कृषि जनगणना बुधबारबाट देशैभर सुरु – Karnali News

कृषि जनगणना बुधबारबाट देशैभर सुरु

 ७ बैशाख २०७९, बुधबार १९:१९  

नौरते नेपाली, वैशाख ७ जुम्ला
बुधबारबाट देशैभर साँतौ राष्ट्रिय कृषि जनगणना सुरु भएको छ । देशभरका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिने जनाईएको छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म सञ्चालन हुने कृषि गणना स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कूल तीन लाख ५० हजार कृषक परिवारसँग व्यक्तिगत अन्तवार्ताद्वारा कृषि क्रियाकलाप सम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने जिल्ला जनगणना कार्यालय जुम्लाका सहायक जिल्ला कृषि गणना अधिकृत रघुनाथ जोसीले बताउनु भयो ।

तथ्याङ्क संकलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय तोकिएको उहाँको भनाइ छ । देशभरका ७७ जिल्लाका ७ सय ५३ पालिकामा कृषि गणनाका लागि पाँच हजार २ सय गणक र एक हजार ३ सय सुपरीवेक्षक खटाइएको भन्दै जोसीले जुम्लामा आठवटा स्थानीय तहमा ८ जना सुपरिवेक्षक र ३० जना गणक खटाईएको बताउनु भयो ।

जुम्लाका आठ वटा स्थानीय तहका ५० वटा वडामा गणना कार्य हुने उहाँले बताउनु भयो । कृषि गणनाका लागि सबै गणकहरु गाउँमा पुगि सकेको भन्दै उहाँले सहि तथ्याङ्क उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । कृषि गणनामा गणकले सङ्कटमा रैथाने पशुपक्षीको तथ्याङ्क, सम्पूर्ण बाली, माछा, पशुपक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गर्नेछन् ।

कृषि गणनामा घर परिवारले गरेको कृषि कार्य, संस्था र व्यवसायिले गरेको कृषि कर्म र वडागत सामुदायिक कृषि सम्बन्धि क्रियाकलपाहरु समेटिएको जिल्ला कृषि गणना कार्यालय जुम्लाका अधिकृत लक्ष्मण कँडेलले बताउनु भयो । ३ वटा प्रश्नावलीमा आधारित रहेर कृषि गणना हुने उहाँले बताउनु भयो ।

२० देखि ३० जना कृषक परिवारलाई प्रति गणना क्षेत्र तोकिएको कँडेलको भनाइ छ । राष्ट्रिय कृषि गणना सम्बन्धि जिल्ला स्तरीय गोष्ठिमा बोल्दै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले वास्तविक तथ्याङ्क सकंलन गर्न अनुरोध गर्नु भएको छ । उहाँले भन्नुभयो, तथ्याङ्कको नाउमा मिथ्याङ्क नहोस । कृषि क्षेत्रमा सहभागि किसानहरुको सहि तथ्याङ्क संकलनमा सबैलाई सहयोग गर्न बुढाले अनुरोध गर्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई जुम्लामा खेती हुँदै आएको रैथाने बालीको तथ्याङ्क संकलनमा जोड दिन सुझाव दिनुभयो । विश्वकै अग्लो स्थानमा फल्ने कालीमार्सि चामल, फापर, सिमी र ओखर जस्ता महत्वपूर्ण कृषि बालीहरुलाई कृषि गणनामा समावेश गर्नु पर्ने उहाँको भनाइ छ ।

प्रसाईका अनुसार कृषि गणना कार्यलाई प्रभावकारी बनाउनको लागि स्थानीय एफएमहरुबाट प्रचार प्रशार गर्न सुझाव दिनु भएको छ । यसअघि वि.सं. २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक १०÷१० वर्षमा कृषि गणना सुरु गर्दै आएको छ । नेपालमा २०१८ सालबाट कृषि गणना गर्ने कार्य सुरु भएको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कमा नेपालमा हाल झण्डै ६६ प्रतिशत किसान रहेका र कूल गार्हस्थ उत्पादनमा कृषि तथा पशुपक्षी क्षेत्रको योगदान २७ प्रतिशत रहेको उल्लेख छ ।