प्रतिष्ठानले देशलाई औषधि उपलब्ध गराउने छ ः उपकुलपति रावल – Karnali News

प्रतिष्ठानले देशलाई औषधि उपलब्ध गराउने छ ः उपकुलपति रावल

 २० चैत्र २०७८, आईतवार १९:५८  

नौरते नेपाली, चैत २० जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले देशलाई औषधि उपलब्ध गराउने उपकुलपति डाक्टर मंगल रावलले बताउनु भयो । देशलाई आवश्यक पर्ने डाक्टर उपलब्ध गराई सकेको प्रतिष्ठानले अब औषधि उपलब्ध गराउने उहाँले बताउनु भएको हो । जिम्मेवारी पाएको एक वर्षको अवधिमा भएका कामको जानकारी गराउने क्रममा आईतबार आयोजित पत्रकार सम्मेलनमा उपकुलपति रावलले अब प्रतिष्ठान अनुसन्धानका क्षेत्रमा केन्द्रित हुने बताउनु भयो ।

प्राकृतिक औषधिजन्य जडिबुटीको ठुलो खानी रहेको कर्णाली क्षेत्रलाई समेटेर विशिष्टकृत अनुसन्धान गर्ने हेतुले विश्वविद्यालय अनुसन्धान आयोग लगायतका संस्थाहरु सँग आवश्यक समन्वय भएको उहाँले बताउनु भयो । उपकुलपति रावलले विश्व विद्यालय आयोगबाट अनुसन्धानका लागि अनुदान प्राप्त गरी हाल ६ वटा अनुसन्धानका कार्यहरु भइरहेको बताउनु भयो ।

प्रतिष्ठानले अब देशलाई औषधि उपलब्ध गराउने उहाँले बताउनु भयो । रावलका अनुसार कर्णालीमा पाइने बहुमुल्य जडिबुटीबाट औषधि बनाई देशलाई पठाउने लक्ष्य रहेको जानकारी गराउनु भयो । प्रतिष्ठानको उद्देश्य अनुसन्धान गर्ने हो उहाँले भन्नुभयो अब औषधि उत्पादनमा हाम्रो ध्यान केन्द्रित हुनेछ । करिब २० प्रतिशत अनुसन्धानका कार्यहरु हाल संचालनमा रहेको जानकारी गराउनु भयो ।

प्रतिष्ठानले हाल छालारोग, आँखा रोग, नाक कान घाँटीरोग, बाल तथा दन्तरोग लगायतका विशेषज्ञ सेवा विस्तारीत भएको रावलको भनाइ छ । हिस्टो प्याथोलोजि सेवा पनि यसै वर्षबाट सुरु भएको उहाँले बताउनु भयो । पाठेघरको मुखको पूर्व क्यान्सरको अवस्थाई थर्माेकोगुलेसन पद्धतिबाट उपचार सुरु गरिएको उपकुलपति रावलले जानकारी गराउनु भयो ।

थप ६ बेडेको मेडिकल आईयुसि स्थापना भएको र ६ बेडको सघन बालरोग उपचार कक्षको उपकरण आएर स्थापनाको क्रममा रहेको रावलको भनाइ छ । रजिष्ट्रार नृपेन्द्र महतले प्रतिष्ठानका उपचार कक्षमा १ सय ८० बेडमा अक्सिजन पाईपालाईन विस्तार गरिएको बताउनु भयो । कालिकोट जिल्लाको रासकोट र राकम स्वास्थ्य केन्द्रमा प्रतिष्ठानकै चिकित्सक मार्फत सेवा प्रवाह भइरहेको उहाँले बताउनु भयो ।

राकम कर्णालीमा प्रतिष्ठानको १ सय बेडको अस्पताल निर्माणका लागि ३७ रोपनी जग्गा स्थानीयले निःशुल्क प्रादन गरेको र त्यसका लागि डिपिआर बन्ने क्रममा रहेको उहाँले बताउनु भयो । यता पत्रकारहरुले प्रतिष्ठानको व्यवस्थापकिय पक्ष अव्यवस्थित भएको बताएका छन् । प्रतिष्ठानको बिल काउन्टर, फार्मेसी, ल्याब र नाम लेखाउने ठाउँमा उपचार गर्न गएकाहरुले दुख पाइरहेको उनिहरुले बताएका छन् ।

उपचार गर्न गएकाहरुसँग प्रतिष्ठानका स्वास्थ्यकर्मी, चिकित्सक र सहयोगी कर्मचारीहरुले गलत व्यवहार गर्ने गरेको गुनासो पत्रकारहरुले गरेका छन् । विमा कार्डबाट सबै प्रकारकार औषधिहरु नपाइने भएकाले निजि मेडिकलबाट नागरिकले औषधि किन्नु परेको अवस्था छ । प्रतिष्ठानका पदाधिकारीले गति अनुसार काम गर्न र सेवालाई सुधार गर्न नसकेको पत्रकारहरुको आरोप छ ।

सेवाग्राही मैत्री हुन प्रतिष्ठानका पदाधिकारी र चिकित्सकलाई उनिहरुले सुझाव दिएका छन् । यसै शैक्षिक सत्रबाट प्रतिष्ठानमा सुरु भएको एमबिबिएस पढाईमा कर्णाली प्रदेशको दैलेख बाँहेक अन्य जिल्लाबाट समावेश नहुनु दुःखद पक्ष भएको बताईएको छ । सेवालाई सुधार गर्दै प्रतिष्ठानको लक्ष्य र उद्देश्य अनुसार काम नभए खबरदारी गर्ने जुम्लाका पत्रकारहरुको बताएका छन् ।

प्रतिष्ठानबाट प्रवाह हुने सेवाका विषयमा रेडियो कर्णाली जुम्लाबाट अभियानात्मक कार्यक्रम हुनेछ । सेवाग्राहीले भोग्नु परेको समस्या र प्रतिष्ठानले दिएको सेवाका विषयमा रेडियो कर्णाली अभियान सुचारु गर्ने भएको हो ।