नगरपालिकाको प्रत्येक वडामा टोल शिक्षा कार्यक्रम – Karnali News

नगरपालिकाको प्रत्येक वडामा टोल शिक्षा कार्यक्रम

 ६ फाल्गुन २०७८, शुक्रबार १७:३३  

नौरते नेपाली, फाल्गुन ०६ जुम्ला
कोरोनाले शिक्षण सिकाइ क्रियाकलाप अवरुद्ध भएको अवस्थामा चन्दननाथ नगरपालिकाले १० वटा वडाका टोल–टोलमा ४५ जना शिक्षक÷शिक्षिका मार्फत टोल शिक्षा मार्फत पठन–पाठन गरेको छ । गएको भदौ महिना देखि माघ महिनासम्म ४५ वटा टोलमा पठन पाठन कार्य गरेको हो ।

युनिसेफ नेपालको सहयोग र चन्दननाथ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा टोल शिक्षा संचालन गरेको हो । अभिभावकको सहयोगमा बालबालिकालाई घरमा नै गराउन सकिने सिकाई क्रियाकलापहरु समावेश गरिएको पुस्तक समेत उपलब्ध भएको चन्दननाथ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा जुम्लाका प्रमुख खडानन्द चौलागाईले बताउनु भयो ।

उहाँका अनुसार कोभिड–१९ का कारण ठप्प शैक्षिक क्रियाकलापलाई टोल–टोलमा विषयगत शिक्षक खटाएर सुरु गराइएको बताउनु भयो । टोलमा पुग्ने शिक्षक÷शिक्षिका तथा विद्यार्थीका लागि मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गराईएको उहाँको भनाइ छ । पढाई हुने समयमा कोरोनाले गर्दा विद्यालयहरु बन्द भएका बेला घरमै बसेका बालबालिकाको पढाईमा सहयोग गर्ने उद्देश्यले विषयगत शिक्षकलाई टोल–टोलमै पठाएर पठन–पाठनलाई अघि बढाईएको उहाँले बताउनु भयो ।

टोलमा पुग्ने विषय शिक्षकले सबै विद्यार्थीलाई पायक पर्ने स्थानमा विद्यार्थीलाई भेला गरेर आफ्नो विषयको पठन–पाठन गराएको चौलागाईले बताउनु भयो । नगरपालिका भित्रका प्रत्येक टोलमा संचालन भएका टोल शिक्षाको अनुगमन गरिएको उहाँको भनाइ छ । टोल शिक्षाको प्रभावकारिताको मापन गर्नको लागि अनुगमन गरिएको हो ।

शुक्रबारका दिन चन्दननाथ नगरपालिका जुम्लाका उपमेयर अप्सरादेवि न्यौपाने (महत), वडा नम्बर ६ का वडाध्यक्ष अजवहादुर रावल, वडा नम्बर ९ का वडाध्यक्ष मीनवहादुर डाँगी, नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक उमादेवि उपाध्याय, विपद् शाखाका प्रमुख लक्ष्मीचन्द्र न्यौपाने लगायतको टोलीले टोल शिक्षाको अनुगमन गरेको छ ।

वडा नम्बर ७ मिचा र वडा नम्बर ९ उम्गाडमा चलेको टोल शिक्षाको उक्त टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा युनिसेफ नेपालले उपलब्ध गराएको पुस्तक, झोला र अन्य शैक्षिक सामाग्री सहित विद्यार्थीहरु टोल शिक्षामा आएको पाइएको छ । विद्यालय बन्द भएको बेला विद्यार्थीहरुले युनिसेफ नेपालले उपलब्ध गराएको पुस्तकमा विभिन्न चित्र कोर्नुका साथै होमकहरु पनि गरेका छन् ।

टोल शिक्षाले घरमै बसेका विद्यार्थीको सिकाईमा सहयोग पुगेको शिक्षक भीम नेपालीले बताउनु भयो । झण्डै ६ महिनासम्म संचालन भएका टोल शिक्षाले धुलोमाटोमा रमाउने विद्यार्थीहरुले थप कुरा सिक्न पाएको उहाँको भनाइ छ ।