बालबालिको अवस्था विश्लेषण गर्न कार्यदल गठन – Karnali News

बालबालिको अवस्था विश्लेषण गर्न कार्यदल गठन

 १८ माघ २०७८, मंगलवार १४:३९  

नौरते नेपाली, १८ जुम्ला
चन्दननाथ नगरपालिका वडा नम्बर १ देखि १० सम्म रहेका बालबालिकाको अवस्था विश्लेषण गर्नको लागि २३ सदस्यीय कार्यदल गठन गरिएको छ । चन्दननाथ नगरपालिका महिला तथा बालबालिका शाखा जुम्लाका प्रमुख माया थापाको संयोजकत्वमा २३ सदस्यीय कार्यदल गठन गरिएको हो । उक्त कार्यदलले १० वटै वडामा रहेका बालबालिकाको अवस्था विश्लेषण गरि प्रतिवेदन तयार गर्नेछ ।

तयार गरिएको प्रतिवेदनलाई सरोकारवाला निकायका बिचमा छलफल गरि नीति तथा कार्यक्रम बनाई कार्यान्वयन गरिने आयोजकले जनाएको छ । नगरपालिका भित्ररहेका बालबालिकाको वास्तविक अवस्था विश्लेषण गर्नको लागि कार्यदल गठन गरिएको हो । कार्यदल गठन कार्यक्रमको उद्घाटना सत्रमा बोल्दै चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले बाल मैत्री स्थानीय तह निर्माणका लागि नगरपालिकामा बाल हेल्थ डेस्क स्थापना गरिने बताउनु भयो । उ

हाँले भन्नुभयो, बालबालिकाको अधिकारका विषयमा सहजीकरण गर्नको लागि हेल्थ डेस्क आवश्यक रहेको छ । नगरपालिकामा लगानी कर्ताको खाचो रहेको बताउँदै उहाँले दातृ निकायसँग हातोमालो गर्न तयार रहेको सुनाउनु भयो । नगरपालिका भित्रका सबै बालबालिकाको अवस्था विश्लेषण हुने भएकाले काम गर्न र बजेट विनियोजन गर्न सजिलो हुने उहाँको बुझाइ छ ।

पछि परेका, शिक्षा क्षेत्रमा समस्या भोगेका र विपन्न बालबालिकाको अवस्थालाई जस्ताको तस्तै ल्याउन पनि उहाँले निर्देशन गर्नु भएको छ । बालबालिकाको अवस्थाका आधारमा नीति तथा कार्यक्रम निर्माण हुने भएकाले वास्तविक कुरा ल्याउन उहाँको सुझाव छ । मेयर सेजुवालले कोरोनाले गर्दा सबै भन्दा बढी शिक्षा क्षेत्रमा असर पारेको बताउदै साझेदार संस्थालाई शिक्षामा पनि काम गर्न आग्रह गर्नु भएको छ ।

बालबालिकाले कोरोनाको खोप लगाए नलगाएको कुरालाई पनि भेरीफाई गर्न कार्यदललाई उहाँले सुझाव दिनुभयो । किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक भेषवहादुर रावलले स्थानीय तहमा रहेका बालबालिकाको वास्तविक अवस्थालाई विश्लेषण गर्न खोजिएको बताउनुभयो । बालमैत्री स्थानीय तह घोषणा गर्न र बालबालिकाको क्षेत्रमा काम गर्न सहज होस भन्नको लागि अवस्था विश्लेषण गर्न लागिएको उहाँले बताउनु भयो ।

गठन भएको कार्यदलमा सहभागिहरुलाई माघ महिनाको १९ र २० गते दुईदिन तालीम दिईसकेपछि सबै वडामा पठाईने उहाँका भनाइ छ । नगरपालिका भित्रका सबै वडामा पुगेर कार्यदलले एकिन तथ्याङ्क ल्याउने रावलले बताउनु भयो । उहाँका अनुसार स्थानीय तहले बनाएको कानुन र बाल अधिकारका बारेमा गरिएको व्यवस्थाका विषयमा कार्यक्रम संचालन गर्न र नीति निर्माणमा सहयोग पुग्ने विश्वास गरेको जानकारी गराउनु भयो ।

नगरपालिका भित्र कति बालबालिका छन र उनिहरुको अवस्था कस्तो छ, यसको पहिचान हुन सकेको छैन रावलले भन्नुभयो, अवस्था विश्लेषण भइसकेपछि अब वास्तविक कुरा बाहिर आउनेछ ।

यसपछि बालबालिकाको क्षेत्रमा काम गर्न सहज हुने रावलले बताउनु भयो । वल्र्डभिजन इन्टरनेश्नल नेपालको सहयोग, चन्दननाथ नगरपालिका जुम्लाको समन्वय र किर्डाक नेपाल जुम्लाको साझेदारीमा बाल संरक्षण सम्बन्धि स्थानीय तहको अवस्था विश्लेषण गर्नको लागि कार्यदल गठन गरिएको हो । यो कार्यदलले प्रत्येक वडामा पुगेर बाल संरक्षण, बालबालिकाको अवस्था र समस्याको अवस्था विश्लेषण गर्ने जिल्ला संयोजक रावलको भनाइ छ ।