राष्ट्रिय भूमि आयोग जुम्लाको अध्यक्षमा बुढा – Karnali News

राष्ट्रिय भूमि आयोग जुम्लाको अध्यक्षमा बुढा

 १८ चैत्र २०७८, शुक्रबार १४:१९  

नौरते नेपाली, चैत १८ जुम्ला
राष्ट्रिय भूमि आयोग जुम्लाको अध्यक्षमा तिर्थवहादुर बुढालाई नियुक्त गरिएको छ । गुठीचौर गाउँपालिका वडा नम्बर ३ निवासी बुढालाई विहीबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला अध्यक्षमा नियुक्त गरेको हो । यस्तै उक्त बैठकले राष्ट्रिय भूमि आयोग जुम्लाको विज्ञ सदस्यमा लक्ष्मीचन्द्र खत्रीलाई नियूक्त गरेको छ भने महिला सदस्य टुंगो लागेको छैन् ।

महिला सदस्य काँग्रेसको भागमा परेको हुनाले नाम नदिएको अध्यक्ष बुढाले बताउनु भयो । नेकपा एकिकृत समाजवादी पार्टीबाट अध्यक्षमा तिर्थ बुढा र विज्ञ सदस्यमा नेकपा माओवादि केन्द्रबाट लक्ष्मीचन्द्र खत्री सिफारीस भइ सक्नु भएको छ । विज्ञ सदस्य र महिला सदस्यलाई अध्यक्ष बुढाले सपथ ग्रहण गराउनु हुने भएको छ ।

यस्तै, सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।

पुस २१ मा बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । तर, उनीहरुलाई नियुक्त गरेको सूचना ढिलो गरेर राजपत्रमा प्रकाशित गरिएको थियो । अझै ६ जिल्ला समितिको अध्यक्ष नियुक्त गर्न भने बाँकी नै छ ।