
नौरते नेपाली, फाल्गुन २३ जुम्ला
अनुकुलन कोष, वन तथा वातावारण मन्त्रालय, विश्व खाद्य कार्यक्रमको सहयोगमा पेश नेपाल जुम्लाले संचालन गरेको क्याप्स कर्णाली परियोजनाबाट भएका कार्यक्रमहरुको अनुगमन गरिएको छ । जुम्लाका तिनवटा स्थानीय तहका १० वटा वडामा भएका कार्यक्रमहरुको अनुगमन भएको पेस नेपाल जुम्लाका कार्यकारी अध्यक्ष किशोर न्यौपानेले बताउनु भयो ।
उहाँका अनुसार विश्व खाद्य कार्यक्रमका कार्यक्रम उपप्रमुख कृष्ण योगीको नेतृत्वमा स्थानीय सरकारको उपस्थितमा अनुगमन भएको बताउनु भयो । अनुगमन टोलीले तिलाको घोडेसिममा निर्माण भएको सिंचाई कुलो, ग्रीन हाउस, पेसले सहयोग गरेको स्याउ बगैँचा, लिही गाउँमा रहेको महिला समूहसँग छलफल गरिएको उहाँको भनाइ छ ।
कार्यक्रम संचालन भएका स्थानमा समुदायलाई भएको फाईदा, प्रभावकारिता र आगामी दिनमा गरिने कामका बारेमा छलफल भएको न्यौपानेले बताउनु भयो । यस्तै लिही गाउँका किसानहरुलाई पेस नेपाल जुम्लाले गरिदिएको स्याउ बीमाको प्रभावकारीताको बारेमा अनुगमनका क्रममा छलफल भएको उहाँको भनाइ छ ।
स्याउ खेतीमा व्यहोर्नु परेको घाटालाई मध्यनजर गर्दै क्याप्स कर्णाली परियोजनाबाट लिही गाउँका किसानहरुलाई पेस नेपाल जुम्लाले स्याउ बीमा गरि दिएको थियो । पेसले स्याउ बीमाको सुरुवात गराएबाट अहिले किसानहरुले आफै स्याउ बीमा आफै गरेका छन् । तिलाको पाथर साघुमा निर्माण भएको सामुदायिक सेवा भवनको उक्त टोलीले अनुगमन गरेको हो ।
हिमाको सामुदायिक सेवा भवन, तातोपानीमा निर्माण भएको कटिना हाईटक नर्सरी र हिमा गाउँपालिकामा भएका कार्यक्रमहरु स्थानीय सरकार र साझेदारी निकायको सहभागितामा अनुगमन गरिएको अध्यक्ष न्यौपानेले जानकारी गराउनु भयो । उहाँका अनुसार कार्यक्रमको प्रभावकारीता र आगामी दिनमा संचालन गर्न सकिने कार्यक्रमका बारेमा छलफल र अनुगमन भएको बताउनु भयो ।
तिनवटै स्थानीय तहमा जलवायु परिवर्तनले पारेको असर र त्यसबाट समुदायलाई अनुकूलन हुनका लागि पेस नेपाल जुम्लाले विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । अनुगमनमा हिमाका अध्यक्ष रजवहादुर शाही, तिलाका अध्यक्ष रतननाथ योगि र तातोपानीका अध्यक्ष नवराज न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
स्थानीय सरकारका अध्यक्षहरुले कार्यक्रम प्रभावकारी भएको भन्दै आगामी दिनमा विपद्ले पारेको क्षतिलाई कम गर्ने किसिमका कार्यक्रमहरु संचालन गर्न आग्रह गरेका छन् । गएको कार्तिक महिनाको पहिलो साता भएको बेमौसमी वर्षाले किसानहरुलाई ठुलो क्षति गरेको हुनाले राहत र उद्यम विकासका कार्यक्रमहरु संचालन गरिदिन उक्त स्थानीय सरकारका अध्यक्षहरुले दातृ निकायसँग अनुरोध गरेका हुन् ।
अनुगमनका क्रममा पालिका स्तरीय र परियोजना सल्लाहकार समितिसँग पनि बैठक बसेको पेस नेपाल जुम्लाले जनाएको छ ।