
एनिसा हमाल, फाल्गनु ०६, जुम्ला
कृषिको आधार तयार गर्दै, रैथाने बालीको संरक्षण गराँै भन्ने मुल नाराका साथ जुम्लामा प्राङ्गारिक कृषि प्रबद्र्धन तथा रैथाने बाली संरक्षण दिवस जुम्लामा मनाइएको छ । प्राङ्गारिक कृषि उत्पादनलाई बढवा दिने उद्देश्यले हरेक वर्ष फागुन ६ गतेका दिन यो दिवस मनाउने गरिएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेश अधिकारी बताउनु भयो ।
२०६४ सालमा जुम्ला जिल्ला अर्गानिक जिल्ला घोषणा भइसकेको बताउँदै उहाँले नामको मात्र अर्गानिक जिल्ला रहेको बताउनु भयो । अझै पनि जुम्लाका किसानहरुले किटनासक विषादि र झारनासक विषादिहरु प्रयोग गरिरहेको उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले प्राङ्गारिक कृषि प्रबद्र्धन र रैथाने बाली संरक्षणमा स्थानीय सरकार नै जिम्मेवार नभएको बताउनु भयो ।
संघिय सरकार हुदा सबै जिम्मेवारी कृषि विकास कार्यालयलाई भएकोमा अहिले स्थानीय सरकारको काँधमा त्यो जिम्मेवारी गइसकेकाले सबै स्थानीय तह लगायत सबै सरोकारवाला निकायले जुम्लालाई अर्गानिक जिल्ला बनाउन सहयोग गर्नुपर्ने उहाँले बताउनु भयो । जुम्लामा कृषिका क्षेत्रमा काम गर्ने धेरै सरकारी तथा गैरसरकारी कार्यालय हुदा पनि सबैसंग समन्वय नहुदा यस्तो समस्या भएको बुढाको भनाइ छ ।
भातलाइ नै मुख्य खाना मान्य प्रचलन जुम्लामा रहेकाले पनि यहाँ उत्पादन भएको अर्गानिक अन्नको महत्व घटेको उहाँले बताउनु भयो । यस्तै चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले १४ वर्ष अघि जुम्ला अर्गानिक जिल्ला घोषणा भइसक्दा पनि अझै यहाँको उत्पादन अर्गानिक नहुनु लज्जास्पद कुरा बताउनु भयो ।
घरको उत्पादनलाई हेला गर्ने र बजारका रसायनिक विषादियुक्त कुरालाई प्रथामिकतामा राख्ने हुनाले पनि समस्या भएको उहाँले बताउनु भयो । जुम्लाको कुन उत्पादनलाई अर्गानिक हो ? भन्ने कुरामा पनि समस्या हुने अवस्था आइसकेको मेयर सेजुवालको भनाइ छ । धान बालीमा व्युटाक्लोर जस्ता विषादि प्रयोग गर्नाले मानिस लगायत गाइवस्तुको स्वास्थ्यमा पनि असर गर्ने भएकाले त्यस्तो विषादि प्रयोग नगर्न उहाँले सम्पूर्ण कृषकलाइ अनुरोध गर्नुभएको छ ।
कृषि क्षेत्रलाइ र प्राङ्गारिक उत्पादनलाइ कसरी बढवा दिन सकिन्छ भन्ने कुरामा जुम्लाका सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । यस्तै प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइले नेपाल कृषि प्रधान देश भएकाले कृषि पेशा पहिलो प्रथामिकतामा राख्नुपर्ने बताउनु भयो ।
जुम्लामा अर्गानिक उत्पादित स्याउ राख्ने कोल्ड स्टोरको व्यवस्था नभएको बताउदै उहाँले सिजन भन्दा पछि यहाँको अर्गानिक स्याउ पाउन समस्या हुने भएकाले स्थानीय सरकार लगायत सरोकारवालाले स्याउ भण्डारणको लागि प्रत्येक स्थानीय तहमा कोल्डस्टोरको व्यवस्था गर्नुपर्र्नेे बताउनु भयो ।
जुम्लामा कृषि अनुसन्धान केन्द्र लगायत कृषिका धेरै कार्यालयहरु हुदा पनि यहाँ पढ्ने कृषिका विद्यार्थीबाट प्रयोगात्मक अभ्यास गर्न नपाएको भन्ने गुनासो आउनु दुखद कुरा भएको उहाँले बताउनु भयो । सबै अधिकार स्थानीय सरकारसंग हुने भएकाले अर्गानिक उत्पादनलाइ बढाउन र विषादि रहित उत्पादन बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने प्रजिअ प्रसाइको भनाइ छ ।
तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नवराज न्यौपानेले अर्गानिक उत्पादनलाई बृद्धि गर्न गाउँपालिका भरीका विद्यालयमा १ देखि ५ कक्षा सम्म खुवाइने दिवा खाजामा जुम्लाको अर्गानिक खानेकुरा हुनुपर्ने नियम लागु गरिएको बताउनु भयो । कृषि क्षेत्रलाइ पहिलो प्रथामिकतामा राखेर गाउँपालिकाले काम गरेको बताउँदै उहाँले १० वर्षे कृषि रणनीति योजना बनाएको बताउनु भयो ।
व्युटाक्लोर जस्ता झारनासक विषादि रहित अन्न उत्पादनमा बृद्धि गर्न व्युटाक्लोर प्रयोग गरेको पाइएमा १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम लागु गरेको अध्यक्ष न्यौपानेले जानकारी गराउनु भयो । बरिष्ठ कृषक रामकृष्ण बुढुथापाले जुम्ला अर्गानिक जिल्ला घोषणा भएको १४ वर्ष वितिसक्दा पनि हामिसंग कुन चिज चाहिँ अर्गानिक छ भन्ने कुरामा पनि अप्ठेरो लाग्ने अवस्था आइसकेको बताउनु भयो ।
जुम्लामा धेरैजसो व्युटाक्लोर धान बालिमा प्रयोग हुने भएकाले पछि त्यसले महिलाहरुलनई असर गर्ने उहाँले बताउनु भयो । यो विषादि प्रयोग गर्दा धान गोड्न सहज हुने भएकाले पनि प्रायले यो विषादि प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।