एमालेको ‘मधेस मिसन’ – Karnali News

एमालेको ‘मधेस मिसन’

 ३० फाल्गुन २०७८, सोमबार ०७:४८  

काठमाडौँ — वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी शनिबार नेकपा एमालेमा प्रवेश गरे । वीरगंजमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेयर सरावगीसहित २ वडाध्यक्ष पनि एमालेमा भित्र्याएका हुन् ।  एमाले नेताहरुले महानगरपालिकामा कम्तीमा १० जना वडाध्यक्ष आउने तयारी रहेको दाबी गरेका छन् । सरावगी जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य थिए ।

मेयर सरावगीको पहिलो रोजाई एमाले नभइ नेपाली कांग्रेस थियो । जसपाबाट चुनाव जितेका उनी दोस्रो कार्यकाल मेयरमा दोहोरिन चाहान्थे । स्थानीय कांग्रेस नेताहरुबाट सरावगीलाई मेयरमा उम्मेदवार बनाउने आश्वासन दिने विषयको विरोध भएपछि एमालेमा प्रवेश गरेका हुन् । सरावगीले शनिबार आयोजित कार्यक्रममा पनि त्यसलाई संकेत गरेका थिए ।

पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनमा सरावगीका निकटतम प्रतिद्वन्द्वी राजेशमान सिंहलाई गत पुसमा नै एमालेले भित्र्याएको थियो । त्यस समयमा सिंह राष्ट्रिय जनता पार्टी(राजपा)बाट मेयरको उम्मेदवार बनेका थिए । उनी महन्थ ठाकुरको नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीबाट एमालेमा प्रवेश गरेका हुन् ।

त्यसअघि जगनाथपुरका मेयर जालिम मियाँलाई एमालेले भित्र्याएको थियो । कांग्रेसबाट माओवादीमा पुगेका मियाँलाई भित्र्याउन पुसको दोस्रो साता एमाले अध्यक्ष ओली पर्सा पुगेका थिए ।

शनिबार नै बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीसहित ५ जना जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । अन्सारी जसपाबाट अध्यक्ष निर्वाचित भएका थिए ।

यसअघि मोरङको रंगेली नगरपालिका मेयर दिलिप बगडिया तथा उप मेयर केशवकुमारी खराललाई एमालेले भित्र्याएको थियो । त्यसैगरी माओवादी केन्द्रका केन्द्रिय नेताहरुलाई भित्र्याएको थियो ।

सरागवी, सिंह, मियाँ, अन्सारी, बगडिया मात्रै होइन एमालेले पछिल्लो समयमा जनाधार र स्रोत जुटाउन सक्नेहरुलाई लक्षित गर्दै तराई मधेसमा शक्ति विस्तार सुरु गरेको छ ।

‘पर्सा र बारा जिल्लामा मात्रै होइन मधेसका अधिकांश जिल्लामा मधेसवादी दलहरुका नेता तथा कार्यकर्ताहरु एमालेका प्रवेश गर्न सुरु गरेका छन्’ एमाले मधेस प्रदेशका सह-इन्चार्ज पुरुषोत्तम पौडेलले भने, ‘यो प्रवेशको कार्यक्रम स्थानीय तहको चुनाव मात्रै नभएर प्रदेश तथा संघीय प्रतिनिधिसभाको चुनावको समयमा झनै बढ्ने छ ।’

पौडेलकाअनुसार मधेस आन्दोलनको समयमा क्षेत्रीय दलहरुमा लागेका नेता तथा कार्यकर्ता फर्किन थालेका छन् । गत वर्ष फागुनमा नेकपा र भदौमा एमालेभित्र विभाजन भएपछि अन्य प्रदेशको तुलनामा जनाधार कमजोर भएको थियो । त्यसैले मधेसमा अन्य दलका नेता तथा कार्यकर्ताहरुलाई भित्र्याएर तीनै तहको चुनाव जित्ने लक्ष्य एमालेले लिएको छ ।

‘एमाले विभाजनबाट उत्पन्न भएको रिक्तता पूर्ति गर्न अन्य राजनीतिक दलका नेता तथा कार्यकर्तालाई भित्र्याउने एमालेको घोषित नीति नै हो । एमालेभित्र जित्ने भए उसलाई नभए राम्रो प्रभाव भएका जित्न सक्ने व्यक्तिलाई भित्रयाउने हो ’ केन्द्रीय सदस्य अरविन्द सिंहले भने, ‘एमालेको विषयमा मधेसका आममानिसमा पहिले जस्तो दृष्टिकोण छैन । परिवर्तन देखिएको छ ।’ सिंहले एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा जारी गरेको नागरिकता विधेयकपछि दृष्टिकोण सकारात्मक भएको बताए ।

‘जन्मसिद्ध नागरिकका सन्तानले बंशज नागरिकता पाउने व्यवस्था पछि कोर मधेसमा एमालेमाथि लाग्दै आएको मधेस विरोधी आरोपको हटेको छ,’ उनले भने । पूर्व पश्चिम राजमार्ग क्षेत्रमा एमालेको प्रभाव भएपछि हुलाकी राजमार्ग रहेको कोर मधेसमा भने उपस्थिति कमजोर रहेको थियो ।

त्यसैगरी मधेसको समस्या समाधान गर्न एमाले त्यसमा पनि अध्यक्ष ओली नकारात्मक रहेको आरोप लाग्दै आएको छ । २०७२ असोजमा संविधान जारी अघि र पछि भएको आन्दोलनको तारोमा अध्यक्ष ओली र एमाले परेको थियो ।

संविधान जारी भएपछि एमाले देशव्यापी रुपमा सुरु गरेको मेची महाकाली अभियानमा अवरोध भएको थियो । सप्तरीको मलेठमा एमालेको कार्यक्रम विरोध गर्नेहरु र सुरक्षाकर्मीबीच भएको झपडमा ५ जनाको मृत्यु भएको थियो ।

२०७४ सालमा भएको स्थानीय तह र प्रदेश तथा संघीय संसदका लागि भएको चुनावमा पनि एमालेले मधेसमा अन्यत्र जस्तो उल्लेख्य जीत हासिल गर्न सकेको थिएन । २०७४ साल मंसिर एमाले र माओवादी केन्द्रको गठबन्धनले केन्द्रमा करिब २ तिहाई र ६ वटा प्रदेशमा स्पष्ट जीत हासिल गर्दा पनि मधेसमा कमजोर प्रदर्शन गरेको थियो ।

अब पूर्वी मधेस प्रदेश मात्रै नभएर पश्चिम मधेसमा पनि एमालेले पार्टी प्रवेश गराएर आफ्नो प्रभाव बढाउने रणनीति लिएको देखिन्छ ।

केही समयअघि कपिलबस्तुबाट मंगल गुप्ता, बाँकेबाट पशुपति दयाल मिश्रसहित नेताहरु एमालेमा प्रवेश गरेका थिए ।

गुप्ता स्वतन्त्र रुपमा उठेर पनि उलेख्य मत ल्याउने गरेका थिए भने मिश्र राजपाका पूर्व सह- महामन्त्री हुन् ।

गत मंसिरमा भएको दशौं महाधिवेशनको घोषणा कार्यक्रममा एमाले अध्यक्ष ‌ओलीले देशव्यापी पार्टी प्रवेश गराउने घोषणा गरेका थिए । २०७९ मंसिरसम्म हुने तीनै तहको चुनावलाई लक्षित गर्दै अध्यक्ष ओलीले त्यस्तो घोषणा गरेका थिए ।

मधेसबाट पत्रकारिता गर्दै आएका चन्द्रकिशोर आन्दोलनपछि सत्ता र शक्तिको राजनीतिमा आइपुग्दा कतिपय नेताहरु ठूलो दल रोजेको बताउँछन् ।

‘मधेस आन्दोलन भावनासँग जोडिएको आन्दोलन थियो । त्यस समयमा राजनीतिक दलहरु छाडेर मधेस आन्दोलनमा जोडिएका थिए । त्यस समयमा राज्यमा पहिचान, पहुँच र आफ्नो सन्तानको सुरक्षित भविष्यका लागि आन्दोलन भएको थियो,’ चन्द्रकिशोरले भने, आन्दोलनपछि चुनाव अर्थात सत्ता र शक्तिको राजनीतिमा आइपुग्दा राज्यका विभिन्न निकायहरुमा आफ्नो प्रतिनिधित्व नहुँदा नेता तथा कार्यकर्ता हित संरक्षण गर्न नसक्ने भएर शक्तिशाली दलहरुतर्फ विस्तारै फर्किदैछन् ।’

मधेस प्रदेशको एमाले सग्लै हुँदा पनि कमजोर रहेको थियो । एमाले विभाजनको बढी असर प्रदेशमा मधेस पनि परेको छ । प्रदेशसभामा पनि एमालेको तुलनामा नेकपा एकीकृत समाजवादी ठूलो दलको रुपमा रहेको छ । मधेस प्रदेशमा २१ जना सांसद मध्ये १३ जना एकीकृत समाजवादी पार्टी र ८ जना एमालेमा रहेका छन् ।

चन्द्रकिशोर आन्दोलनबाट सत्ताको राजनीतिमा आइपुग्दा शक्तिशाली दलहरुतर्फ क्षेत्रीय दलका नेताहरु आकर्षित भएको बताउँछन् ।

चुनावी, राजनीतिक र रणनीतिक दृष्टिकोणले महत्वपूर्ण भएको प्रदेशमा एमालेसँग ‘पब्लिक फिगर’ नभएको कारण पार्टीभित्र असन्तुष्ट रहेकाहरुलाई प्रवेश गराएको उनले बताए ।

‘आफ्नो पार्टीमा मजबुत भएको व्यक्ति कसरी अर्को दलमा जान्छ । सबै प्रकारको मानिसलाई ल्याएर चुनाव जित्ने रणनीति देखिन्छ । चुनावी राजनीति भनेको संख्याको राजनीति पनि हो’ चन्द्रकिशोरले भने, ‘अहिले एमाले संख्या पुर्‍याउनका लागि विचार नगरी विभिन्न मानिसलाई भित्र्याइरहेको छ । त्यसले कालान्तरमा क्षति गर्छ । ओलीजीको मधेस विजयको जुन सपना छ त्यही व्यवहारिक देखिदैन ।’

एमाले विभाजनपछि धेरै नेताहरु बाहिरिएपछि रिक्त भएको स्थानमा पनि अवसर पाउने आशमा अन्य दलका नेताहरु सो पार्टीमा आएको उनको बुझाइ छ ।