कालिकोटमा ३३ केभिए प्रसारण लाइन जडान हुने  – Karnali News

कालिकोटमा ३३ केभिए प्रसारण लाइन जडान हुने 

 २१ फाल्गुन २०७८, शनिबार १६:४८  

कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान हुने भएको छ । यसअघि दैलेखेको दुल्लुदेखि कालीकोटहुँदै जुम्लासम्म ११ केभिए विद्युत् प्रसारण लाइन जडान भएको थियो । त्यसैलाई विस्तार गरेर ३३ केभिए विद्युत् प्रसारण लाइन जडान गर्न लागिएको हो ।

विगतमा कालीकोट र जुम्लामा ११ केभिए प्रसारण लाइन भएको र त्यसले विद्युत्को मागलाई धान्न नसकेको कारण ३३ केभिए प्रसारण लाइन जडान हुने नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक जयप्रसाद पाण्डेले बताए । ‘विगतका ११ केभिए विद्युत् प्रसारण लाइनले माग अनुसारको धान्न सकेन्’, उनले भने, ‘माग अनुसारको विद्युत् आपूर्ति गर्नका लागि ३३ केभिए प्रसारण लाइन जडान गर्न लागिएको हो ।’

नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलले प्रसारण जडानका लागि एक हप्ता लाग्ने र शनिबारदेखि आउँदो आइतबारसम्म बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिए । ३३ केभिए प्रसारण लाइन जडान परीक्षण अवधिसम्म पिन, डिस सट हुँदा पोलमा करेन्ट प्रवाह हुनसक्ने र छुँदा करेन्ट लागि दुर्घटना हुने सम्भावना भएकाले विद्युत्का पोल स्टेलगायतका विद्युतीय संरचना नजिक नजान आग्रह गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक पाण्डेले जानकारी दिए ।

कर्णाली प्रदेशका १० मध्ये सात जिल्लामा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान भएको छ भने हुम्ला, मुगु र डोल्पामा हालसम्म राष्ट्रिय प्रसारण लाइन जडान हुनसकेको छैन् । कालीकोट र जुम्लामा गत आर्थिक वर्षमा मात्रै ११ केभिए राष्ट्रिय प्रसारण लाइन जडान भएको थियो ।