विद्यालयहरुमा पुन खोप अभियान संचालन गरिने – Karnali News

विद्यालयहरुमा पुन खोप अभियान संचालन गरिने

 २८ माघ २०७८, शुक्रबार १९:०९  

रामकृष्ण बुढा, माघ २८ जुम्ला
जुम्लाका विद्यालयहरु पूर्ण रुपमा खुलेपछि खोप अभियान पुन संचालन गरिने भएको छ । कोरोनाको जोखिम कायमै रहेको हुनाले फागुन १ गतेबाट विद्यालय संचालन भएमा खोप अभियान पुन सुरु गरिने भएको हो । विद्यार्थीलाई लक्षित गरि विद्यालयमा खोप अभियान संचालन गर्न स्थानीय सरकारलाई कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिले आग्रह गरेको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय अगाडी संचालन गरिएको एकिकृत हेल्थ डेस्क तत्कालका लागि बन्द गर्ने र आवश्यक परेमा पुन संचालन गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी तथा कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिका अध्यक्ष विजया कुमारी प्रसाईको अध्यक्षतामा विहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जुम्लामा १२ वर्ष माथिका ७६.२ प्रतिशित नागरिकले खोप लगाएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनु भयो । उहाँका अनुसार ४६.१ प्रतिशित नगारिले पूर्ण मात्र खोप लगाएको र २.१ प्रतिशत नागरिकले बुस्टर डोज खोप लगाएको तथ्याङ्क सुनाउनु भयो । पहिलो मात्र ८५.२ प्रतिशत नागरिकले खोप लगाई सकेको उहाँको भनाइ छ ।

पहिलो मात्राको ५५.९ प्रतिशत खोप नागरिकलाई लगाई सकेको सापकोटाले बताउनु भयो । यस्तै चन्दननाथ नगरपालिकाले १६३.५ प्रतिशत खोप लगाएको छ । लक्ष्य भन्दा बढी खोप लगाईएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रवहादुर महतले बताउनु भयो । उहाँका अनुसार १०.२ प्रतिशत बुस्टर खोप लगाईएको जानकारी गराउनु भयो ।

नगरपालिका भित्र ९७.६ प्रतिशत नागरिकले पूर्ण मात्राको खोप लगाई सकेका छन् । महतका अनुसार एकिकृत हेल्थ डेस्कबाट १२ सय ८८ जना नागरिकले खोप लगाएको बताउनु भयो । पहिलो डोज ७ सय १६, दोस्रो डोज ३ सय २९ र बुस्टर डोज २ सय ४३ जनाले लगाएको उहाँले जानकारी गराउनु भयो ।

माघ महिनाको १३ गतेबाट सुरु भएको एकिकृत हेल्थ डेस्कमा खोप लगाउने नागरिकको संख्या उल्लेख्य रहेको महतले सुनाउनु भयो । प्रमुख जिल्ला अधिकारी प्रसाईले विद्यालय खुलेपछि मोड्र्ना खोपलाई बढी केन्द्रित गर्नु पर्ने बताउनु भयो । नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार जुम्लाका १ लाख ८ हजार नागरिकलाई पहिलो प्राथमिकतामा राखेर अभियान संचालन हुनु पर्ने बताउनु भयो ।

२०७८ को जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार जनसंख्या बढेको हुनाले खोपको माग बढी गर्नु पर्ने उहाँको भनाइ छ । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल, नन्द बक्स गण जुम्लाका पारुल कार्की, डिएएसपी नरेन्द्र चन्द, शसस्त्र प्रहरी बलका एसएसपी चित्राङ्गत दाहाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर राजीव शाहको सहभागिता रहेको थियो ।