स्याउ बीमा गरेका १४ सय २० जना किसानले दाबी भुक्तानी पाए – Karnali News

स्याउ बीमा गरेका १४ सय २० जना किसानले दाबी भुक्तानी पाए

 २२ फाल्गुन २०७८, आईतवार १८:४१  

कालीवहादुर परियार, फाल्गुन २२ जुम्ला
शिखर इन्स्योरेन्स कम्पनि लिमिटेडले मौसमी सूचकाङ्कमा आधारित स्याउ खेतीको बीमा गरेका जुम्लाका १४ सय २० जना किसानलाई २ करोड ७८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ । जुम्लाका आठ वटा स्थानीय तहका किसानलाई उक्त दाबी भुक्तानी दिएको हो । कर्णालीका अन्य जिल्लाका २ हजार ४८ जना किसानले दाबी भुक्तानी पाएको शिखर इन्स्योरेन्स कम्पनि लिमिटेड कर्णाली प्रदेश इञ्चार्ज ऋषिराम पाण्डेल बताउनु भयो ।

कर्णालीमा यो वर्ष ४ करोड ४७ लाख रकम दाबी भुक्तानी दिईएको उहाँको भनाइ छ । जुम्लाका अम्बिका थापाले ७२ हजार, पूर्णवहादुर कठायतले ३३ हजार ७ सय ८७ र कृष्णमाया महत (बुढथापाले) २२ हजार ५ सय २५ रुपैयाँ स्याउ बीमा गरेको रकम पाउनु भएको छ । विशेष गरि मौसमी सूचाङ्कमा आधारित स्याउ बीमा कार्यक्रममा किसानहरुको आकर्षण बढ्दो क्रममा रहेको छ ।

मौसममा आधारित स्याउ खेतीको बीमा गरेका जुम्लाका किसानले क्षतिपूर्ति पाउँदा खुसी भएका छन् । एउटा बिरुवाको ४२ रुपैयाँमा बीमा गरेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको पाण्डेले बताउनुभयो । फाल्गुन देखि चैत १५ सम्म किसानले बीमा गराइसक्नु पर्ने भन्दै उहाँले मौसमी स्याउ बीमा गरेमा खडेरी र असिनाले असर पारेपछि क्षतिपूर्ति उपलब्ध गराउँदै आएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै इन्स्योरेन्स कम्पनि लिमिटेडका अध्यक्ष रोजेन्द्र प्रसाद श्रेष्ठले जुम्लामा उत्पादन हुने धान खेतीमा बीमाको कार्यक्रम गर्न सकिने बताउनु भयो । गुणस्तरीय कोल्डस्टोरको अभावमा जुम्लाका किसानहरुले स्याउमा घाटा खेप्नु परेकाले कोल्डस्टोर निर्माणमा ५० प्रतिशत लगानी गर्न इन्स्योरेन्स कम्पनि लिमिटेड तयार रहेको उहाँले धारणा राख्नु भयो ।

जुम्ला अर्गानिक जिल्ला घोषणा भएकाले रासायनिक मल उत्पादनमा पनि सहयोग गर्न सकिने उहाँले प्रतिवद्धता जाहेर गर्नु भएको छ । कृषि क्षेत्रमा किसानहरुले भोग्नु परेको समस्या हल गर्न शिखर इन्स्योरेन्स कम्पनि लिमिटेड सँधै किसानहरुको पक्षमा रहेको उहाँको भनाइ छ । शिखर इन्स्योरेन्स कम्पनि लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपकराज पाण्डेले जुम्ला एक अर्गानिक क्षेत्रका रुपमा चिनिएको हुनाले यहाँका कृषकहले कृषि क्षेत्रमा अझै बढी लगाप राख्नु पर्ने बताउनु भएको छ ।

विशेष गरि जुम्ला अर्गानिक स्याउले चिनिने जिल्ला भएको हुदा स्याउ सम्बन्धि प्राबिधिक ज्ञान सबै कृषकहरुमा हुनुपर्ने उहाँको भनाइ छ । स्याउमा बढी मात्रमा रोग किरा लागेर क्षेति हुने भएकाले किसानहरुले घाटा सहनु परेको भन्दै पाण्डेले राहतको लागि बीमा कार्यक्रम अघि सारिएको बताउनु भयो ।

जुम्लाका किसानहरुले मेहनत अनुसारको स्याउको मूल्य नपाउने गरेको उहाँले बताउनुभयो । पाण्डेका अनुसार हरेक किसानहरुले स्याउ बीमा गर्न जरुरी भएको र बिमा गर्दा क्षेतिको धेरै भाग बीमाले थेग्न सक्ने समेत बताउनुभयो । किसानहरुको आर्थीक अवस्था बलियो बनाउन स्याउ बीमा कार्यक्रमले राहत गरेको उहाँको भनाइ छ ।

कालो तुसारोले पारेको प्रभावलाई बीमा कार्यक्रममा सम्बोधन गर्न सकिने उहाँले जानकारी गराउनु भयो । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालवहादुर सार्कीले स्याउ बीमा कार्यक्रमले किसानहरुलाई राहत भएको बताउनु भयो । स्याउ फूल्ने र चिचिला लाग्ने बेला किसानहरुले भोग्नु परेको समस्या शिखर इन्स्योरेन्स कम्पनि लिमिटेडले हल गरेको उहाँको भनाइ छ ।

उहाँका अनुसार आगामी दिनमा यस्ता कार्यक्रमलाई अझै प्रभावकारी गर्न सुझाव दिनु भएको छ । प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईले मौसमका करणले स्याउ खेतीमा किसानहरुले बढी समस्या भोग्नु परेको बताउनु भयो । किसानहरुमा प्राविधिक ज्ञान आवश्यक रहेको बताउँदै उहाँले आफुले किसानहरुको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

जुम्ला अर्गानिक जिल्ला घोषणा भएकाले जति सक्दो यहाँका किसानहरुले अर्गानिक उत्पादन गरेर उपभोक्ताहरुको मन जित्नु पर्ने पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराको भनाइ छ । अन्य जिल्ला र जुम्लाको अर्गानिक स्याउको मूल्य एउटै हुदा जुम्लाको स्याउको मूल्य घटने डर भएको उहाँले बताउनु भयो ।

कृषकहरुले मेहनत गरे अनुसार फल नपाउने तथा कुनै पनि कृषि जन्य उत्पादन सोचे जतिको मूल्यमा बिक्री नहुने गरेको बोहोराको भनाइ छ । बिमित पूर्ण बहादुर कठायतले कृषि उत्पादनमा कृषकहरुले घाटा बेहोर्नु परेको बताउनु भयो । दुख अनुसारको फल भने निकै कम पाएको उहाँको भनाइ छ ।

यहाँका सरोकारवालाहरुले पनि कृषि क्षेत्रमा खासै ध्यान नदिएको हुदा कृषकहरुले दुख पाएको उहाँले बताउनुभयो । विशेषगरी स्याउमा कालो तुसारो र असिनाले क्षेती हुने गरेको छ, कठायतले भन्नुभयो, आफुले बीमा गरेको क्षेति कम व्यहोर्नु परेको छ । असिना र सुख्खा खडेरीले क्षति पुर्याएको तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोरेका किसानले बीमा रकम पाउँदा राहत महसुस गरेका छन् ।