
नौरते नेपाली, फल्गुन २७ जुम्ला
जुम्लाका नरेन्द्र न्यौपाने कारागार पुगेको साढे दुई वर्ष भयो । उहाँले पाच वर्ष कारागार बस्नुपर्ने सजाय पाउनु भएको छ । कारागारमा दुई वर्ष त्यत्तिकै बिताउनु भएका उहाँले अहिले कामकाजी हुनु भएको छ । झण्डै ७ महिना देखि भने कारागार भित्रै उहाँले फर्निचर बनाउन थाल्नु भएको छ । आफैंले सिकेको सीप अनुसारको काम गर्न पाएको उहाँले बताउनु भयो ।
एउटा टेबुल बनाए बापत पाँच देखि सात हजार रुपैयाँ पाइने गरेको न्यौपानेको भनाइ छ । ज्याला केही कम भए पनि काम गर्दा दिन सजिलै बित्ने र आर्थिक आम्दानीसमेत हुने उहाँले बताउनु भयो । न्यौपानेले टेबुल र लोबेड बनाउने गर्नुहुन्छ । सातवटा जति टेबुल बेचि सकेको भन्दै उहाँले अझै विक्रि गर्ने तयारीमा रहेको सुनाउनु भयो ।
आफ्नै लगानीमा फर्निचर निर्माणको काम सुरु गरेको न्यौपानेले बताउनु भयो । फर्निचरका नयाँ आइटमहरु सिकेर राम्रो बनाउने काम गरि राखेको उहाँको भनाइ छ । कारागारमा खाली बस्नु भन्दा काममा व्यस्थ हुँदा दिन बिताउन र खर्च जुटाउन सहज हुने उहाँको बुझाइ छ । काम गर्दा समय पनि सजिलै बित्ने, कैदी जीवन पनि छोटिँदै जाने, काम पनि हुने र आम्दानी पनि हुने उहाँले बताउनु भयो ।
फर्निचर बनाउन आवश्यक सामाग्री जोहो गर्नुपर्ने र बिक्री गर्नुपर्ने चिन्ता न्यौपानेलाई छैन । फर्निचर बनाउन आवश्यक कच्चा पदार्थ ल्याइदिने, बनेका फर्निचर लैजाने काम कारागारबाटै हुने गरेको जिल्ला कारागार जुम्लाका जेलर विष्णुवहादुर महतले बताउनु भयो । कारागारमा खाली बस्नुभन्दा काममा व्यस्त हुनु उपयुक्त भएकाले हस्तकलाका सामग्री बनाउन कारागारले प्राथमिकता दिएको उहाँको भनाइ छ । कारागारमा बस्ने कैदी पुराना छुट्ने नयाँ आउने भइरहन्छ ।