नगरपालिकामा ५२ पदका लागि २ सय ६६ जनाको मनोनयन दर्ता – Karnali News

नगरपालिकामा ५२ पदका लागि २ सय ६६ जनाको मनोनयन दर्ता

 १३ बैशाख २०७९, मंगलवार १८:३३  

नौरते नेपाली, वैशाख १३ जुम्ला
चन्दननाथ नगरपालिका जुम्लाको ५२ पदका लागि २ सय ६६ जनाले मनोनयन दर्ता गराएको छन् । नगर प्रमुख १, उपप्रमुख १, १० वटा वडाध्यक्ष, प्रत्येक वडामा २ वटा खुल्ला सदस्य, १ वटा महिला सदस्य र १ वटा दलित महिला सदस्य पदमा २ सय ६६ जनाले मनोनयन दर्ता गराएका हुन् । नगर प्रमुख १ पदमा ९ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताउनु भयो । यस्तै उपप्रमुख १ पदमा ८ जनाको उम्मेदवारी परेको उहाँको भनाइ छ । उहाँका अनुसार १० वटा वडाध्यक्ष पदमा ७० जनाले मनोनयन दर्ता गराएको बताउनु भयो । मनोनयन दर्ता गराएका उम्मेदवारका विरुद्धमा दावि विरोधको समय भएपनि कोहि पनि उम्मेदवार विरुद्ध दावि विरोध नपरेको उपाध्यायले बताउनु भयो ।

तिला गाउँपालिकामा ४७ पदका लागि १ सय ९९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत निर्मला कुमारी खडकाले बताउनु भयो । अध्यक्ष एक पदका लागि अध्यक्षमा ६ जनाले मनोनयन दर्ता गराएको उहाँले बताउनु भयो । यस्तै उपाध्यक्ष एक पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएको उहाँले बताउनु भयो । खडकाका अनुसार ९ वटा वडाध्यक्ष पदमा ४७ जनाको उम्मेदवारी परेको बताउनु भयो । १८ वटा महिला वडा सदस्यमा ३८ जनाको मनोनयन परेको भन्दै उहाँले ९ वटा खुला वडा सदस्यमा ७५ जनाको उम्मेदवारी दर्ता भएको जानकारी गराउनु भयो । ९ वटा दलित महिला वडा सदस्यमा २५ जनाले उम्मेदवारी दिएको उहाँले बताउनु भयो ।

तातोपानी गाउँपालिका जुम्लामा ४२ पदका पदका १ सय ८२ जनाको मनोनयन परेको छ । अध्यक्ष एक पदका ८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत सरोजराज रेग्मीले बताउनु भयो । यस्तै उपाध्यक्ष एक पदका लागि उपाध्यक्ष ७ जनाले मनोनयन दर्ता गराएको उहाँको भनाइ छ । वडाध्यक्ष ८ वटा पदका लागि ४२ जनाले उम्मेदवारी दिएको उहाँले जानकारी गराउनु भयो । निर्वाचन अधिकारी रेग्मीका अनुसार १६ जना खुला वडा सदस्य पदमा ६८ जनाले मनोनयन दर्ता गराउनु बताउनु भयो । यस्तै ८ जना महिला सदस्य पदमा ३३ जनाले उम्मेदवारी दर्ता गराएको उहाँको भनाइ छ । १ वटा दलित महिला वडा सदस्यमा २४ जनाले मनोनयन दर्ता गराएको रेग्मीले बताउनु भयो । वडा नम्बर ७ मा दलित महिला वडा सदस्यमा नानी दमाई नेकपा माओवादि केन्द्रबाट र वडा नम्बर ८ मा नानीकला दमाई नेकपा एमालेबाट निर्विरोध हुने संभावना रहेको उहाँको भनाइ छ ।

हिमा गाउँपालिका ३७ पदका लागि १ सय ९७ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष एक पदमा ७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत रितु राईले बताउनुभयो । यस्तै उपाध्यक्ष एक पदका लागि उपाध्यक्ष ९ जनाले मनोनयन दर्ता गराएको उहाँको भनाइ छ । वडाध्यक्ष ७ पदका लागि ५४ जना मध्ये महिला २ जना र पुरुष ५२ जनाको उम्मेदवारी परेको उहाँले बताउनु भयो । राईका अनुसार खुला वडा सदस्य १४ पदका लागि ७० जनाले मनोनयन दर्ता गराएको बताउनु भयो । यसमा महिला १६ र पुरुष ५४ जनाले उम्मेदवारी दिएको उहाँको भनाइ छ । यस्तै महिला सदस्य एक पदका लागि ३७ जनाको उम्मेदवारी परेका राईले जानकारी गराउनु भयो । यसैगरी, दलित महिला वडा सदस्य एक पदका लागि २० जनाको उम्मेवारी दिएको उहाँको भनाइ छ ।

गुठीचौर गाउँपालिका जुम्लामा २७ पदका लागि १ सय १२ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष एक पदका लागि ६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत शम्भु गौतमले बताउनु भयो । उपाध्यक्ष एक पदमा ६ जना, वडाध्यक्ष ५ पदमा २६ जना, खुला वडा सदस्य १० पदमा ४० जना, महिला वडा सदस्य ५ पदमा २० जना र दलित महिला वडा सदस्य ५ पदमा १४ जनाले मनोनयन दर्ता गराएको उहाँको भनाइ छ ।