
एनिसा हमाल, चैत १८ जुम्ला
बैंक खाता छोरीको, सुरक्षा जिवन भरीको कार्यक्रममा तिन बर्षको अवधिमा जुम्लामा १ हजार भन्दा बढि छोरीहरुको खाता खोलीएको छ । बिहिबारका दिन सामाजिक विकास कार्यालय जुम्लाले बैंक खाता छोरीको, सुरक्षा जिवन भरीको समिक्षा तथा अभिमुखीकरण कार्यक्रममा गरेको थियो ।
उक्त कार्यक्रममा जुम्लामा रहेका ८ वटै स्थानीय तहका महिला तथा बालबालिका शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । ८ वटा स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखहरुले तिन बर्षको अवधिमा संचालनमा आएका छोरी बैंक खाताहरुको एकिन डाटा विवरण पेश गरेका थिए ।
जस अन्तर्गत हालसम्म कनकासुन्दरी गाउँपालिकामा २ सय ३५ जना, हिमा गाउँपालिकामा २ सय २ जना र तातोपानी गाउँपालिकामा ३ सय २ जना छोरीहरुको बैंक खाता संचालनमा रहेको पाइएको छ । त्यस्तै गुठीचौर गाउँपालिकामा २ सय २२ जना, तिला गाउँपालिकामा ३ सय ३३ जना र चन्दननाथ नगरपालिकामा २ सय ४५ जना छोरीहरुको बैंक खाता संचालनमा रहेको बताइएको छ भने सिंजा गाउँपालिकाको डाटा आउन बाकी रहेको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लाल बहादुर सार्कीले बैंक खाता छोरीको, सुरक्षा जिवनभरीको कार्यक्रम कर्णाली प्रदेशमा मात्र लागु भएको र कर्णालीका छोरीहरुको जिवन सुरक्षा गर्ने एक गौरवपूर्ण कार्य भएको बताउनु भयो । कर्णाली प्रदेशमा छोरीहरुलाई जन्मेदेखि नै हेला गर्ने समस्या अत्याधिक रहेकाले कर्णालीका छोरीको सुरक्षा गर्न कठिनाइ रहेको, छोरी अर्काेको घरमा जाने जात भनेर विद्यालय नपढाउने र सानो उमेरमा नै विवाह गर्ने प्रचलन बढी भएकाले यो विकृतिलाई कम गर्ने यस कार्यक्रमले ठूलो सहयोग गरेको उहाँले बताउनुु भयो ।
कर्णालीबासीको आर्थिक अवस्था कमजोर हुने गरेको र छोरीलाई पढाउन पर्देन र सानो उमेरमा नै विवाह गरेर पठाइ दिए पूण्यको काम हुने भन्ने जुन कुसंस्कार छ त्यसलाई यस कार्यक्रमले कम गर्ने सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराम चौलागाईले बताउनु भयो । उहाँका अनुसार बंैक खाता छोरीको, सुरक्षा जिवनभरीको कार्यक्रमको तालिम प्रत्येक स्थानीय तहको महिला तथा बालबालिका शाखा प्रमुखलाई मात्र दिने भएता पनि बैंक खाता संचालनमा समन्वय र सहयोग प्राप्त होस् भन्नका लागी अन्य शाखाका प्रमुखलाई पनि तालिममा सहभागी गराइएको चौलागाईले जानकारी दिनुभयो ।
यो कार्यक्रम संचालनमा आएको तिन बर्ष मात्र भएको र यो कार्यक्रम कर्णाली प्रदेशमा मात्र संचालनमा रहेको उहाँको भनाइ छ । यो कार्यक्रमले एउटा दाम्पतिको दुई जना छोरीलाई मात्र समावेश गरिएको चौलागाईले बताउनु भयो । यो कार्यक्रममा समावेश भएका छोरीहरुले २० बर्ष नपुग्दै विवाह गर्ने छोरीलाई खातामा जम्मा भएको रकम उपलब्ध नगरिने उहाँले जानकारी दिनुभयो ।
आर्थिक अवस्था कमजोर भएका र उच्च शिक्षा हासिल गर्न नसकेका छोरीहरुलाई उच्च शिक्षा हासिल गर्नका लागी सहयोग पुगोस् भन्ने मुख्य उद्देश्य रहेको उहाँको भनाइ रहेको छ । छोरी बैंक खाता कार्यक्रमको प्रभावले गर्दा कर्णालीका छोरीहरुको सानै उमेरमा हुने विवाहको दरमा कमी आउने र छोरीहरुको शैक्षिक अवस्थामा पनि सकरात्मक परिवर्तन आउने आसा रहेको चौलागाईले बताउनु भयो ।