
नौरते नेपाली, माघ २९ जुम्ला
जुम्लामा जीवन उपयोगी सीप र आत्मरक्षा सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालीम सुरु भएको छ । वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा पाँचवटा स्थानीय तहका किशोरकिशोरीलाई चार दिने तालीमको आयोजना गरिएको हो । चन्दननाथ नगरपालिका, तिला, तातोपानी, पातारासि र गुठीचौर गाउँपालिकाका किशोरकिशोरीलाई तालीममा सहभागि गराईएको हो ।
तालीम प्राप्त किशोरकिशोरीले यौन तथा प्रजनन स्वास्थ्य अधिकार, जीवन उपयोगी सीप, नागरिक सहभागिता, आत्मरक्षा सम्बन्धि कक्षाहरु लिने छन् । किशोरावस्थामा आउने विभिन्न शारीरिक, मानसिक, बौद्धिक र सामाजिक परिवर्तनहरूलाई बुझ्न नसक्दा र यस्ता परिवर्तनहरूमा अभिभावकहरूको उचित साथ र सहयोग नपाउँदा किशोरकिशोरीले विभिन्न जोखिमपूर्ण र संवेदनशील परिस्थितिको सामना गर्न बाध्य हुनु परिरहेको छ ।
अर्कातिर, समाजमा विद्यमान गलत धारणा, परम्परा, मूल्यमान्यता र सोचाइले किशोर किशोरीको समग्र विकासमा असर पुर्याई रहेको पाइएको छ । यिनै चुनौतीहरूलाई मध्यनजर गरी किशोरकिशोरीको समग्र विकासका नीम्ति आवश्यक सवालहरूलाई सम्बोधन गर्दै उनीहरूको अधिकारको संरक्षण र सम्बर्धनका लागि तालीमको आयोजना गरिएको हो ।
किशोरकिशोरीको ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षक प्रशिक्षण तालीमको सुरु गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक भेषवहादुर रावलले बताउनु भयो । तालीममा सहभागि भएका किशोरकिशोरीले समुदायमा गएर तालीम दिने उहाँको भनाइ छ । एउटा स्थानीय तहबाट ५ जना किशोरकिशोरी सहभागि भएको बताउँदै रावलले सहभागि २५ जनाले ६ सय २५ जना किशोरीकिशोरीले यस्तै तालीम समुदायमा गएर दिने जानकारी गराउनु भयो ।
किशोरकिशोरीहरूको शारीरीक र मानसीक परीवर्तन संगै जीवनमा आउने विभिन्न संवेगहरू नियन्त्रण गर्न र जीवन एवं समाजलाई रूपान्तरण गर्ने सीप सिकाउने उद्देश्य रहेको रावलको भनाइ छ । तालीममा जीवन उपयोगी सीपका विभिन्न प्रयोगात्मक, अभिनय, खेल विधि, समुहकार्य, प्रशिक्षण आदि बिधीहरूद्वारा सहभागीलाई प्रशिक्षण सुरू गरिएको उहाँले बताउनु भयो ।
यसका साथै किशोरकिशोरीहरूलाई हुन सक्ने सम्भावित हिंसात्मक गतिविधी, यौन जन्य हिंसा, शारीरीक र मानसिक दुव्र्यवहारहरूबाट बच्न मद्दत पुग्ने अपेक्षा गरिएको रावलले जानकारी गराउनु भयो ।