
वैशाख १४ जुम्ला
नेपालमा संघीयता सुरु भएपछि केन्द्रको अधिकार प्रदेश हुँदै स्थानीय तहलाई दिइएको छ । यसका लागि स्थानीय तहमै स्थानीय सरकार गठन गरि सरकारलाई जनउत्तरदायी बनाउने प्रयास गरिएको छ । २०७४ सालमा पहिलोपटक भएको स्थानीय तह निर्वाचनबाट छानिएका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल यहि जेठ पहिलो साता सकिदैछ ।
नेपालमा संघीयता सुरु भएपछि दोस्रोपटक स्थानीय तहको चुनाव यहि वैशाख ३० गते हुदैछ । वैशाख ११ र १२ गते गरि दुई दिन स्थानीय तहको निर्वाचनका लागि धुमधाम दलहरूले आ–आफ्ना उम्मेदवारको मनोनयन दर्ता गरे । यसपटक दलगत भन्दा बढी स्वतन्त्र उम्मेदवारहरुको उम्मेदवारी परेको छ । यसै क्रममा जुम्लाका ८ वटा स्थानीय तहमा रहेका ६० वटा वडा मध्ये तातोपानी गाउँपालिका वडा नम्बर ४ मा वडाअध्यक्ष पदका उम्मेदवार अमर बहादुर रोकायाको चर्चा गर्दैछौ ।
हाम्रो लक्ष्य कुनै पनि उम्मेदवारको प्रचार गर्नु नभई उनीहरुको वास्तविक क्षमता जनता सामु ल्याउनु हो । ताकी असल, इमानदार, क्षमतावान र जनमुखी जनप्रतिनिधि छान्ने जनताको अधिकार सुनिश्चित होस । वि.स. २०३७ सालमा तातोपानी गाउँपालिका वडा नम्बर चार साविकको हाँकु गाविसमा बुबा राम बहादुर रोकाया र आमा ओमखरी रोकायाको कोखबाट उहाँको जन्म भएको हो ।
सानैदेखि राजनीति र समाजसेवाको भुत उहाँमा चढेको पाइन्छ । त्यसैको लागि २०४८ साल चैत ३ गते नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुद्वारा श्री हिमशिखर माविमा गठन भएको प्रारम्भिक कमिटीको अध्यक्ष पदमा निर्वाचित भई विद्यालय देखि नै राजनीतिमा कदम चाल्नु भएको थियो ।
त्यसपछि अनेरास्ववियुको जिल्ला कमिटी जुम्लाको सचिव हुँदै २०५२ सालमा जुम्ला बहुमुखी क्याम्पसमा भएको स्ववियु चुनावमा अनेरास्ववियुको तर्फबाट सहसचिव पदमा विजय हुनुभयो । यसपछी उहाँको राजनीतिक यात्रा निरन्तर उकालो लाग्यो । पछि राष्ट्रिय युवा संघ नेपालको छटौं जिल्ला अधिवेशनबाट उपाध्यक्ष र पछि २०७६ सालमा अध्यक्ष हुँदै केन्द्रिय सचिवालय सदस्यमा मनोनीत हुनुभयो ।
२०६३ सालदेखि नेकपा एमाले जुम्लाको संगठित सदस्य प्राप्त गरि सक्रिय पार्टी राजनीतिमा लाग्नु भएको थियो । सामाजिक क्षेत्रमा पनि लामो अनुभव रहेका रोकायाको चार वर्ष शिक्षण पेशामा रमाउनु भएको थियो । पछि गएर श्री नेत्रज्योति मावि हाँकुमा विद्यालय व्यवस्थापन समितिको निर्वाचित अध्यक्ष भई विद्यालयको गुणस्तरमा योगदान गर्नुभयो ।
अहिले उनै रोकाया पुनः विद्यालयमा अंग्रेजी माध्यममा शिक्षण, शिक्षामा गुणस्तरीयता लगायतका प्रतिवद्वता सहित वडा अध्यक्षको उम्मेदवारी बन्नु भएको छ । यस्तै, ग्रामीण विकास समूह कार्यक्रम मार्फत जुम्लामा ६ वर्ष कार्यकारी सचिव, ग्रामीण परिवेश नेपाल जुम्लाको ६ वर्ष अध्यक्ष र पुनः ३ वर्ष कार्यकारी निर्देशक भई लामो प्रशासनिक अनुभव रहेको छ ।
२०७३ सालमा गैर सरकारी संस्थाहरूको छाता संगठन गैर सरकारी संस्था महासंघ जुम्लाको सचीव र २०७५ सालमा जिल्ला अध्यक्ष हुनु भएका थियो । रोकाया अहिले ’हाम्रो वडा राम्रो वडा’ भन्ने मुल नाराका साथ विभिन्न क्षेत्रगत योजनाका साथ वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।
उहाँले भन्नुभयो, “हाम्रो पार्टीले अंगिकार गरेको ’समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सार्थक गरि ’समृद्ध वडा सुखी वडावासी’ बनाउने हाम्रो एकमात्र चाहना हो । हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने “ उहाँले प्रश्न गर्नुभयो । यसैको लागी उहाँले विभिन्न योजना अघि सार्नु भएको छ ।
वडाका आधारभूत विद्यालयमा १–३ सम्म अंग्रेजी माध्यममा पठनपाठन, प्रभावकारी छात्रवृत्ति र छात्रावास, जेष्ठ नागरिकको लागि वार्षिक दन्त शिविर, वडावासिको निःशुल्क स्वास्थ्य विमा, वडामा एम्बुलेन्सको पहल, टोलटोलमा ईन्टरनेट, स्थानीय स्रोतसाधनको प्रयोग गरि एक गाउँ एक उत्पादन, प्रत्येक गाउँ जोड्ने ग्रामीण सडक, कर्णाली राजमार्ग जोड्ने हाँकु–ऐरेनी पक्की पुल लगायतका योजना÷प्रतिवद्वता उहाँले अघि सार्नु भएको छ ।
साथै वडाको दीर्घकालीन विकास, योजना र नीति निर्माणमा नागरिकको सहभागितामा जोड दिइने उहाँले बताए । संघ, प्रदेश र गाउँपालिकाको समन्वयमा विकासका लागी साझेदारी गर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था संगको समन्वय र साझेदारीमा वडामा शिक्षा, स्वास्थ्य, रोजगारी, तालिम लगायतका विषयमा कार्यक्रम आयोजना गरिने छ ।