विपद्बाट मृत्यु भएका ७ जनाले १३ लाख रकम पाए – Karnali News

विपद्बाट मृत्यु भएका ७ जनाले १३ लाख रकम पाए

 २० चैत्र २०७८, आईतवार २०:२३  

चैत २० जुम्ला

जुम्लामा विपद्बाट मृत्यु भएका ७ जनाल १३ लाख रकम राहत पाएका छन् । चालु आर्थिक वर्षमा विपद्बाट जुम्लामा ७ जनाको मृत्यु भएको तथ्यांक जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको छ । जिल्लामा आएको बेमौसमी बाढीका कारण पातारासी गाउँपालिकामा १ जना, हिमामा १ जना, तातोपानीमा ३ जना र हिम पहिरामा परेर तातोपानी गाउँपालिकामै २ जना गरी ७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

विपद्का कारण मृत्यु भएका ६ जनाको परिवारलाई जनही २ लाख गरेर १२ लाख र एक जनालाई एक लाख गरेर १३ लाख रुपैयाँ राहत प्रदान गरि सकिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले जानकारी दिनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको जिल्ला तथा स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रममा प्रस्तुतीकरण गर्दै प्रजिअ प्रसाईले जुम्लामा विपद्का घटना बढिरहेको बताउनु भयो ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण कहिले धेरै वर्षा भइदिने र कहिले सुख्खा खडेरी हुने भएकाले विपद्का घटना बढिरहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले जानकारी दिनुभयो । बेमौसमी वर्षाले जिल्लाको तिला र तातोपानी गाउँपालिकाका १ हजार १ सय १२ जना किसानको १ हजार ८ सय ७३ कट्ठामा लगाएको जुम्ला मार्सीधानमा क्षति पुगेको तथ्यांकले देखाएको छ ।

जसका कारण संसारको उच्च स्थानमा फल्ने नामले परिचित मार्सी धान लोप हुने संकेत देखिएको छ । मार्सी धान लगाएको खेत नै बगाएर लगेको किसानको राहतका लागि १९ लाख ३५ हजार ४ सय ६५ रुपैयाँ गृहमन्त्रालयमा माग गरिएकोमा गृह मन्त्रालयबाट ५ लाख रुपैयाँ मात्र प्राप्त भएको प्रजिअ प्रसाईले बताउनु भयो ।

गृहमन्त्रालयले पठाएको रकम भागबन्डा गर्दा एक जना किसानको भागमा ४ सय १२ रुपैयाँ मात्र पर्छ । यति सानो रकम किसानको खातामा पठाउन पनि सकिएको छैन । न पठाउने हो भने फ्रिज हुने चिन्ता; पठाउने हो भने यो रकमले एक छाक समेत टर्ने अवस्था नभएको प्रजिअ प्रसाईको भनाइ छ । कर्णाली प्रदेश सरकारसँग पहल भएकाले पर्खाइमा रहेको उहाँले बताउनु भयो ।

बाढी पहिरो, वर्षा र आगलागीका कारण निजी आवास नष्ट भएका ८९ घरधनीलाई तत्काल २५ हजार रुपैयाँ, १२ घर धनीलाई २० हजारका दरले १५ लाख ७५ हजार रुपैयाँ राहतस्वरुप उपलब्ध गराएको जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाले जनाएको छ । विपद् व्यवस्थापन समितिले बाढी पहिरो र हिमपात सम्बन्धी सूचना प्रवाहमा कुनै कन्ज्युस्याइँ नगरेको बताएको छ ।

विपद्का घटना न्यूनीकरण गर्न जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको स्तरोन्नति गरिएको र केन्द्रका लागि आवश्यक पर्ने कम्प्युटर, टेलिफोन र सोलार तथा इन्टरनेटको व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी प्रसाईंको प्रस्तुतीकरणमा उल्लेख गरिएको थियो । प्रमुख जिल्ला अधिकारी प्रसाईले स्रोत साधनको अभाव, निजी आवास निर्माणका लागि स्थानीय विपद् व्यवस्थापन समितिको सक्रियता र क्षमताको अभाव, बेमौसमी वर्षातको कारण हुने क्षतिको राहत संकलनमा समस्या देखिएको बताउनु भयो ।

उहाँले जिल्ला विपद् व्यवस्थापन समितिको सुदृढीकरण, मानवीय क्षति पु¥याउने हिमाली वन्यजन्तुको नियन्त्रण तथा व्यवस्थापनका लागि साधनको अभाव, बस्ती स्थानान्तरण, मानवीय बस्ती र सडक आसपासमा रहेका ठूल्ठूला चट्टानको व्यवस्थापन गर्न कठिन हुनुका साथै विपद् सम्बन्धी सूचना संकलन गर्न मुख्य चुनौती रहेको बताउनु भयो ।

बेमौसमी वर्षाले क्षति पु¥याएको तिला र तातोपानीमा खानेपानी आयोजना सञ्चालनका लागि १५ हजार १ सय ९१ मिटर पाइप उपलब्ध गराएर तत्काल खानेपानी सञ्चालन गरिएको थियो । नेत्रज्योति मावि हाँकुमा वर्षासँगै आएको बाढीले नराम्ररी क्षति पुगेको थियो । खेलमैदान निर्माणका लागि सुरक्षा निकाय, सामाजिक संघसंस्थाको सहयोगमा आवश्यक सामग्रीको व्यवस्थापन गरी विद्यालय सञ्चालनमा ल्याइएको छ ।

विपद्बाट क्षति भएको भौतिक पूर्वाधारहरू सडक, सिँचाई, विद्यालय भवन तथा घट्टको विवरण तयार पारेर गृहमन्त्रालय र कर्णाली प्रदेश सरकारसमक्ष सिफारीस गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।