
नौरते नेपाली, चैत २० जुम्ला
कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ मा रहेको पाण्डवगुफा मावि कोटघरले नमूना, सुविधायुक्त र बालमैत्री भवन पाउँदा विद्यालय परिवार खुसी भएको छ । बालबालिकालको सिकाईमा सहयोग हुने भएकाले भवन पाउँदा विद्यालय परिवार खुसी भएको हो । यो भन्दा पहिले सोहि विद्यालयमा यस्तो भवन निर्माण भएको थिएन ।
प्लान इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा पाण्डवगुफा मावि कोटघरमा ४ कोठे बालमैत्री र सुविधा युक्त भवन निर्माण भएको सोहि विद्यालयका प्रधानाध्यापक दिपेन्द्र रोकाया बताउनु भयो । उहाँका अनुसार विद्यालयको भवन पालिका स्तरकै नमूना भएको दावी गर्नु भयो । बालमैत्री र अपाङ्गमैत्री भवन निर्माण भएको उहाँको भनाइ छ ।
भवनको साथै सुविधा युक्त शौचालय पनि निर्माण भएको रोकायाले जानकारी गराउनु भयो । १५ लाख रुपैयाँको लागतमा शौचालय र ४५ लाख रुपैयाँको लागतमा भवन निर्माण गर्ने निकायलाई उहाँले धन्यवाद दिनु भएको छ । शनिबारका दिन एक समारोहका बिच निर्माण भएको भवन र शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको किर्डाक नेपाल जुम्लाका प्राविधिक भिम प्रसाद उपाध्यायले बताउनु भयो ।
समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्ट, प्लान इन्टरनेश्नल नेपालका राष्ट्रिय निर्देशक सन्देश शिल्पकार, प्लानकै गभरमेन्ट म्यानेजर मदनराज जोशी, क्षेत्रिय प्रबन्धक मीनाकुमारी पराजुली, समाज कल्याण परिषदका उपनिर्देशक दिपेन्द्र पन्त, किर्डाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीको उपस्थितमा गाउँपालिका अध्यक्ष नरविर रावत, उपाध्यक्ष उर्मिला खत्री (भण्डारी), गाउँपालिका शिक्षा शाखा प्रमुख नारायण न्यौपाने र विद्यालय परिवारको रोहोबरमा भवन र शौचालय हस्तान्तरण गरिएको हो ।
नयाँ निर्माण भएको भवन भित्र बालबालिकाहरुको लागि आवश्यक पर्ने शैक्षिक सामाग्री, खेलौना, बस्नको लागि राउण्ड टेबुल, कुसन कार्पेट लगायतका सामाग्री सहयोग गरिएको छ । धुलो माटो र खुल्ला ठाउँमा बसेर पढी रहेका विद्यार्थीका लागि राहत भएको गाउँपालिका अध्यक्ष नरविर रावतले बताउनु भयो । उहाँले भन्नुभयो यहि विद्यालयमा प्रदेश सरकारले पनि भवन दिएको छ ।
तर, यो भवन निर्माण भएको छैन् । प्लान इन्टरनेश्नल नेपालको सहयोगमा किर्डाक नेपाल जुम्लाले निर्माण गरेको भवन नमूना योग्य छ । यसका लागि हामी किर्डाक नेपाललाई धन्यवाद दिन्छौँ । अध्यक्ष रावतका अनुसार निर्माण भएको भवनको सुरक्षा, रेखदेख र आगामी दिनमा मर्मतको जिम्मेवारी स्थानीय सरकारले लिने बताउनु भयो । बालबालिकालाई विद्यालयमा आएर पढौँ पढौँ लाग्ने भवन निर्माण गरिदिएकोमा दातृ निकाय प्रति उहाँले आभार व्यक्त गर्नु भएको छ ।
उपाध्यक्ष उर्मिला खत्री (भण्डारी)ले बालबालिकाको पढाईमा सुधार आउने बताउनु भयो । बालबालिका विद्यालयमा आएपछि घर फर्किने अवस्था नआउने उहाँको भनाइ छ । विगतमा आफुले यहि विद्यालयमा शिक्षण गर्दा शैक्षिक सामाग्री नपाएर कपडाबाट बल र माटोका विभिन्न सामाग्री बनाएर बालबालिकालाई पढाउने गरेको थिए, उहाँले भन्नुभयो, अहिले सबै खेलौना सहयोग भएकोमा खुसीछु ।
पाण्डव मावि कोटघरमा दरबार जस्तो विद्यालय भवन निर्माण भएको बताउँदै उपाध्यक्ष भण्डारीले शिक्षण सिकाईमा सहयोग हुने अपेक्षा गरेको बताउनु भयो । समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्टले दुर्गमा गाउँमा निर्माण भएको भवनले विद्यार्थीलाई विद्यालय आउने वातावारण बनाएको बताउनु भयो ।
बालमैत्री अवधाराणा अनुसार भवन निर्माण भएको उहाँले बताउनु भयो । सरकाले राखेको लक्ष्यलाई पुरा गर्नको लागि गैर सरकारी संघ संस्थाले सहयोग गरेको उहाँको भनाइ छ । प्लान इन्टरनेश्नल नेपालका राष्ट्रिय निर्देशक सन्देश शिल्पकारले सबैको सहयोग भएमा गुणस्तरीय शिक्षा आर्जन गर्न टाठा जान नपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, आगामी दिनमा विद्यालयलाई कस्तो सहयोग आवश्यक पर्छ हामी गर्न तयार छौँ । समुदाय र स्थानीय सरकारको सहयोग भएमा गुणस्तरीय शिक्षाका लागि अझै राम्रा कामहरु गर्न सकिने उहाँको भनाइ छ । किर्डाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले निर्माण भएको भवनको संरक्षणमा स्थानीय सरकारले अग्रसरता देखाउनु पर्ने बताउनु भयो ।
उहाँका अनुसार बालबालिकाको सिकाईमा वृद्धि गर्नको लागि भवन र शैक्षिक सामाग्री उपलब्ध गराईएको बताउनु भयो । गाउँमा रहेका बालबालिकाले पनि गुणस्तरीय शिक्षा आर्जन गर्न पाउन भन्नको लागि किर्डाक नेपालले काम गर्दै आएको उहाँको भनाइ छ । पढ्ने पाउने अधिकारलाई सुनिश्चित गर्दै नेपाल सरकारले तोकेका शिक्षा सम्बन्धिका मापदण्ड पुरा गराउन किर्डाक नेपालले काम गर्दै आएको अधिकारीले बताउनु भयो ।
प्लान इन्टरनेश्नल नेपालको सहयोगमा किर्डाक नेपाल जुम्लाद्धारा संचालित कर्णाली शिक्षा परियोजनाबाट भवन निर्माण भएको किर्डाक नेपाल जुम्लाका प्रोग्राम अफिसर धिरनाथ योगीले बताउनु भयो । विद्यालय भवन तथा शौचालय हस्तान्तरण कार्यक्रममा बाजा सहित सांस्कृतिक कार्यक्रमहरु भएका थिए ।