कर्मचारी व्यवस्थापन पछि मालपोतलाई सेवा प्रवाहमा सहज – Karnali News

कर्मचारी व्यवस्थापन पछि मालपोतलाई सेवा प्रवाहमा सहज

 ६ माघ २०७८, बिहीबार १७:४०  

नौरते नेपाली, माघ ६ जुम्ला
स्थानीय तहले कर्मचारी व्यवस्थापन गरेपछि मालपोत कार्यालय जुम्लालाई सेवा प्रवाहमा सहज भएको छ । कर्मचारीको अभावले सेवा प्रवाहमा समस्या झेल्दै आएको उक्त कार्यालयलाई अब सेवा प्रवाहमा सहज भएको हो । जुम्लाका ३ वटा स्थानीय तहले मालपोत कार्यालय जुम्लालाई कर्मचारी व्यवस्थापनमा सहयोग गरेका छन् ।

असाधै कामको चाप हुने कम्प्युटर शाखामा कनकासुन्दरी, सिंजा गाउँपालिका र चन्दननाथ नगरपालिका जुम्लाले अनलाईनमा काम गर्न कर्मचारी पठाई दिएको हुनाले काममा सहज भएको कार्यालय प्रमुख नरेन्द्रवहादुर रोकायाले बताउनु भयो । उहाँका अनुसार सिंजा गाउँपालिका जुम्लाले विष्णुवहादुर शाहीलाई नियुक्ति गरि मोलपोतमा कामकाजको लागि पठाई सकेको बताउनु भयो ।

रोकायाले भन्नुभयो, कनुकासुन्दरी गाउँपालिकाले विनीता भण्डारी र चन्दननाथ नगरपालिकाले सृष्टि बुढथापालाई अनलाईन सम्बन्धि कामकाज सिक्नको लागि पठाई सकेका छन् ।

मोलपोत कार्यालयमा आएका स्थानीय तहका कर्मचारीले आफ्नै स्थानीय तहको जग्गा सम्बन्धिको काम गर्ने रोकायाले बताउनु भयो । उहाँका अनुसार आफ्नो स्थानीय तहको काम गरि सकेपछि ति कर्मचारीले बचेको समय मालपोत कार्यालयको काममा पनि सहयोग गर्ने जानकारी गराउनु भयो ।

मालपोत कार्यालयमा भएका कर्मचारीले जग्गा सम्बन्धिको सबै काम गर्न नभ्याइने भएकाले स्थानीय तहलाई कर्मचारी पठाई दिन गरिएको आग्रह अनुसार हाल तिनवटा स्थानीय तहले कर्मचारी पठाई दिएका छन् । पातारासि गाउँपालिका जुम्लाले पनि आफ्नै स्थानीय तहको कामकाज गर्ने गरि कर्मचारी पठाई दिने बचन दिइ सकेको उहाँले बताउनु भयो ।

मालपोत कार्यालयले संकलन गरेको राजश्व मध्ये ६० प्रतिशत सम्बन्धित स्थानीय तह र ४० प्रतिशत राजश्व प्रदेशमा पठाउने गरिएको रोकायाले बताउनु भयो । उहाँका अनुसार संकलन भएको सबै राजश्व स्थानीय तहमा पठाइने भएकाले काममा सहजता गर्न स्थानीय तहलाई कर्मचारी व्यवस्थापन गरि दिन आग्रह गरिएको बताउनु भयो ।

मालपोत कार्यालयमा आएका नयाँ कर्मचारीहरुले सम्बन्धित स्थानीय तहको काम गर्ने रोकायाले बताउनु भयो । अनलाईनमा काम गर्ने कर्मचारीको व्यवस्थापन भएबाट कामकाजमा धेरै सहजता भएको उहाँले बताउनु भयो । कर्मचारी थपिएबाट अहिले कार्यालयको कार्यलोडमा सहज भएको रोकायाको भनाइ छ ।

पहिले एक जना मात्रै कर्मचारीबाट अनलाईन सम्बन्धि काम हुने गरेको थियो । कार्यालयमा अहिले अहिले कर्मचारी व्यवस्थापन पूर्ण रुपमा भएको छ ।

इन्टरनेटको लिज लाइन जोड्ने तयारी
मालपोत कार्यालय जुम्लामा जडान गरिएको वल्र्डलिंगको इन्टरनेटले राम्रोसँग काम नगर्दा सेवा प्रवाहमा समस्या भएको छ । अनलाईनबाट काम हुने भएकाले इन्टरनेटको समस्याले गर्दा भनेकै समयमा सेवा प्रवाह गर्न समस्या भएको हो । उक्त इन्टरनेट सेवाले राम्रोसँग काम नगरेपछि नेपाल टेलिकम शाखा जुम्लाबाट लिज लाइन जडानको तयारी भएको कार्यालयले जनाएको छ ।

इन्टरनेटको समस्याले गर्दा भनेकै समयमा जग्गाको रजिष्ट्रेसशन र नामसारी लगायतका कामहरुमा ढिलासुस्ती भएको कार्यालय प्रमुख रोकायाले बताउनु भयो । वल्र्डलिंगको इन्टरनेट सेवाले राम्रोसँग काम नगरेको हुनाले सेवा प्रवाहलाई छिटो र छरितो गर्नको लागि नेपला टेलिकम शाखा जुम्लाबाट इन्टरनेटको लिज लाईन जडानको तयारी अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।

इन्टरनेट सेवामा सुधार भएपछि मालपोत कार्यालयबाट दिइने सेवा भनेकै समयमा दिन सकिने रोकायाले जानकारी गराउनु भयो । विजुलीको समस्याले गर्दा इन्टरनेट सेवा बन्द हुने भएकाले आदा काम गर्दा गर्दै विजुली गएमा उक्त काम फेरीबाट गर्नु पर्ने हुँदा समय धेरै लाग्ने गरेको छ । कार्यालयमा जडान गरिएको सोलार स्टीमले राम्रोसँग काम नगर्दा सेवाग्राहीलाई कुराउनु परेको कार्यालय प्रमुख रोकायाको भनाइ छ ।

विजुली र इन्टरनेट सेवा नियमित भएमा सेवा लिन आएका उपभोक्तालाई कुराउनु पर्ने अवस्था नहुने उहाँले जानकारी गराउनु भयो