गोठीज्युलामा रहेका १३ वटा किराना पसलहरुको अनुगमन – Karnali News

गोठीज्युलामा रहेका १३ वटा किराना पसलहरुको अनुगमन

 २१ माघ २०७८, शुक्रबार ०८:५८  

नौरते नेपाली, माघ २१ जुम्ला
कनकासुन्दरी गाउँपालिका वडा नं. ५ स्थित गोठीज्युलामा रहेका १३ वटा किराना पसलहरुको बुधबारका दिन संयुक्त अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालको अगुवाईमा बजार अनुगमन गरिएको हो । । बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्य तथा अखाद्य वस्तु गरि करिब ६० हजार रुपैयाँ मूल्य बराबरका सामान बरामद गरि नष्ट गरिएको छ ।

कनकासुन्दरी गाउँपालिका र सरोकारवाला निकायको रोहवरमा बरामद गरिएका सामान नष्ट गरिएको नयाब सुब्बा गिरीले जानकारी गराउनु भयो । अनुगमन टोलीले पसल दर्ता गर्न, मिति हेरेर मात्र सामान खरिद बिक्र गर्न र सबैले देख्ने गरी मूल्य सूचि राख्नु सुझाव दिएको हो । अधिकांस पसलहरुमा विना मूल्य सूची सामान किनबेच भइ रहेको पाईएको हुनाले अनिवार्य मूल्य सूची राख्न सुझाव दिईएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताउनु भयो ।

अनुगमन टोलीले पसलहरुमा राखेका दैनिक उपभोग्य सामानमा गुणस्तरीयता भए नभएको, म्याद रहेको वा गुुज्रिएको, पसल दर्ता तथा नवीकरण गरे नगरेको, मूल्यसूची राखे, नराखेका जस्ता विषयमा चेकजाँच गरेको थियो । अनुगमनका क्रममा धेरै पसलहरुमा कमजोरी भेटिएको अनुगमन टोलीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रिजालको नेतृत्वमा भएको अनुगमनमा अधिकांश पसलहरु खुद्रामा दर्ता गरेर होलसेलमा कारोबार गर्ने गरेको पाइएको थियो ।

अन्तः शुल्कको इजाजत नलिई मदिराजन्य पदार्थ बिक्री वितरण गर्नुका साथै केही पसलमा म्याद गुज्रिएका सामानहरु भेटिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा सुरत गिरीले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बजार अनुगमन नियमित हुने कार्य भएको बताउँदै प्रशासनको नेतृत्वमा सरोकारवाला निकाय सहितको सहभागितामा अनुगमन गरिएको बताउनुभयो ।

उहाँले अनुगमनका क्रममा केही पसलहरुले आफ्नो सीमा क्षेत्रभन्दा बाहिर सडक तथा पेटीमा समेत ठूलो मात्रामा सामानहरु राखेर बिक्री वितरण गर्ने गरेको पाइएको भन्दै व्यापारीलाई सचेत गराइएको हुँदा आगामी दिनमा यस्तो कार्य गरेको पाइएमा प्रक्रियामा गएर नियमानुसार आवश्यक कारवाही गरिने बताउनुभएको छ ।

अनुगमन निरन्तरताको प्रक्रिया भएकाले सरकारको ऐन, नियमअनुसार अहिले बजार अनुगमन गर्ने कार्य स्थानीय तहलाई दिइएको हुँदा स्थानीय तहले बजार अनुगमन समिति गठन गरेर नियमित रुपमा बजार अनुगमन गर्नुपर्ने प्रजिअ प्रसाईको भनाइ छ । यसले गर्दा उद्योगी व्यापारीहरु पनि सचेत हुने भएकाले उपभोक्ताले समेत गुणस्तरीय सामानहरु सुपथ मूल्यमा पाउने उहाँले बताउनु भयो ।

माघ महिनाको १९ गतेका दिन प्रमुख जिल्ला अधिकारी प्रसाईको अध्यक्षतामा बसेको बैठकले नागरिकको संबैधानिक मौलिक हकको संरक्षण गर्दै प्रचलित कानुन बमोजिम उपभोक्ताको हित संरक्षण गर्न सहायक प्रमुख जिल्ला अधिकारी रिजालको संयोजकत्वमा प्रहरी चौकी गोठीज्युला, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, कनकासुन्दरी गाउँपालिका, संचारकर्मीको सहभागितामा अनुगमन गरिएको थियो ।

नागरिकको संबैधानिक मौलिक हकको संरक्षण गर्दै प्रचलित कानुन बमोजिम उपभोक्ताको हित संरक्षण गरी दैनिक उपभोग्य हुने वस्तु तथा सेवाको सहज आपुर्ति, पहँुच तथा गुणस्तरी वस्तु तथा सेवामा आम उपभोक्ताको अधिकार सुनिश्चित गर्दै बजारको नियमित अनुगमन हुने गरेको उहाँको भनाइ छ ।