उद्यान व्यवस्थापनमा गुठीका पदाधिकारीहरु लागि परे – Karnali News

उद्यान व्यवस्थापनमा गुठीका पदाधिकारीहरु लागि परे

 २० माघ २०७८, बिहीबार १७:४५  

नौरते नेपाली, माघ २० जुम्ला
चन्दननाथ भैरवनाथ मन्दिरको जग्गामा निर्माण भएको हरित उद्यान व्यवस्थापनको कार्यमा समितिका पदाधिकारीहरु लागि परेका छन् । मन्दिरको जग्गामा निर्माण भएको उद्यानको विकास, प्रवद्र्धन र संरक्षणको कार्यमा लागि परेको अध्यक्ष पूर्णसिंह कठायतले बताउनु भयो । उहाँका अनुसार मन्दिरको प्रचार प्रसार गर्न र पर्यटकिय स्थलको रुपमा उद्यानलाई विकास गर्न लागेको जानकारी गराउनु भयो ।

पर्यटन मन्त्रालयको सहयोग, डिभिजन वन कार्यालय जुम्ला र भू तथा जलाधार कार्यालय जुम्लाको साझेदारीमा २० लाख रुपैयाँको सहयोगमा उद्यान निर्माण गरिएको हो । उद्यानमा हाल धुपी, गुलाफका विरुवा र विभिन्न प्रजातिका फुलहरु रोपिएका छन् । मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा अन्य उपभोक्ताहरुको मनोरञ्जनको लागि निर्माण भएको उद्यानलाई अझै व्यवस्थित र रमणीय स्थान बनाउन लागिएको अध्यक्ष कठायतले बताउनु भयो ।

उहाँका अनुसार उद्यानमा फोहोर भएकाले अहिले सफा गर्ने, विभिन्न प्रकारका फुल लगाउनको लागि क्यारी बनाउने र उद्यान सजावटको काम भइरहेको बताउनु भयो । अध्यक्ष कठायतले मन्दिरको जग्गा फोहोर हुँदै गएकाले जमीनको संरक्षण गर्न र पर्यटकिय स्थल निर्माणको लागि समितिले निरन्तरता दिने बताउनु भयो ।

उद्यान व्यवस्थापनका लागि अन्य निकायसँग अध्यक्ष कठायतले आग्रह गर्नु भएको छ । उहाँले बजार क्षेत्रमा कहि कतै पनि घुम्नका लागि ठाउँ नभएकाले मन्दिरको जग्गामा उद्यान निर्माण गरिएको हो । समितिका सचिव जीतवहादुर महतले मन्दिरको दर्शन गर्न र भक्तजनहरुको आरामका लागि उद्यान व्यवस्थित बनाउन लागिएको हो ।

झण्डै १७ मुरी खेतको जग्गामा उद्यान निर्माण भएको उहाँले जानकारी गराउनु भयो । उद्यानमा बाह्रै महिना हरिया हुने पतझर विरुवाहरु रोप्ने तयारी भएको बताउँदै सचिव महतले सरकारले लगानी गरि निर्माण गरेको उद्यानलाई संरक्षण गर्न समिति लागि परेको जानकारी गराउनु भयो । पर्यटकिय क्षेत्रको रुपमा विकास गर्दै मन्दिरमा आउने भक्तजनहरुलाई आराम गर्ने स्थल निर्माण गर्न उद्यान महत्वपूर्ण हुने उहाँले विश्वास गर्नु भएको छ ।

सचिव महतले मन्दिरको पूर्व तिरको जग्गामा निर्माण भएको उद्यानलाई सबैको साझा बनाउने र घुम्न योग्य स्थान बनाउने जानकारी गराउनु भयो ।