
रामकृष्ण बुढा, फाल्गुन ७ जुम्ला
यतिबेला जुम्ला जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएर पठनपाठन सञ्चालन भइरहेको छ । यद्यपि भर्ना अभियान अवधि भने सकिएको छैन । “सुन्दर नगर सुन्दर गाउँ, उमेर पुगेका नगरका सबै बालबालिकालाई बिद्यालय पुराऔँ” भन्ने मुल नाराका साथ नयाँ शैक्षिक सत्र २०७८÷०७९ को लागी भर्ना सुरु भएको हो ।
माग २६ गतेदेखि जिल्लाको एकमात्र चन्दननाथ नगरपालिकामा भर्ना अभियान चलिरहेको चन्दननाथ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईले बताउनु भएको छ । भर्ना अभियान यहि फागुन दस गतेसम्म चल्ने र आवश्यक परे पुन २० गतेसम्म भर्ना अभियान चलाइने उहाँले बताउनुभयो ।
यसैबीच नगरपालिकाले भर्ना अभियान सम्बन्धि सडक नाटक प्रस्तुत गरेको छ । शुक्रबार दिउँसो कृष्ण मन्दिर अगाडि स्थानीय कलाकारको टिमले नाटक प्रर्दशन गरेको हो । नगरपालिका भित्र उमेर पुगेका आफ्नो घर नजिकै भएको सामुदायिक बिद्यालयमा बालबालिकालाई भर्ना गराऔँ भन्दै सडक नाटक देखाइएको स्थानीय कलाकार धनराज सुनारले बताउनुभयो ।
खडानन्द चौलागाईले लेख्नुभएको नाटकलाई कलाकार आनन्द अधिकारीले निर्देशन गर्नुभएको थियो । सडक नाटकमा विशेषगरी बिद्यालयको नयाँ भर्ना अभियान, पढाइको महत्व, सामुदायिक बिद्यालय कमजोर हुनुको कारण लगायतका विषय समेटिएका थिए । यता शाखा प्रमुख चौलागाईले उमेर पुगेका सम्पूर्ण बालबालिकालाई बिद्यालय पुर्याउन आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “जिल्लामा पछिल्लो समय सामुदायिक बिद्यालयहरुले अंग्रेजी माध्यममा पठनपाठन गरेको र गुणस्तरीय शिक्षणमा ध्यान दिएकोले विद्यार्थीको आकर्षण बढेको छ । सामुदायिक बिद्यालयमा भर्ना गर्दा छात्रवृत्ति, पाठ्यपुस्तक र दिवा खाजाको व्यवस्था भएकोले सामुदायिक बिद्यालय नै रोज्नुपर्ने उहाको भनाइ छ ।
साथै पछि उच्च शिक्षामा छात्रवृत्ति पाउन पनि अनिवार्य ६ कक्षा बाटै सामुदायिक बिद्यालयमा पढेको हुनुपर्ने सरकारले नीति बनाएको छ ।