नराकोटमा नेटवर्क सेवा नियमित नहुँदा सेवाग्राहीहरू हैरान – Karnali News

नराकोटमा नेटवर्क सेवा नियमित नहुँदा सेवाग्राहीहरू हैरान

 १५ फाल्गुन २०७८, आईतवार ०८:०५  

नौरते नेपाली, फाल्गुन १५ जुम्ला
सिंजा गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको नराकोटमा नेटवर्क सेवा नियमित नहँुदा सेवाग्राहीहरू हैरान भएका छन् । सिंजा गाउँपालिका वडा नम्बर १, २, ३ र ६ मा मोबाइल नेटवर्कले काम नगर्दा मोबाइल प्रयोगकर्ताहरू हैरान भएका हुन् । नेपाल टेलिकम शाखा जुम्लाले जडान गरेको टावर नियमित संचालन नहुँदा ४ वटा वडाका नागरिक संचार विहिन हुन पुगेका छन् ।

नेटवर्क आनेजाने र घाम नलागेको दिनमा पुरै बन्द हुने गरेको स्थानीय शैलेन्द्र आचार्यले बताउनु भयो । मोवाइलमा नेटवर्क अनियमित हुँदा सर्वसाधारण मोवाइल प्रयोगकर्ता मर्कामा परेको उहाँको भनाइ छ । साना किप्याट बोमाइलमा नेटवर्क आउने र ठुला मोवाइमा नेटवर्क नदेखिने समस्या रहेको उहाँले सुनाउनु भयो ।

आचार्यका अनुसार नेटवर्कमा समस्या आउँदा पनि टेलिकमले सुनुवाइ नगर्दा आफूहरू घरबाहिर रहेका आफन्तबाट सम्पर्कविहीन हुनु परेको गुनासो गर्नुभयो । नरोकोटमा जडान गरिएको टावरले काम नगर्दा स्थानीय बासिन्दाहरु टेलिफोन सेवाबाट वञ्चित भएको उहाँको भनाइ छ । नेटवर्कले काम नगरेको स्थानीयको गुनासो छ ।

फोन सेवा नियमित नभएको भन्दै उहाँले कहिलेकाही नेटवर्क देखाउने गरेको बताउनु भयो । उहाँका अनुसार झन्डै एक महिनादेखि टेलिफोन सेवा अनियमित भएको जानकारी गराउनु भयो । फोन सम्पर्क गर्न अग्लो डाँडामा पुग्नुपर्ने बाध्यता रहेको भन्दै उहाँले हामीलाई त फोन गर्नकै लागि ठूलो सास्ती भोग्नु पर्ने बाध्यता छ ।

मोबाइल नेटवर्क गइरहने समस्याले आजित बनाएको उहाँको भनाइ छ । राति १० बजेको गएको नेटवर्क विहान ९ बजेपछि मात्रै आउने गरेको भन्दै उहाँले मोवाइलमा देखिएको नेटवर्कले राम्रोसँग काम गर्दैन् । यता नेपाल टेलिकम शाखा जुम्लाले ब्याकअपको कमीले नेटवर्क सेवा अनियमित भएको बताएको छ ।

स्थानीय सरकारलाई सोलारको व्यवस्थान गरिदिन आग्रह गरेपनि व्यवस्थापन हुन नसकेको शाखाले जनाएको छ । घाम लागेको दिनमा नेटवर्क आउने र घाम नलागेको दिनमा नेटवर्क आउने जाने भइरहेको छ ।