हिउँमा फसेकालाई हेलि मार्फत खानेकुरा खसालियो – Karnali News

हिउँमा फसेकालाई हेलि मार्फत खानेकुरा खसालियो

 २३ माघ २०७८, आईतवार १५:३२  

नौरते नेपाली, माघ २३ जुम्ला
तातोपानी गाउँपालिका वडा नम्बर ७ र ८ का हिउँमा फसेका ३६ जना नागरिकहरुलाई कर्णाली प्रदेश सरकारले हेलि मार्फत खाद्यन्न खसालेको छ । २ जना धर्मशाला भन्ने ठाउँमा आएर सुरक्षित बसेका छनभने अन्य ३२ जनालाई हेलि मार्फत पाटन मै पुगेर खानेकुरा खसालिएको हो । सेतो चिनि संकलन गर्न गएकाहरु हिउँमा फसेका थिए ।

कर्णाली प्रदेश सरकारले हिउँमा फसेकाहरुलाई उद्धार गर्नको लागि हेलि पठाएको थियो । गाग्रा भन्ने ठाउँमा झण्डै ७, एडिओडार भन्ने स्थानमा झण्डै १५ जना र खोटीसल्ला भन्ने ठाउँमा झण्डै ४ जना नागरिकलाई हेलिमार्फत खानेकुरा राखिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताउनु भयो ।

हेलि बस्ने ठाउँ नभएकाले हिउँमा फसेकाहरुलाई चिराउ, दालमोठ र चाउचाउ लगायतका खानेकुराहरु हेलि मार्फत खसालिएको उहाँको भनाइ छ । पाटनमा धेरै हिउँ भएकाले हेलि बस्न नसकेको प्रसाईले जानकारी गराउनु भयो । उद्धारका लागि हेलि पठाईए पनि पाटनमा धेरै हिउँ जमेको हुनाले २ सय तयारी केजी खानेकुरा छोडेर हेली फर्कि सकेको उहाँले बताउनु भयो ।

हिउँमा फसेकाहरुको माग अनुसार तत्कालका लागि तयारी खानेकुरा भएमा सजिलो हुने बताएपछि सोहि अनुसार  खानेकुरा हेलि मार्फत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी प्रसाईको भनाइ छ । मौसम सुधार भइ सकेको हुनाले अवस्था हेरी उद्धार तथा खानेकुरा उपलब्ध गराउन सबै निकाय तयार रहेको उहाँले जानकारी गराउनु भयो ।

प्रमुख जिल्ला अधिकारी प्रसाईले हिउँमा फसेकाहरुलाई भोकबाट बचाउन तत्काल उनीहरुलाई खानेकुरा हेलि मार्फत खसालिएको बताउनु भयो । सानो हेलि मार्फत हिउँमा फसेकाहरुको उद्धार गर्न खोजिए पनि अवतरणको समस्याले नसकिएको उहाँले बताउनु भयो । तातोपानी गाउँपालिका ८ का स्थानीय तथा नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतवहादुर शाहीको मार्फत हिउँमा फसेकाहरुलाई खानेकुरा सहयोग गरिएको हो ।

स्थानीय प्रशासनको पहलमा हिउँमा फसेका नागरिकहरुलाई हेलि मार्फत प्रदेश सरकारले उद्धार गर्न खोजेपनि हेलि बस्ने स्थानको अभावमा खानेकुरा उपलब्ध गराउन मात्रै सफल भएको शाहीले बताउनु भयो । तातोपानीको गाग्रा, एडिओडार र खोटीसल्ला भन्ने पाटनमा जडिबुटी संकलन गर्न गएकाहरु हिउमा फसेका मध्ये झण्डै ३२ जना नागरिकलाई खानेकुरा हेलि मार्फत खसालिएको उहाँले बताउनु भयो । माघ २० र २१ गते परेको भारी हिमपातले सेतो चिनि कोर्न गएका तातोपानीका नागरिकहरु हिउँमा फसेका छन् ।

शाही सहितको टोलीले चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा हेलि मार्फत खसालेका छन् । शाहीका अनुसार तातोपानी गाउँपालिका ८ जुम्लाको टोप्ला गाउँबाट एक दिनको दुरीमा रहेको गाग्रा पाटनको एडिओडार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ३६ जना हिउँमा फसेको बताउनु भयो । उनीहरु सेतो चिनी कोर्न पाटन गएका थिए ।

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले हिउँमा फसेका मानिसका लागि तत्काल खाद्यान्न र चिसोबाट बचाउने साम्रगी जुगाड गरिएको तर हेलिकोप्टर विना खाद्य साग्रगी त्यहाँ पुर्याउन असंभव भएको जनाउनु भयो । हिउँको चिसोले त्यस क्षेत्रमा तातोपानी ८ निवासी देवी शाही र तातोपानी ७ बार गाउँका मुनबहादुर रावतको कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।