
रामकृष्ण बुढा, चैत १० जुम्ला
बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई लक्षित गर्दै जुम्लामा म्यादी प्रहरी भर्ना खुलेको ५ दिनमै २ हजारको हाराहारीमा आवेदन परेको छ । स्थानीय तह निर्वाचन लागि ६ देखि ११ चैत सम्मका लागि खुलेको भर्ना प्रक्रियामा ५ दिनमा २ हजार जनाको आवेदन परेको हो । आवेदन दिन आउनेको संख्या दिनहुँ बढीरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी ईन्सपेक्टर युवन कुमार चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जुम्लाका लागि ७ सय ६८ जना म्यादी प्रहरीको लागी आवेदन खुल्ला भएकोमा हाल सम्म २ हजार जनाको आवेदन परेको बताउनु भयो । उहाँका अनुसार ७५ प्रतिशत पुरुष र २५ प्रतिशत महिलाको आवेदन परेको बताउनु भयो । प्रहरी कार्यालयले मात्रा छनोट नगरी जुम्लाका सबै स्थानीय तहका जनप्रतिनिधीहरुको रोहोवरमा छनोट कार्य गरिने उहाँले बताउनु भयो ।
चौधरीका अनुसार शुक्रबार ११ गतेसम्म अन्तिम मिति भएकाले बिहीबारका दिन सम्म दरखास्त दिनेको संख्या अझ बढ्न सक्ने अनुमान गरीएको बताउनु भयो । १८ वर्षभन्दा माथि र ५४ वर्ष भन्दा तलका सबै नागरिकले दरखास्त दिन सक्ने उहाँले बताउनु भयो । चौधरीका अनुसार पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकालाई प्रथामिकता दिइने जानकारी दिनु भयो ।
आगामी निर्वाचनलाई लक्षित गरी भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुने उहाँको भनाइ छ । त्यसका लागि मासिक ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको चौधरीले बताउनु भयो । प्रत्येक म्यादी प्रहरीले खाद्यन्न बापत ७ हजार २ सय, पोसाक र अन्य खर्च गरी ६ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बिमा सुविधा समेत उपलब्ध रहेको प्रहरी निरीक्षक युवन चौधरीले बताउनु भयो ।
उहाँका अनुसार म्यादी प्रहरीको लागि १३ चैतमा सम्पर्क मिति रहेको छ । यस्तै १५ देखि २२ चैत सम्म छनोट प्रक्रिया हुनेछ । २८ चैतभित्र उनीहरूको नतिजा आउने उहाँले बताउनु भयो । प्रहरी ईन्सपेक्टर चौधरीका अनुसार म्यादी प्रहरीको लागि जुम्लामा ५३ वर्षसम्मका पुरुष र ३५ वर्षसम्मका महिलाले दरखास्त दिने सक्ने बताउनु भयो ।
उहाँका अनुसार ११ चैतसम्म दरखास्त दिने मिति भएकाले करिब दुई हजारको हाराहारीमा दरखास्त पर्न सक्ने अनुमान गरीएको बताउनु भयो ।