन लगायतका क्षेत्रको विकास गर्दै किसानहरुका लागि सहुलियत ऋण उपलब्ध गराउने उहाँले स्थानीय घोषणा पत्रमा उल्लेख गर्नु भएको छ । २०७४ मा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुले गर्न बाँकि राखेका कामहरु पुरा गर्ने बोहोराले बचन वद्धता गर्नु भएको छ ।
गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनाएकोमा उहाँले नेपाली काँग्रेस पार्टीलाई आभार प्रकट गर्नु भएको छ । पातारासि गाउँपालिका जुम्लाको अध्यक्ष पदमा मेरो उम्मेदवारी यस क्षेत्रको स्वास्थ्य, शिक्षा, रोजगारी र विकासका लागि भएको उहाँले बताउनु भयो । गाउँपालिका उपाध्यक्ष पदमा शान्ति बुढा उम्मेदवार हुनुहुन्छ ।