
नौरते नेपाली, माघ १२ जुम्ला
चन्दननाथ नगरपालिका वडा नम्बर ८ जातिभिड गाउँमा रहेको भगवति आधारभुत विद्यालयमा सिसी क्यमेरा र इन्टरनेट जडान गरिएको छ । विद्यालय भित्र भए गरेका सबै गतिविधिको निगरानी गर्न र देश विदेशमा भएका नयाँ कुराको विद्यार्थीलाई जानकारी गराउन इन्टरनेट र सिसि क्यामेरा जडान गरिएको विद्यालयका प्रधानाध्यापक भीमवहादुर थापाले बताउनुभयो ।
शिक्षकलाई जिम्मेवार बनाउन र विद्यार्थीलाई अनुशासनमा राख्न समेत यसले मद्दत पुगेको उहाँको भनाइ छ । विद्यालयमा सिसि क्यमेरा जडान भएसँगै विद्यालयको शैक्षिक सुधार हुने अपेक्षा राखिएको व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी थापाको भनाइ छ । विद्यार्थीहरुको अनुशासन, शिक्षकहरुको नियमितता र व्यवस्थित कक्षा शिक्षणको लागि पनि सिसि क्यामेरा महत्वपूर्ण भएको विद्यालयले जनाएको छ ।
विद्यालय समयमा विद्यार्थीहरु अनुसासित भइ मेहनतका साथ पढुन र शिक्षकहरुले पनि पुरा समय उपयोग गरेर पढाउन भनेर सिसि क्यामेरा जडान गरिएको हो । विद्यार्थीका साथै शिक्षकको निगरानी, विद्यालयको भौतिक पूर्वाधारको सुरक्षार्थ सिसि क्यामरा जडान गरिएको हो । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै सिकाइ उपलब्धी दर बढाउन डिजिटल शिक्षण पद्धति सुरु गरिने विद्यालयले जनाएको छ ।
सरकारी विद्यालय प्रविधिमैत्री नबनेको र विद्यालयको शिक्षण सिकाइ प्रभावकारी नभएको गुनासो आइरहेका बेला भगवति आधारभूत विद्यालयमा भने सबै कक्षा कोठाको पढाइको एकै ठाउँबाट हेर्नको लागि सिसि क्यामेरा जडान गरिएको हो । विद्यालयका प्रधानाध्यापक थापाले भन्नुभयो, ‘परम्परागत विधिको शिक्षण सिकाइको नतिजा खासै योग्य नभएका बेला प्रविधिमैत्री सिकाइ प्रयोग गर्ने अवसर मिलेको छ ।
कम्प्युटर कक्षासँगै डिजिटल प्रविधिसँग जोडिएकोले पठनपाठन थप प्रभावकारी हुने अपेक्षा गरेको उहाँको भनाइ छ । कम्प्युटर शिक्षा पढाउनको लागि विद्यालयमा २५ वटा कम्प्युटर र १५ वटा ल्यापटप राखिएको छ । १५ जना भन्दा बढी विद्यार्थीले एकै पटक कम्प्युटर कक्षा सिक्न पाएको थापाले बताउनु भयो ।
उहाँका अनुसार प्रत्येक शिक्षकका हातहातमा १÷१ थान ल्यापटप दिईएको छ । ल्यापटपको प्रयोग गरी अध्यापन गर्दा विद्यार्थी शिक्षण सिकाइ क्रियाकलापमा उत्साहित भएको प्रधानाध्यपक थापाले बताउनु भयो । ८ कक्षासम्म पढाइ हुने विद्यालयमा ३ सय २१ जना बालबालिका अध्ययनरत छन् । कम्प्युटर कक्षा ३ देखि कक्षा ८ सम्म अध्यापन गराइन्छ ।
विद्यालयमा डिजिटल शैक्षिक साम्रगी सहितको ल्यापटप, उपयुक्त फर्निचर र आउदा दिनमा डिजिटल बोर्ड उपकरण जडान गर्ने उक्त विद्यालयको तयारी छ ।
विद्यालयमा इन्टरसेवा पनि जडान
वैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थीहरुको सिकाइ सहजीकरण गर्ने उद्देश्यले भगवति आधारभुत विद्यालयले इन्टरनेट सेवा जडान गरेको छ । विद्यार्थीहरुलाई प्रविधिमैत्री र वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइमा सहजता ल्याउनका लागि इन्टरनेट सेवा जडान गरिएको हो । सिम्पल इन्टिलजेन्ट स्टिम एण्ड टेक्नोलोजिबाट इन्टरनेट सेवा जडान गरि सुचारु गरिएको प्रअ थापाले बताउनु भयो ।
कोरोना महामारीबाट प्रभावित भएको शिक्षा क्षेत्रलाई वैकल्पिक विधिबाट पठनपाठन सुचारु गर्न विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको प्रधानाधपम थापाले बताउनु भयो । इन्टरनेट सेवा प्रयोग गरेबापत मासिक शुल्क भने विद्यालय स्वयंले सिम्पललाई बुझाउने गरि सेवा जडान गरिएको उहाँको भनाइ छ ।
उम्गाडबाट जातिभिडसम्म झण्डै ४ हजार मिटर लामो दुरीमा तार तानेर इन्टरनेटको फाईबर सेवा सुचारु भएको थापाले बताउनु भयो । इन्टरनेटको सुविधा भएपछि विद्यार्थीहरुको पठनपाठनमा सहजता हुने मात्र होइन्, विद्यालयको प्रशासनिक कामकाज पनि छिटोछरितो र सहज हुने विश्वास गरिएको छ । इन्टरनेट सेवाले शिक्षकको क्षमता अभिवृद्धि र शैक्षिक गुणस्तरमा समेत वृद्धि हुने शिक्षकहरुको दावी छ ।