पातारासि गाउँपालिका जुम्लाको ८ औँ गाउँसभा – Karnali News

पातारासि गाउँपालिका जुम्लाको ८ औँ गाउँसभा

 १५ फाल्गुन २०७८, आईतवार १०:५२  

रामकृष्ण बुढा, फाल्गुन १५ जुम्ला
पातारासि गाउँपालिका जुम्लाले शुक्रबारका दिन ८ औँ गाउँसभा गरेको छ । गाउँसभाबाट विभिन्न कार्यविधि र ऐन पारित भएका छन् । स्थानीय सरकार संचालनका लागि आवश्यक पर्ने कार्यविधि र ऐन गाउँसभाबाट पारित भएको अध्यक्ष लछिमन बोहोराले बताउनु भयो । उहाँका अनुसार वातावारण ऐन, २०७८, अर्थ तथा लेखा समिति सम्बन्धि कार्यविधि २०७८, कन्टिजेन्सी सम्बन्धि कार्यविधि, मर्मत संभार कोष सम्बन्धि कार्यविधि, शैक्षिक व्यवस्थापन सम्बन्धि लगायतका ७ वटा कार्यविधि र एउटा ऐन पारित भएको जानकारी गराउनु भयो ।

पातारासि गाउँपालिकाको वातवारण संरक्षण र प्रवद्र्धनका लागि ऐन बनाईएको उहाँले बताउनु भयो । अध्यक्ष बोहोराका अनुसार नेपालको वन हरियो धन भन्ने भनाइलाई जिवित राख्नको लागि गाउँसभाले पारित गरेको ऐनले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । ऐन नहुँदा काम गर्न र वन सम्बन्धि राजश्व संकलनमा समस्या भएकाले अब सहज भएको उहाँको भनाइ छ ।

यस्तै अन्य विभिन्न ७ वटा कार्यविधि गाउँसभाले पारित गरेको प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालले बताउनु भयो । उहाँका अनुसार विकास निर्माणको काम गर्दा कति रकम कन्टिजेन्सी काट्ने उक्त कुरा कार्यविधिमा उल्लेख भएको बताउनु भयो । प्राविधिक खर्च, अनुगमन तथा मर्मत संभार कार्यमा कन्टिजेन्सी रकम खर्च गर्न मिल्ने धितालले बताउनु भयो ।

आन्तरिक स्रोतको कमी भएकाले उक्त कन्टिजेन्सीबाट बचेको रकमले सामान्य मर्मत संभारका काम गर्न सकिने उहाँले जानकारी गराउनु भयो । पातारासि गाउँपालिकाको शैक्षिक अवस्था कमजोर भएकाले त्यसलाई नीतिगत व्यवस्थापन गर्नको लागि शैक्षिक व्यवस्थापन कार्यविधि पारित भएको उहाँको भनाइ छ ।

धितालका अनुसार गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयको भौतिक अवस्था सुधार गर्न, गुणस्तरीय शिक्षाका लागि पहल गर्न र शिक्षक दरबन्दि मिलान लगायतका सबै कुरा उक्त कार्यविधिमा स्पष्ट व्यवस्था भएको बताउनु भयो । यसले गर्दा अब शिक्षा क्षेत्रमा स्थानीय सरकारलाई काम गर्न सहज हुने उहाँको बुझाइ छ ।

आधारभुत तहका विद्यार्थीका लागि दिवाखाजा, छात्रवृत्ति, पाठ्यपुस्तक र अन्य शैक्षिक सवालहरु कार्यविधिमा लेखिएका छन् । कार्यविधिकोे अभावले कतिपय कामहरु अट्किएका थिए, अब सहज हुने धितालले बताउनु भयो । गाउँसभाले पारित गरेका कार्यविधि र ऐनका आधारमा कर्मचारीलाई काम गर्न सजिलो हुने उहाँको भनाइ छ ।