संचार माध्यम निष्पक्ष नभएको सरोकारवालाको भनाइ – Karnali News

संचार माध्यम निष्पक्ष नभएको सरोकारवालाको भनाइ

 १ फाल्गुन २०७८, आईतवार १७:५८  

एनिसा हमाल, फाल्गुन १ जुम्ला
विश्व रेडियो दिवस रेडियो कर्णाली जुम्लाले छलफल गरि मनाएको छ । विश्व रेडियो दिवसको अवसरमा नागरिकको सूचना पाउने अधिकार, सूचनामा नागरिको पहुँच, स्थानीय सुशासन र सार्वजनिक चासोका विषयमा रेडियोले खेलेको भुमिका लगायतका विषयमा रेडियो कर्णाली जुम्लाले छलफल कार्यक्रम गरेको हो ।

छलफल कार्यक्रममा नेपाली काँग्रेस जुम्लाका पार्टी सचिव लक्ष्मण शाही, सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिस्ट्रार नुपेन्द्र महतको सहभागिता रहेको थियो । छलफल कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले सामुदायिक रेडियोहरुले सूचना प्रवाहमा महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो ।

जुम्ला जस्तो विकट ठाउँमा सूचनाको एक मात्र स्रोत रेडियो भएकाले सूचना प्रवाहमा अझै सक्रिय हुनुपर्ने उहाँको भनाइ छ । स्थानीय तहमा बजेट कार्यान्वयनको अवस्था, योजना तर्जुमा र अनुगमनका विषयहरुलाई पनि रेडियोको माध्यबाट बाहिर ल्याउन सके विकास निर्माणमा सहयोग पुग्ने र स्थानीय तहमा भएको भ्रष्टचारलाइ न्युनिकरण गर्न सकिने रिजालले बताउनु भयो ।

गाउँठाउँमा भइरहेका हरेक सकरात्मक कुराहरुलाई बाहिर ल्याएर नागरिकहरुलाई सूसिचित गर्नमा रेडियोले महत्वपुर्ण भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार नृपेन्द्र महतले रेडियो सबैको साझा चौतारी भएको बताउनु भयो । गाउँघरका अशिक्षित नागरिहरुका लागि सजिलो र आफ्नो मनको बेदना पोख्ने माध्यम पनि रेडियो नै भएको उहाँले सुनाउनु भयो ।

तर, पछिल्लो समय संचार माध्यम निष्पक्ष नभएको उहाँले बताउनु भयो । राम्रा र सत्यतथ्य कुरा भन्दा पनि आफ्ना पक्षका व्यक्ति विशेषका कुराहरु बाहिर ल्याउने गर्नाले संचार क्षेत्रप्रति नागरिकले गर्ने विश्वास हराउदै गएको उहाँको बुझाइ छ । संचार क्षेत्र भनेको कुनै व्यक्ति विशेषको नभइ आम नागरिकको हुनुपर्ने र स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण गर्ने एउटा विश्वासिलो माध्यम हुनपर्ने उहाँले बताउनु भयो ।

स्थानीय तहहरुमा भ्रष्टचार व्यापक रहेको सुनाउदैँ त्यसको विरुद्ध कसैले पनि कलम नचलाएको उहाँको भनाइ छ । भए गरेका राम्रा कामहरुलाइ मात्र समाचार नबनाई खोजमुलक समाचारहरुमा पनि पत्रकारले कलम चलाउनुपर्ने महतको भनाइ छ । यस्तै नेपाली काँग्रेस जुम्लाका पार्टी सचिव लक्ष्मण शाहीले नागरिककोे सबै भन्दा नजिकको साथी रेडियो भएको बताउनु भयो ।

रेडियोको माध्यमबाट नागरिकहरुले सबैभन्दा धेरै जानकारी प्राप्त गर्ने भएकाले सूचना र समाचार सम्प्रेषणमा विश्वसनियता हुनुपर्ने उहाँले बताउनुभयो । कुनै पनि संचार माध्यमबाट प्रसारण हुने समाचार सूचनामा र पत्रकारले चलाउने कलममा राजनीतिक गन्ध आउन नहुने उहाँको बुझाइ छ ।

कुनै पनि पार्टी संगठनसंग आबद्ध भएर पत्रकारिता गर्दा उसले चलाउने कलमहरुले पनि आफु निकट पार्टीका कुराहरुलाई मात्र लेख्ने भएकाले स्वतन्त्र रुपमा पत्रकारीता गर्न उहाँले सम्पुर्ण पत्रकारहरुलाइ आग्रह गर्नुभएको छ । रेडियो दिवसका अवसरमा गरिएको छलफल कार्यक्रमको केहि अंश तपाइलाई सुनाउँदै छौँ ।

यस्तै बिश्व रेडियो दिवसका अवसरमा चन्दननाथ माध्यामिक बिद्यालयका अंग्रेजी माध्यमका ब्यवस्थापक कृष्ण प्रताप महतले शुभकामना ब्यक्त गर्नु भएको छ । उहाँका अनुसार सम्पूर्ण रेडियो कर्मीहरुरले खेलेको भुमिका अत्यान्तै महत्वपुर्ण रहेको बताउनु भयो । अझ जुम्लाका रेडियोले स्थानीय भाषामा लक्षित कार्यक्रमहरु रेडियोेबाट प्रसारण हुनु पर्ने सुझाव दिनु भएको छ ।

जुम्ला भनेको खष राज्यको उद्गम स्थल भएकाले खष भाषाका कार्यक्रमहरु बढी सञ्चालन हुनु पर्ने उहाँको भनाइ छ । चन्दननाथ नगरपालिका वडा नम्वर ४ मालाभिडका स्थानीय महेश देवकोटाका अनुसार रेडियोले खेलेका भुमिका सराहनीय भएको बताउनु भयो । उहाँका अनुसार रेडियोबाट प्रसारण भएका सबै कार्यक्रमहरु अति राम्रो लागेको बताउनु भयो ।

अझ नेपाल सरकारले पत्रकारको लागी क्षमता अभिबृद्धिका लागी तालीमको ब्यवस्था मिलाउनु पर्ने बताउनु भयो । जुम्लामा विद्युत अनियमितताका कारणले जुम्लाका रेडियोहरु नियमित प्रशारणमा समस्या रहेको बताउनु भयो । नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले वि.सं.२००३ सालमा रेडियोको प्रसारण सुरु गरेको थियो ।

औपचारिक रुपमा भने २००७ मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ । अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनका लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९०० हाराहारी छ । नियमित प्रसारणमा रहेका रेडियोको संख्या साढे ७०० भन्दा बढी छ ।

नेपालमा २०५२ सालदेखि निजी क्षेत्रबाट एफएम रेडियोहरुको प्रसारण भएको हो । विभिन्न सञ्चार माध्यमको विकास भए पनि रेडियो अझै सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ ।