विपद् प्रतिकार्यका लागि सेना निर्माण हुदैछन् ः अध्यक्ष न्यौपाने – Karnali News

विपद् प्रतिकार्यका लागि सेना निर्माण हुदैछन् ः अध्यक्ष न्यौपाने

 ४ माघ २०७८, मंगलवार १३:५०  

नौरते नेपाली, माघ ४ जुम्ला
तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नवराज न्यौपानेले विपद् प्रतिकार्यका लागि सेना निर्माण हुन लागेको बताउनु भयो । तातोपानी गाउँपालिका भित्रका २४ जनाले विपद् प्रतिकार्यको तालिममा सहभागी भएकाले सेना निर्माण हुन लागेको उहाँले बताउनु भएको हो । विपद् प्रतिकार्यका लागि सामुदायिक पहल सम्बन्धि चार दिने तालिमको उद्घाटन सत्रमा मंलबार बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्ष न्यौपानेका अनुसार तालिमले विपद् प्रतिकार्यको लागि सेना निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा सहभागि भएकाहरुले प्राविधिक ज्ञान हासिल गरि विपद्लाई कम गर्ने उहाँले जानकारी गराउनु भयो । विपद्का विषयमा सबै सचेत हुनु पर्ने भन्दै उहाँले गएको असोज अन्तिम र कार्तिक पहिलो साता भएको बेमौसमी वर्षाले ठुलो क्षति गरेको स्मरण गराउनु भयो । विपद् जति बेला पनि आउ सक्ने भएकाले सबै सचेत हुनु पर्ने उहाँको भनाइ छ ।

अध्यक्ष न्यौपानेले किर्डाक नेपाल जुम्लाले विपद् प्रतिकार्यको लागि सेना निर्माण गर्नको लागि प्रति धन्यवाद व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, विपद् कति बेला आइपर्छ भन्न सकिन्न यसको लागि पूर्व तयारी र प्राविधिक सीपको आवश्यक छ । स्थानीय स्तरबाट नै विपद्का बारेमा समुदायलाई जानकारी भएमा विपद् प्रतिकार्यका लागि सहयोग पुग्ने अध्यक्ष न्यौपानेको भनाइ छ ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले विपद् प्रतिकार्यको लागि सीपको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । सबै निकायको सक्रियतामा विपद्लाई कम गर्न सकिने उहाँको विश्वास छ । रिजालका अनुसार मानव निर्मित भौतिक संरचनाले गर्दा भविष्यमा समस्या हुने भएकाले संरचना निर्माण देखि नै ध्यान दिन सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, वातावारण मैत्री विकासमा ध्यान दिनुपर्दछ । विपद् प्रतिकार्यका लागि आयोजना गरिएको तालीमले स्थानीय स्तरमा हुने विपद्का घटना न्युनिकरणमा सहयोग पुग्ने उहाँको बुझाइ छ । विपद् आउनु पूर्वको तयारी, उद्दार र राहतको लागि विशेष ध्यान दिनु पर्ने उहाँले बताउनु भयो ।

मर्सिकोर नेपाल जुम्लाका क्लस्टर प्रमुख प्रकास केसीले विपद् र खाद्य सुरक्षाका क्षेत्रमा संस्थाले काम गर्दै आएको बताउनु भयो । विपद् जोखिममा रहेका घरपरिवारलाई सहयोग गर्ने हेतुले कर्णाली प्रदेशका ५ र सुदुरपश्चिमका १ वटा जिल्लामा मर्सिकोर नेपालले काम गर्दै आएको उहाँले जानकारी गराउनु भयो ।

केसीका अनुसार समुदाय स्तरमा विपद् सम्बन्धि क्रियाकलाप संचालन गरि मर्सिकोरले सहयोग गर्दै आएको अवगत गराउनु भयो । विपद्मा परेका समुदायका घरपरिवालाई खाद्य सुरक्षामा सुनिश्चित गर्ने काम भकारी परियोजना गर्दे आएको उहाँको भनाइ छ ।

समुदाय स्तरमा विपद् प्रतिकार्य सम्बन्धि सचेतना अभिवृद्घि गर्ने, पालिका क्षेत्रमा हुन सक्ने विभिन्न प्रकारका विपद्हरुलाई न्यूनिकरण गर्ने लगायतका उद्देश्यले चारदिने सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु भएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम संयोजक महेन्द्रजंग शाहीले बताउनु भयो ।

संभावित विपद् जोखिमका बारेमा सचेतना अभिबृद्धि गर्ने, विपद्, जोखम न्यूनीकरका उपायहरुका बारेमा जानकारी गराउने तथा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ तालिमको सुरु गरिएको उहाँको भनाइ छ । तातोपानी गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिमा आवद्ध भएकाहरुलाई विपद् प्रतिकार्यका बारेमा प्राविधिक सहयोग गर्ने उद्देश्य रहेको उहाँले सुनाउनु भयो ।

तालीम संयोजक खगेन्द्रराज जैसीले विपद्को वर्गीकरण, विपद् उद्घार कार्यमा निर्माण गर्ने भूमिका, क्षमता, विपद्मा प्राथमिक उपचार, बाढी, पहिरो, आगो, डढेलो नियन्त्रण भूकम्प लगायतका बारेमा जानकारी गराइने बताउनु भयो । उहाँका अनुसार विपद्को २४ देखि ७२ घण्टासम्मको अवधिलाई सुनौलो समय भनिएकाले यतिबेला उद्दार गर्न सकेमा मानवीय क्षतिलाई कम हुनबाट बचाउन सकिने बताउनु भयो ।

विपद् आई सकेपछि कसरी सुरक्षित राख्ने, औषधि उपचारको बन्दोबस्त र प्रतिकार्यका लागि मद्दत गर्ने लगायतका विषयमा चार दिनसम्म छलफल हुने उहाँको भनाइ छ । उक्त तालिममा तातोपानी गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिका २४ जनाको सहभागिता रहेको छ ।

USAID को आर्थिक सहयोग, मर्सिकोर नेपालको अगुवाई, किर्डाक नेपाल जुम्लाको साझेदारीमा संचालित भकारी परियोजना जोखिम न्युनिकरण अन्तर्गत विपद् प्रतिकार्यका लागि समुदायिक पहल सम्बन्धि चार दिने तालिमको आयोजना गरिएको हो । हालको तिलाको २० र तातोपानीको १२ वटा वस्तीमा विपद् सम्बन्धि कार्यक्रमा संचालन भइरहेको किर्डाक नेपाल जुम्लाले जनाएको छ ।