
एनिसा हमाल, फाल्गुन १५ जुम्ला
जिल्ला निर्वाचन कार्यालय जुम्लाले आईतबार मतदाता नामवली अद्यावधिक सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ । जुम्लामा रहेका स्थानीय तहका जनप्रतिनिधी, सरोकारवाला निकाय र पत्रकारहरुसंग मतदाता नामवली अद्यावधिक दावी विरोधका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
संकलन भएका मतदाता नामवलीलाइ अद्यावधिक गरेपछि मात्र अन्तिम मतदाता नामवली तयार हुने भएकाले यो अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको निर्वाचन अधिकारी महेश शर्माले बताउनु भयो । मतदाता नामवली अद्यावधिक अन्र्तगत त्रुटि सच्याउने, हटाउने, एकै वडामा धेरै स्थल भएको अवस्थामा आफुलाई पायक पर्ने स्थलमा नाम सार्न सकिने कार्य गरिने उहाँले बताउनु भयो ।
मतदाता नामवली प्रकाशन गर्ने, झुट्टा विवरण दिई नामवलीमा नाम समावेश गरेको भएमा सोको विरुद्धमा उजुरी दिने मिल्ने लगायतका क्रियाकलापहरु गरिने पनि उहाँले बताउनु भयो । शर्माका अनुसार फाल्गुन महिनाको २२ गते सम्म नामवलीमा रहेको त्रुटि सच्याउन निवेदन दिन सकिने छ ।
त्यस्तै, २० देखि २३ गते सम्म मतदाता नामवलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामवलीबाट हटाउन निवेदन दिने, २० देखि २४ गते सम्म निवेदन परेको मतदातालाइ प्रमाण सहित सफाईको मौका दिने, फाल्गुन २४ र २५ गते मतदाताले दिएको सफाइको आधारमा उक्त मतदाताको नामवलीबाट नाम हटाउने वा राख्ने सम्बन्धमा प्रमुख नाम दर्ता अधिकारीले निर्णय गर्ने, २५ गते परेका निवेदन बमोजिम जाँचबुझ गरी त्रुटि सच्याउने र २६ गते फरक फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुटै् विवरण तयार गरी जिल्लामा अद्यावधिक भएको डाटासंगै आयोगमा पठाउने लगायतका क्रियाकलाप संचालन हुने निर्वाचन अधिकारी शर्माले जानकारी गराउनु भयो ।
यस्तै निर्वाचन कार्यालयले दावी विरोध प्रयोजनका लागि २०७९ वैशाख २९ गते सम्म १८ वर्ष उमेर पुरा भएकाको अनुमानित नामवली पनि प्रकाशन गर्नेछ । जसमा चन्दननाथ नगरपालिकामा ११ हजार ९ सय २९ जना अनुमानित मतदाता रहेका छन । कनकासुन्दरीमा ९ हजार ७८, गुठीचौरमा ६ हजार ५ सय ३९, तातोपानीमा ९ हजार ४ सय ३, तिलामा ७ हजार ९ सय ३९, पातारासीमा ८ हजार ६ सय ७६, सिंजामा ८ हजार १ सय ३७ र हिमा गाउँपालिकामा ६ हजार ३ सय ६ जना गरी जम्मा ६८ हजार ७ जना अनुमानित मतदाता रहेको उहाँले जानकारी गराउनु भयो । यसलाइ नै अन्तिम मतदाता नामवली मान्न नसकिने पनि उहाँले जानकारी गराउनु भयो ।
अद्यावधिक गरी निर्वाचन आयोगले अन्तिम नामवली प्रकाशन गरि सकेपछि मात्र एकिन मतदाताको विवरण आउने उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइले यी सबै कामलाइ सफल बनाउन सबैका बिच समन्वय र सहकार्य हुन आवश्यक रहेको बताउनु भयो ।
कानुनी पक्षलाई वेवास्ता गर्न नमिल्ने बताउदै निर्वाचन आयोगले प्रकाशन गरेको सूचना अनुसार नै काम अगाडि बढाउनु पर्ने बताउनु भयो । कार्यक्रममा उपस्थित सबैले नामवली अद्यावधिकको समय छोटो भएको बताएका थिए । जुम्लाका प्रायः मानिस यो समयमा जिल्ला बाहिर हुने भएकाले यो छोटो समयमा नावमली अद्यावधिक गर्नबाट जुम्लाका नागरिक छुट्ने बताएका हुन ।
नामवली अद्यावधिक अन्र्तगत त्रुटि सच्याउने र हराएकाहरुले निवेदन दिने समय छोटो भएकाले समय बढाउन उनिहरुले माग गरेका हुन । यस्तै स्थानीय तहका जनप्रतिनिधीहरुलाइ नामवली पनि हस्तान्तरण गरिएको छ । ५ वटा स्थानीय तहका जनप्रतिनिधिहरुलाई नामवली हस्तान्तरण गरिएको हो । कार्यक्रममा उपस्थित नभएका स्थानीय तहहरुलाइ सोहि ठाउँमै पुगेर नामवली दिइने निर्वाचन अधिकारी शर्माले जानकारी दिनुभयो ।