सार्कीको परिवारलाई राहतको लागि प्रदेश सरकारसंग अनुरोध गर्ने निर्णय – Karnali News

सार्कीको परिवारलाई राहतको लागि प्रदेश सरकारसंग अनुरोध गर्ने निर्णय

 ११ बैशाख २०७९, आईतवार १८:०१  

एनिसा हमाल, वैशाख ११ जुम्ला
घर आगलागीबाट पिडित मानसिंह सार्कीको परिवारलाई राहतको लागि जिल्ला प्रशासन कार्यालयले प्रदेश सरकारसंग अनुरोध गर्ने भएको छ । आगलागी हुँदा घटना स्थलमै ज्यान गुमाएका चार जना बालबालिका र घाइते तिन जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भई रहेकोले मृतकका परिवारको लागि तत्काल राहत तथा पुर्नस्थापनाको लागि कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताउनु भयो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी प्रसाईको अध्यक्षतामा शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै विपद्बाट प्रभावित परिवारको लागि खाद्यन्न, गैर खाद्य सामाग्री, अस्थायी बासस्थान, मनोसामाजिक परार्मश लगायतका सेवाका लागि किर्डाक नेपाल, नेपाल रेडक्रस सोसाइटी, पेस नेपाल, वल्र्डभिजन र मर्सिकोर लगायतका संघ सस्थाहरुलाई अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रसाईले जानकारी दिनुभयो ।

उक्त बैठकले सम्बन्धित स्थानीय तहबाट विपद प्रभावितको परिवारको घर निर्माण र शव व्यवस्थापन लगायतका कार्य गर्ने निर्णय भएको पनि उहाँले बताउनु भयो । बैशाख ९ गते तिला गाउँपालिका वडा नम्बर ३ मा भएको आगलागीबाट एकै परिवारका चार जनाको मृत्यु भएको थियो । तिला गाउँपालिका वडा नम्बर ३ निवासी मानसिंह सार्कीको घर जल्दा दुई छोरी, एक छोरा र भान्जी सहित चार बालबालिकाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीय छोरी अनु सार्की, तीन वर्षीय छोरी दर्शना सार्की, १ वर्षीय छोरा दीपेश सार्की र भान्जी १४ वर्षीय तिर्सना सार्की रहेको प्रजिअ प्रसाईले जानकारी दिनुभयो । आगलागीका कारण बेहोस भएका मानसिंह र निजकी श्रीमती फागुनी सार्की, बहिनी रुन्चकली सार्कीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भएर स्वस्थ्या अबस्था सामान्या उहाँले बताउनु भयो ।