
नौरते नेपाली, वैशाख १६ जुम्ला
जुम्लाको चन्दननाथ नगरपालिकामा नेकपा एकिकृत समाजवादि, राप्रपा र स्वतन्त्र उम्मेदवारका बिचमा चुनावी तालमेल गर्ने सहमति भएको छ । चन्दननाथ नगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायतलाई नेकपा एस र राप्रपाले समर्थन गरेका छन् ।
नेकपा एसबाट नगर प्रमुखमा उम्मेदवारी दिनु भएका जयलक्ष्मी चौलागाई र राप्रपाबाट नगर प्रमुखमा उम्मेदवारी दिएका पूर्णसिंह कठायतले उम्मेदवारी फिर्ता लिएका छन् । दुवै जनाले नगर प्रमुखको उम्मेदवारी फिर्ता गराउँदै स्वतन्त्र नगर प्रमुखका उम्मेदवार कठायतलाई सहयोग गर्ने सहमति भएको नेकपा एसका देविलाल थापाले बताउनु भयो ।
उहाँका अनुसार नगर उपप्रमुखमा नेकपा एसका भीमवहादुर थापालाई सबैले सहमति गरेको बताउनु भयो । नगर उपप्रमुखमा नेकपा एसका थापालाई गबन्धनबाट अघि सारिएको छ । यस्तै चन्दननाथ नगरपालिकाका १० वटै वडामा तालमेल भएको राप्रपाका श्रीकृष्ण बुढाले बताउनु भयो ।
उहाँका अनुसार वडा नम्बर १ मा नेकपा एसका दयादत्त हमाल, वडा नम्बर २ मा स्वतन्त्र उम्मेदवार रतन भण्डारी, वडा नम्बर ३ मा नेकपा एसका माधव तिमिल्सीना, वडा नम्बर ४ मा राप्रपाका श्रीकृष्ण बुढा, वडा नम्बर ५ मा स्वतन्त्र उम्मेदवार पूर्ण प्रसाद श्रेष्ठ, वडा नम्बर ६ मा नेकपा एसका कृष्ण थापा, वडा नम्बर ७ मा नेकपा एसका गणेश महत, वडा नम्बर ८ मा नेकपा एसका हरिचन्द्र थापा र वडा नम्बर ९ मा नेकपा एसका सुन सार्कीलाई वडाध्यक्ष पदमा गबन्धनले समर्थन गरेको छ ।
वडा नम्बर १० मा बसन्तजंग शाह र चन्द्रवहादुर विष्ट दुवैजना स्वतन्त्र भएकाले सहमति हुन नसकेको बताईएको छ । चन्दननाथ नगरपालिका भित्रका १० वटा वडामध्ये ६ वटा वडामा नेकपा एस, २ वटा वडामा स्वतन्त्र र १ वटा वडामा राप्रपाका उम्मेदवारलाई सहयोग गर्ने गठबन्धनका बिच सहमति भएको छ । स्वतन्त्र उम्मेदवारसँग गबठन्धन गर्दा सबै भन्दी फाईदा नेकपा एसलाई भएको छ ।
नगर उपप्रमुख सहित ६ वटा वडाध्यक्ष पदमा नेकपा एसका उम्मेदवार विजयी हुने निश्चित भएको छ । गठबन्धनका बिच चुनावका बेला कुनै पनि धोका नहुने प्रतिवद्धता सहितको सहमति भएको नगर प्रमुख पदका उम्मेदवार कठायतले बताउनु भयो । उहाँले भन्नुभयो, काँग्रेस सँगको राजनीतिक सम्बन्ध मेरो अब पूर्ण विराम भएको छ ।
मैले काँग्रेस पार्टीबाट राजीनामा दिई सकेको छु, यो गठबन्धनलाई जिताउने प्रमुख जिम्मेवारी सबैको हुन्छ । यसमा कोहि कसैबाट धोका नहुने कठायतले बताउनु भयो । काँग्रेस पार्टीमा गरेको त्याग र बलिदनाको अबमूल्यन भएकाले स्वतन्त्रबाट मेरो नगर प्रमुख पदमा उम्मेदवारी परेको उहाँको भनाइ छ । मलाई सहयोग गर्नको लागि नेकपा एस र राप्रपाले समर्थन गरेका छन् ।
यसमा सबै उम्मेदवारलाई जिताउन मेरो प्रमुख भूमिका रहने कठायतले बताउनु भयो । नेकपा एसबाट नगर प्रमुखको पदबाट उम्मेदवारी फिर्ता लिनु भएका जयलक्ष्मी चौलागाईले पार्टीको आवश्यकता अनुसार उम्मेदवारीबाट पछि हटेको बताउनु भयो । उम्मेदवारी फिर्ता लिएकोमा मलाई पश्चताप छैन उहाँले भन्नुभयो व्यक्ति भन्दा पनि पार्टी जिताउनु पर्छ भन्ने मलाई लागेको छ ।