कुन्जाङ पुटिङ तामाङ उत्कृष्ट उद्यमी पुरष्कारबाट सम्मानीत – Karnali News

कुन्जाङ पुटिङ तामाङ उत्कृष्ट उद्यमी पुरष्कारबाट सम्मानीत

 १६ फाल्गुन २०७८, सोमबार १८:१६  

एनिसा हमाल, फाल्गुन १६ जुम्ला
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले महिला उद्यमी कुन्जाङ पुटिङ तामाङलाई उत्कृष्ट उद्यमी पुरष्कारबाट पुरस्कृत तथा सम्मान गरेको छ । उहाँलाई यस जिल्लाकै उत्कृष्ट उद्यमीका रुपमा पुरष्कृत तथा सम्मान गरेको हो । कुन्जाङलाई जनही १ लाख रुपैयाँ सहित सम्मान पत्रले सम्मानीत गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्णा देवकोटाले जानकारी दिनुभयो ।

उहाँले विगत केहि वर्षदेखि तामाङ झोला तथा राडी पाखी उद्योग सन्चालन गरेर आफुलाई सफल उद्यमीको रुपमा चिनाउन सफल हुनुभएको छ । कर्णाली प्रदेशको वार्षिक कार्यक्रम अन्र्तगत कर्णाली जिल्लाका १० वटै जिल्लामा यो कार्यक्रम लागु भएको र जुम्लाको कार्यालयमा परेका ६ वटा निवेदन मध्येबाट जिल्ला भरीका उद्यमी मध्ये उत्कृष्ट उद्यमीमा उहाँलाई छनोट गरिएको देवकोटाले बताउनु भयो । आफ्नो व्यवसाय प्रतिको लगाव, निरन्तरता, मेहनत र इमान्दारीताको आधारमा उहाँलाइ उत्कृष्ट उद्यमी छनोट गरेको कार्यालय प्रमुख देवकोटाले जानकारी गराउनु भयो । हाम्रो भन्दा पनि राम्रोलाई छानेर सम्मान गरिएको उहाँको भनाइ छ ।

पछिल्लो समय अनुदान पाउनकै लागि पनि उद्योग दर्ता गर्ने गरेको बताउँदै उहाँले स्थलगत अनुगमन गरेर कुन्जाङलाई यस जिल्लाकै उत्कृष्ट उद्यमी छनोट गरेको बताउनु भयो । यो सम्मानले उहाँलाई व्यवसाय गर्न अझै हौसला प्रदान गर्ने र सहयोग मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सम्मान कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले तामाङलाई गरेको यो सम्मानले नयाँ उद्यमीहरुलाई पनि निरन्तर व्यवसाय गर्न हौसला मिल्ने बताउनु भयो ।

जुम्ला जिल्लाकै उत्कृष्ट उद्यमीको रुपमा सम्मान पाएकोमा कुन्जाङ पुटिङ तामाङलाई उहाँले बधाई पनि दिनुभएको छ । पछिल्लो समय उत्पादनमुखी भन्दा पनि अनुदानमुखी उद्योग धेरै दर्ता हुने भएकाले अनुदानका लागि व्यवसायि छनोट गर्दा स्थलगत अनुगमन गरी समानुपातिक ढंगले छनोट गर्नुपर्ने बताउनु भयो ।

पत्रकारहरुले पनि व्यवसायीहरुका समचारलाई प्रथामिकतामा राखेमा नयाँ पुस्तालाइ पनि व्यवसाय गर्न हौसला दिने पर्ने उहाँको भनाइ छ । यस्तै उद्योग वाणिज्य संघ जुम्लाका बरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटाले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले राम्रो कामको थालनी गरेको बताउनु भयो । जुम्लामा दर्ता भएका प्राय उद्योग आझेलमा परेको उहाँले बताउनु भयो ।

अनुदान पाउनकै लागि उद्योग दर्ता गर्ने, सिकेका सिपलाइ पनि व्यवहारमा नउतार्ने र यहाँका उत्पादनले बाहिरका उत्पादन संग प्रतिस्पर्धा गर्न नसक्नुले पनि उद्योग ओझेलमा परेको बताउनु भयो । जुम्लामा उद्योग गर्ने व्यवसायीहरुलाइ अर्गानिक उत्पादनमा जोड दिन उहाँले आग्रह गर्नुभएको छ । यस्तै महिला उद्यमी कुन्जाङ पुटिङ तामाङले आफुले गरेको मेहनत र दुःखलाई बुझेर उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयले गरेको सम्मानले धेरै खुसी लागेको बताउनु भयो ।