
नौरते नेपाली, माघ १९ जुम्ला
माघ १७ जुम्ला । तिला गाउँपालिका २ का देविलाल नेपालीको घर खर्च ३ वर्ष पहिले कालापहाडको कमाईकै भरमा चलेको थियो । घरको उत्पादनले वर्षभरी नपुग्ने र कमाउने स्रोत केही नहुँदा हरेक वर्ष कालापहाड जान देविलाल बाध्य थिए । घरमा रहेका सदस्यको पालन पोषण र एकसरो लुगा फाटोको लागि देविलाल कालापहाड जाने गर्नु हुन्थ्यो ।
भारतबाट कमाएर नल्याएसम्म औषधि उपचार गर्न र घर व्यवहार चलाउन पनि मुस्किल हुने गरेको उहाँले सुनाउनु भयो । देविलालले तिन वर्ष पहिले बाख्रा पालन व्यवसाय गर्न थालेपछि कालापहाडको यात्रा रोकिएको छ । बाख्रा पालन व्यवसाय सुरु गरेपछि कालापहाड जान छुटेको उहाँको भनाइ छ । १३ वटा बाख्रा पालनबाट सुरु भएको व्यवसाय अहिले त्यसको दोब्बरले वृद्धि घएको छ ।
बाख्रा बेचेरै देविलालको घरखर्च र लुगाफाटो फेर्न सजिलो भएको छ । वर्षमा २ वटा बाख्रा बेचेमा घरखर्च चलाउन पुग्ने देविलाल बताउनु भयो । उहाँले भन्नुभयो, बाख्रा पालन गर्नु पूर्व घरको नुन तेल, लुगाफाटो गर्न पनि कालापहाडकै मुख ताक्नु पथ्र्यो । हाल बाख्रा पालन व्यवसायले परिवार चलेको उहाँको भनाइ छ । कालापहाड जानुपर्ने बाध्यताबाट मुक्त भएको उहाँले बताउनुभयो ।
अनुकुलन कोष, वन तथा वातावारण मन्त्रालय, विश्व खाद्य कार्यक्रमको सहयोग र पेश नेपाल जुम्लाले उपलब्ध गराएको बोयर जाताको बोकोले देविलालको जीवन बदलिएको हो । बोयर जातको बोको पाएबाट उहाँको बाख्रा पालन व्यवसाय २ वर्षको अवधिमा दोब्बरले वृद्धि भएको हो । स्थानीयको जातको बोको हुँदा वर्षमा एउटा बाख्राले एउटा मात्रै जन्माउथ्यो भने अहिले २ वटा पाठापाठी एउटै बाख्राले पाउन थालेका छन् ।
बाख्राको संख्या दुई वर्षको समयमा देविलालको २८ पुगेको छ । उहाँले हालसम्म १३ वटा जत बाख्रा बेचि सक्नु भएको छ । उन्नत जातको बोयर बोकाबाट क्रसकटिगं जातको बाख्रा उत्पादन भएकाले तौलमा वृद्धि भएको उहाँले बताउनु भयो । देविलाले भन्नुभयो, दुई वर्षको बाख्रा काट्दा झण्डै २५ केजी मासु भएको सुनाउनु भयो ।
पहिले स्थानीय जातको ४ वर्ष पुगेको बाख्रा काट्दा १५ केजी जति मासु हुन्थ्यो उहाँले भन्नुभयो । देबिलाल नेपाली पहिले घर खर्च चलाउन कै लागि कालापहाड जाने गर्नुहुन्थ्यो । कालापहाड गएर भारि बोकि कमाएको रकमले देविलालको घरखर्च चल्ने गरेको थियो । अहिले त्यो दुःखको दिन सँधैका लागि हराएको उहाँको भनाइ छ ।
देविलाल हाल कालापहाड जान छोडेर अहिले बाख्रा पालन गर्दै आउनु भएको छ । पेश नेपालले गरेको सहयोगले देविलालको जीवन परिवर्तन भएको छ । पेश नेपालले तिलाका ४ वटा स्थानमा उन्नत जातको बोयर बोका दिएको मध्ये देविलाल पनि एउटा बोका पाउनु भएको थियो ।