
१५ माघ, जुम्ला
यतिबेला जुम्लाका स्याउ किसान बिरुवा काटछाटमा व्यस्त छन् । स्याउका बोटबिरुवाको लागी रुखमा पालुवा लाग्न अघि यो कार्य निकै महत्वपूर्ण हुन्छ । यसरी बिरुवा काटछाट गर्दा स्याउ गुणस्तरीय र बढी स्वादिलो लाग्ने गर्दछ । यस कार्यमा अनावश्यक हागा, रोग लागेका हागा र भाग काटेर फाल्ने गरिन्छ ।
रुखमा धेरै हागा हुँदा घाम बिरुवाको भित्री भागसम्म छिर्न पाउदैन, जसले गर्दा विरुवाको प्रकाश सश्लेसणमा प्रत्यक्ष असर पुर्याउने हमाल एग्रो एण्ड रिसर्चका सञ्चालक स्याउ किसान दिपेन्द्र हमालले बताउनु भयो । उहाँले आफ्नो फार्ममा १२०० इटालियन फुजि स्याउका रेड गाला, गोल्डेन डेलिसियस, रेड डेलिसियस लगायत स्थानिय स्याउ लगाउनु भएको छ ।
उहाँले भन्नुभयो, विरुवाले आफ्नो खाना आफै बनाउँछ, जसका लागि प्रकाश आवश्यक पर्छ । प्रकाश विरुवाको भित्री भागसम्म पुग्न पाएन भने, यस प्रक्रिया अगाडि बढ्न पाउदैन । अन्त्यमा न बिरुवा बढ्छ, न फल नै पर्याप्त लाग्छ । साथै यो वर्ष आफ्नो लागी पहिलो पटक भएकोले नेट इन्टर र युट्यवको माध्यमबाट सिकेर फुजि स्याउको व्यवस्थापन गर्ने गरेको हमालले बताउनु भयो ।
यस्तै, अर्का स्याउ किसान आँखे कृषि पर्यटन तथा अनुसन्धान उद्योगका सञ्चालक सरोज शाहीले पनि बिरुवा काटछाट निकै महत्त्वपूर्ण भएको बताउनु भयो । उहाँको दस हजार वर्गमिटरको कृषि फाममा तीन हजार बढी इटालियन फुजि स्याउ रहेका छन् । यतिबेला उनी पनि आफ्नै स्याउ फाममा व्यस्त छन् । उहाँले विरुवा काटछाटमा मात्रै एक हप्ता बढी समय लाग्ने गरेको अनुभव सुनाउनु भयो ।
शाहीका अनुसार मध्य पुस मसान्त देखि माघको अन्त्यसम्म बिरुवा काटछाटको लागी उपयुक्त समय भएको बताउनु भयो । उहाँले भन्नुभयो, यतिबेला रुखबिरुवा सुषुप्त अवस्थामा रहने र बोटबिरुवामा चोटपटक लाग्ने सम्भावना पनि निकै कम हुन्छ । यो बिरुवा तयारी गर्ने समय हो । यतिबेला जति स्याहार गर्यो तेहि अनुसार पछि फल लाग्ने हो । उहाँका अनुसार बिरुवा काटछाट गर्दा स्थानिय जातका स्याउ भन्दा पनि इटालियन फुजि स्याउमा बढी ध्यान दिनुपर्ने हुन्छ ।
तिला गाउँपालिका वडा नम्बर तीनका लंक नाथ योगी पनि स्याउ किसान हुन् । यतिबेला उनी पनि दैनिक आफ्नो घर वरिपरि रहेको स्याउ बगैंचामा लगाएका १४० स्याउका रुखबिरुवा व्यवस्थापनमा व्यस्त भएको बताउनु भयो । बिरुवा कटिङ्ग गर्ने, मल हाल्ने, स्याउको रुखबिरुवा वरिपरि खनेर पानी हाल्ने, बोडो पेस्ट लगाउने जस्ता विभिन्न काम गर्ने गरेको उहाँको भनाइ छ ।
जुम्ला जिल्लालाई सरकारले अर्गानिक क्षेत्रको रुपमा घोषण गरे पनि सोही अनुसारको काम नगरेको योगीले बताउनु भयो । उहाँका अनुसार सरकारी निकायले अनुदानमा दिने विरुवा, औजार लगायतका सेवा वास्तविक किसानलाई नदिएर शक्ति र पहुँचको आधारमा दिने गरेको आरोप समेत लगाउनु भयो ।
स्थानीय जातका ठुला स्याउका रुखमा धेरै हागा हुनाले कटिङ्ग गर्न सजिलो हुन्छ । तर इटालियन फुजि स्याउको रुख सानो हुने, हागा कम हुने र बिरुवा बढी संवेदनशील हुनाले कटिङ्ग गर्न चुनौती थपिने उहाँले बताउनुभयो ।
त्यस्तै, किसानले भने इटालियन फुजि जातका स्याउ काटछाटमा प्राविधिक ज्ञान नहुदा समस्या भएको बताएका छन् । स्थानीय जातका स्याउ काटछाटमा स्थानिय प्राविधिक र जेटिएले गर्ने भएपनी इटालियन फुजिको लागी सोही प्राविधिक आवश्यक पर्ने बताए । यसका लागी उनिहरुले कृषि विकास कार्यालय र स्याउ सुपरजोन परियोजना कार्यान्वयन इकाइ सँग विशेष गरि इटालियन फुजि स्याउको लागी प्राविधिक सीप सिकाए आफुहरुको लागी सजिलो हुने बताउनुभयो ।
यता कृषि कार्यालयका प्रमुख गणेश बहादुर अधिकारीका अनुसार यो वर्ष कृषक आफैले भारतबाट ट्रेनर ल्याउने भनेकोले कार्यालयले यसपटक यस्तो खाले तालिम नराखेको बताउनु भयो । यद्यपि अर्को आर्थिक वर्ष भने यसको फुजि स्याउ काटछाट सम्बन्धि प्राविधिक तालिम प्रस्तावित कार्यक्रममा राखिने बताउनु भयो ।
जुम्ला जिल्लालाई स्याउ पकेट क्षेत्र बनाउने भनेर स्थापना गरिएको स्याउ सुपरजोन परियोजना कार्यान्वयन इकाइकी प्रमुख गंगा कुमारी पोखरेल संग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । प्रमुख पोखरेल जिल्ला बाहिर गोष्ठीको सिलसिलामा रहेकोले फोन नउठेको हुनसक्ने कार्यालयले जनाएको छ ।