उम्मेदवारको टुंगो लगाउन नेकपा एमाले आन्तरिक छलफलमा – Karnali News

उम्मेदवारको टुंगो लगाउन नेकपा एमाले आन्तरिक छलफलमा

 ९ बैशाख २०७९, शुक्रबार १६:३५  

वैशाख ९ जुम्ला
नेकपा एमाले जुम्लाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका आकांक्षी उम्मेदवारको टुगों लगाउन आन्तरिक छलफललाई तिब्र पारेको छ । नेकपा एमालेले स्थानीय तहको चुनावका लागि उम्मेदवार छनोटको मापदण्ड तयार गरेकाले त्यसैमा टेकेर आकांक्षी उम्मेदवारको टुगों लगाउन लागेको पार्टी अध्यक्ष शान्तिलाल महतले बताउनु भयो ।

उहाँका अनुसार हालसम्म जुम्लाका आठ वटै स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्षको प्रस्तावित नाम प्रदेश कमिटीमा पठाई सकेको बताउनु भयो । मनोनयन दर्ता गर्ने दिनसम्म सबै उम्मेदवारको नाम आई सक्ने अध्यक्ष महतको भनाइ छ । जुम्लाका ६० वटा वडामध्ये ३४ वटा वडाअध्यक्षहरुको उम्मेदवारी टुगों लागि सकेको उहाँले बताउनु भयो ।

चन्दनाथ नगरपालिका १० मध्ये ६, कनकासुन्दरीका ८ मध्ये ६, सिंजाका ६ मध्ये ४, हिमाको ७ वटा वडामध्ये ५, तिलाका ९ मध्ये ३, तातोपानीका ८ मध्ये ४, गुठीचौरका ५ मध्ये ३ र पातारासिका ७ मध्ये ३ वटा वडामा वडाध्यक्षहरुको टुगों लागि सकेको पार्टी अध्यक्ष महतले बताउनु भयो । बाँकि २६ वडामा आकांक्षी बढी भएकाले छलफल भइरहेको पार्टी सचिव धनकृष्ण पाण्डेले बताउनु भयो ।

स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष र सदस्यको उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने भएको छ । त्यसका आधारमा जिल्ला कमिटीले टिकट दिने उहाँले बताउनु भयो । सचिव पाण्डेका अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको सिफारिस जिल्ला कमिटीले गर्ने जानकारी गराउनु भयो ।

गठबन्धन दलको भन्दा सक्षम उम्मेदवार छान्नु पर्ने भएकोले केही स्थानीय तहमा उम्मेदवारको टुंगो लाग्न नसकेको पाण्डेले बताउनु भयो । उहाँका अनुसार स्थानीय तह निर्वाचनमा पार्टी भन्दा पनि व्यक्तिलाई प्राथमिकताका साथ हेरिने भएकोले गठबन्धनको भन्दा सक्षम र उर्जाशिल उम्मेदवार छनोट गर्न लागि परेको बताउनु भयो ।

हाल सम्म नेकपा एमाले जुम्लाले तिला गाउँपालिकामा रेशमबहादुर शाहीको नाम अध्यक्षको लागि टुंग्याएको छ । उपाध्यक्षमा तीन जनाको नाम प्रदेश कार्यालयमा सिफारीसका लागि पठाएको छ । हिमा गाउँपालिकामा अध्यक्षमा जयबहादुर खत्री र उपाध्यक्षमा भागरथी शाहीको नाम टुंगो लागेको नेकपा एमाले जुम्लाका सचिव पाण्डेले जानकारी दिनुभयो ।

सिँजामा आकांक्षी धेरै भएकोले टुंगो लगाउनको लागि प्रदेश कार्यालयमा नाम सिफारीस गरिएको उहाँको भनाइ छ । अध्यक्षमा सुमन आचार्य, युवराज बम र भुवन रोकायाको नाम पठाइएको नेकपा एमाले जुम्लाले जनाएको छ । उपाध्यक्षको लागि पनि तीन जनाको नाम सिफारीस गरिएको हो । कनकासुन्दरी गाउँपालिकामा मानबहादुर रोकायाको नाम अध्यक्षमा टुंगिएको छ ।

उपाध्यक्षमा तीन जनाको नाम आएकोले प्रदेशमा पठाइएको हो । पातारासीमा अध्यक्षमा सुकराम रावत र उपाध्यक्षमा खुम्मेनी महताराको नाम टुंगो लागेको हो । गुठिचौर गाउँपालिकामा अध्यक्षमा झनमाया जैसी र उपाध्यक्षमा प्रेमबहादुर बुढा छनोट गरेको हो । तातोपानीमा अध्यक्षमा सुरतबहादुर शाही र धिरज जैसीको नाम आएकोमा टुंगो लगाउन प्रदेश पठाइएको छ ।

उपाध्यक्षमा ज्वाला चौलागाइ र भृकुटी नेपालीको नाम पनि प्रदेश कार्यालयमा पठाइएको हो । चन्दननाथ नगरपालिकामा उम्मेदवार छनोटमा छलफल भइरहेको छ । नगरपालिकाको उम्मेदवारको सिफारीसका लागि कसैको नाम आइसकेको छैन । सचिव पाण्डेले उम्मेदवारको टुंगो लागेको पालिकामा प्रचार प्रसारको काम गर्न घरदैलो कार्यक्रम सुरु भइसकेको बताउनु भयो ।

उहाँका अनुसार ‘गठबन्धन दल एकातिर र एमाले मात्र अर्कोतिर भएकोले गम्भीर रुपमा आन्तरिक छलफल गरेर मात्र टुंगोमा पुर्याउने तयारी भइरहेको छ ।