
कालीवहादुर परियार, फाल्गुन २७ जुम्ला
कार्य सम्पादनमा जिल्लाकै पहिलो भएपछि गुठीचौर गाउँपालिकाले विहिबार पत्रकार सम्मेलन गरी पाँच वर्षमा भएका प्रगति विवरण सार्वजानिक गरेको छ । गाउँपालिका कार्यसम्पादनमा जिल्लाकै अब्बल गाउँपालिकाका रुपमा सावित भए पछि सार्वजनक गरेको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा जुम्लाका आठवटा स्थानीय तह मध्य गुठीचौर गाउँपालिका पहिलो भएको अध्यक्ष हरी बहादुर भण्डारीले जानकारी दिनुभयो ।
स्थानीय सरकार सञ्चालन भए देखि हाल सम्म गरेको काम तथा सेवा प्रवाहको मुल्यांकन गर्दा गुठीचौर गाउँपालिका पहिलो भएको उहाँले बताउनु भयो । भण्डारीका अनुसार आयोगले आगामी आ.व. २०७९÷०८० मा स्थानीय सरकारलाई समानीकरण अनुदान दिनका लागि कार्यसम्पादनका आधारमा गरिएको मूल्याङ्कनको प्रतिवेदन गएको फागुन १८ गते सार्वजनिक गरेको बताउनु भयो । सोही प्रतिवेदनका आधारमा जुम्लाका आठ स्थानीय तह मध्य गुठीचौर गाउँपालिका ६५.०२ अंक सहित पहिलो भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार पहिलो कार्यकालमा गरेका काम तथा सेवा प्रवाहको आयोगले सहि मुल्यांकन गरेकामा जनताका काम गर्ने थप उर्जा मिलेको उल्लेख गर्नुभयो । वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनका लागि १७ वटा सूचकलाई आधार बनाएको थियो । अध्यक्ष भण्डारीका अनुसार सबै सूचक अनुसार काम गरेर कार्यसम्पादनमा जिल्लाकै पहिलो पालिका हुनुमा आम सरोकारवालाको सहयोग रहेको बताउनु भयो ।
जिल्लाकै पहिलो गाउँपालिका बन्नुमा बजेटको सहि सदुपयोग, सबै वडाहरुमा पूर्वाधार विकास, कर्मचारीको सहयोग, स्वास्थ्य सेवा, जेष्ठ नागरिकको सुरक्षा, चुस्त सेवा प्रवाह लगायतका कारणहरु छन् । कामको सहि मूल्याङ्कन हुँदा हर्षित भएको अध्यक्ष भण्डारीको भनाइ रहेको छ ।
यस्तै गुठीचौर गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत मदन प्रसाद देवकोटाका अनुसार भौगोलिक विकटता, सिमित स्रोतका बीच पनि कर्मचारी जनप्रतिनिधिको सक्रियताले पालिका पहिलो भएको बताउनुभयो । अब आगामी दिनका लागि चुनौती र जिम्मेवारी थपिएकोले प्रदेशकै उत्कृष्ट हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्य सम्पादनमा जिल्लाकै पहिलोको भए पछि गुठीचौरको चर्चा हुन थालेको बताउनु भयो । काम गर्ने शैलीका हिसाबले गुठीचौर अन्य पालिकाको प्रेरणा बन्न सफल भएको बताउनु भयो ।