फोहोर मैला व्यवस्थापन ऐनलाई अन्तिम रुप दिने तयारी – Karnali News

फोहोर मैला व्यवस्थापन ऐनलाई अन्तिम रुप दिने तयारी

 ७ फाल्गुन २०७८, शनिबार १८:०१  

नौरते नेपाली, फाल्गुन ७ जुम्ला
चन्दननाथ नगरपालिका जुम्लाले सरसफाई तथा फोहोर मैला व्यवस्थापन ऐनलाई अन्तिम रुप दिने तयारी गरेको छ । नगरपालिकामा हालसम्म यस्तो ऐन नबेकाले अब यसलाई अन्तिम रुप दिने तयारी गरेको हो । दिगो सुरक्षित तथा व्यवस्थित फोहोर मैला व्यवस्थापनको कार्यका लागि एस.एन.भी नेपालको सहयोगमा तयार पारिएको मानव मलमूत्रजन्य फोहोर व्यवस्थापन विनियम २०७८ को मस्यौदालाई छलफल तथा अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा अन्तिम रुप दिने तयारी गरेको मेयर कान्तिका सेजुवालले बताउनु भयो ।

उहाँका अनुसार नगर भित्र बसोबास गर्नै नागरिकको शौचालयबाट निस्कने दिशाजन्य फोहोर व्यवस्थापनको लागि दिर्घकालिन योजना निर्माण गर्न लागेको बताउनु भयो । एस.एन.भी नेपालको सहयोगमा तयार पारिएको ऐनको मस्यौदालाई कार्यपालिका बैठकबाट आवश्यक संशोधन गरी अन्तिम रुप दिइने जानकारी गराउनु भयो ।

स्थानीय सरकारले निर्माण गर्नु पर्ने ऐनलाई दातृ निकायको विज्ञ टोलीले तयार गरेको हुनाले त्यसलाई आवश्यक संशोधन गरि कार्यान्वयनमा लैजाने उहाँको भनाइ छ । नगरपालिका भित्रको फोहोरलाई बजारीकरण गर्ने उद्देश्य भएपनि स्रोत साधनको कमीले सम्बन्धित ठाउँसम्म लिन गाह्रो भएको सेजुवालले बताउनु भयो ।

उहाँका अनुसार आन्तरिक स्रोतको कमीले फोहोर व्यवस्थापनको काम सोचे जस्तो हुन नसकेको जानकारी गराउनु भयो । एस.एन.भी. नेपालका जुम्ला प्रतिनिधि नन्दवहादुर धरालाले स्वच्छ र स्वस्थ रहन पाउने नागरिकको अधिकारलाई रक्षा गर्नु पर्ने बताउनु भयो । फोहोरमैला व्यवस्थापनको कार्य महत्वपूर्ण भएकाले नीतिगत व्यवस्था हुनु पर्ने उहाँको सुझाव छ ।

विज्ञ टोलीले तयार गरेको मस्यौदालाई नगरसभाले पारित गरि आफु अनुकूलको राजश्व निर्धारण र नियम बनाउन सक्ने उहाँको भनाइ छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा २९ मा भएको व्यवस्था अनुसार नयाँ भवन निर्माण गर्दा नक्सामा अन्य कुराहरुको अतिरिक्त सो भवनमा छुट्टै शौचालय निर्माण गर्नु पर्ने व्यवस्था भएको उहाँले बताउनु भयो ।

धरालाका अनुसार फोहोर व्यवस्थापनले नगरको गरिमा र शोभा बढाउने भएकाले यसको लागि नीति आवश्यक रहेको बताउनु भयो । इको कनसन प्रालिका प्रज्वल श्रेष्ठले सरसफाई मेरुदण्ड भएको बताउनु भयो । उहाँले नगरपालिकाको परिचय बदल्नको लागि ऐन आवश्यक रहेको सुनाउनु भयो ।

चन्दननाथ नगरपालिका जुम्लाका वास फोकल प्रश्न लक्ष्मीचन्द्र न्यौपानेले दिशाजन्य लेदो व्यवस्थापनका लागि वडा नम्बर १० मा व्यवस्थापनको काम भइरहेको बताउनु भयो । १० वटा अस्थायी दिशाजन्य लेदोलाई व्यवस्थापन गर्नको लागि खाल्डो तयार गरिएको उहाँले बताउनु भयो । बाटो र खाल्डो मर्मतको काम भइरहेको न्यौपानेको भनाइ छ ।

उहाँका अनुसार न्युनतम शुल्कमा दिशाजन्य लेदोलाई व्यवस्थापन नगरपालिकाले गर्ने जानकारी गराउनु भयो । दक्ष जनशक्तिको अभावले भनेकै समयमा दिशाजन्य लेदो उठाउन नसकिएको उहाँको भनाइ छ ।