एकिकृत शिक्षा सूचना व्यवस्थापन प्रणाली सम्बन्धि तालीम – Karnali News

एकिकृत शिक्षा सूचना व्यवस्थापन प्रणाली सम्बन्धि तालीम

 २५ माघ २०७८, मंगलवार १०:१३  

कालीवहादुर परियार, माघ २५ जुम्ला
जुम्लाका ३ वटा स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुखहरुसँग एकिकृत शिक्षा सूचना व्यवस्थापन प्रणाली सम्बन्धि तालीम सञ्चालन भएको छ । विद्यालयको तथ्याङ्क विश्लेषण र योजना निर्माण लगायतका बिषयमा जानकारी गराउन सूचना व्यवस्थापन प्रणाली सम्बन्धि तालीम सञ्चालन भएको हो ।

जुम्लाका कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकाका शिक्षा शाखामा कार्यरत कर्मचारीहरुलाई एकिकृत शिक्षा सूचना व्यवस्थापन प्रणाली सम्बन्धि तालीम सञ्चालन गरिएको किर्डाक नेपाल जुम्लाले जनाएको छ । उक्त तालीममा विद्यालय तहको शैक्षिक तथ्याङ्कको पृष्ठभुमि, तथ्याङ्क संकलन योजना र ब्यवस्थापन सम्बन्धीका विषयमा छलफल हुने आयोजनकले जनाएको छ ।

सोमबारका दिनबाट सुरु भएको तालीम मंगलबार सकिने जनाईएको छ । प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग, शिक्षा विकास तथा समन्वय इकाई जुम्लाको समन्वय र किर्डाक नेपाल जुम्लाको आयोजनामा तालीम सञ्चालन भएको हो । जुम्लाका ३ वटा स्थानीय तहका शिक्षा शाखा प्रमुख र कम्प्यूटर शाखाका प्रमुखलाई एकिकृत शिक्षा सूचना व्यवस्थापन प्रणाली सम्बन्धी तालिममा सहभागि गराईएको हो ।

जुम्लाका ७ गाउँपालिका र १ नगरपालीका मध्ये सबै भन्दा तातोपानी गाउँपालिका तथ्याङ्क संकलनमा अगाडी रहेको कार्यक्रमका प्रशिक्षक बलबिर सुनारले बताउनु भयो । उहाँका अनुसार कर्णाली प्रदेश कार्यालयमा संकलित तथ्याङ्कको आधारमा जुम्लामा मानव विकाश सूचाङ्क ०.४०९ प्रतिशत रहेको बताउनु भयो ।

नवशिशु मृत्युदर ५३.११ प्रतिशत साक्षरता ५५.६ प्रतिशत रहेको जानकारी दिनु भयो । उहाँका अनुसार सरदर आयू ६३.१४ प्रतिशत, शौचालय सुबिधा ६९.५ प्रतिशत र खानेपानीको सुधारीएको स्रोत ८०.६ प्रतिशत रहेको उहाँको भनाइ रहेको छ । यस्तै तालीमको उद्घाटन सत्रमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर बहादुर भण्डारीले जुम्लाका सबै स्थानीय तहले शिक्षा क्षेत्रमा लाप्रवाही गरेको बताउनु भयो ।

उहाँका अनुसार जुम्लामा १ सय ९६ जना बाल विकास सहजकर्ता रहेकोमा १ सय ४३ जना सहजकर्ताको मात्र तथ्याङ्क संकलन भएको बताउनु भयो । प्रमुख भण्डारीका अनुसार तथ्याङ्क संकलन गर्न छुटेकाले सम्बन्धीत स्थानीय तहले आफ्नो बिद्यालयको सहि तथ्याङ्क उपलब्ध गराउन अनुरोध गर्नु भएको छ ।

तथ्याङ्क संकलन गलत भएकाले सेवासुविधा हाल्ने बेला समस्या हुने गरेको उहाँको भनाइ छ । भण्डारीका अनुसार हरेक शिक्षा क्षेत्रमा यस्तै समस्या हुने भएकाले काम गर्न असहज भएको जानकारी गराउनु भयो । यस्ता समस्याको बेलैमा समाधान गर्न उहाँले सुझाब समेत दिनु भएको छ ।

यस्तै सामाजिक विकास कार्यालय जुम्लाका सामाजिक विकास अधिकृत तुलाराज चौलागाईले एकिकृत शिक्षा सूचना व्यबस्थापन प्रणाली सम्बन्धीत तालिम लिन आएकाहरुलाई सिक्न योग्य कुरा भएकाले गम्भिर हुन आग्रह गर्नु भएको छ । महत्वपूर्ण तालिम पाई सकेपछि प्रभावकारीताका साथमा ब्यवहारमा उतार्न उहाँको सुझाव रहेको छ ।