
कालीवहादुर परियार, पुष २८ जुम्ला
नौरते नेपालीको अध्यक्षतामा प्रेस चौतारी नेपाल जुम्लाको ३० सदस्यीय जिल्ला कमिटी सोमबारका दिन जुम्लामा गठन भएको छ । उपाध्यक्षमा हरिकृष्ण महत, महिला समावेशी उपाध्यक्षमा सपना रावत, सचिवमा अमरनाथ योगी, कोषाध्यक्षमा एनिसा हमाल, उपसचिवमा हिरवहादुर रोकाया र समावेशी उपसचिवमा भवगती शाही लगायत ३० सदस्यीय प्रेस चौतारी नेपाल जुम्लाको जिल्ला कमिटी गठन गरिएको हो ।
यस्तै जुम्लाका ८ वटै स्थानीय तहमा समेत प्रेस चौतारीको पालिका स्तरीय चौतारी पनि गठन गरिएको छ । चन्दननाथ नगरपालिकाको संयोजकमा हरिस रोकाया, तातोपानीमा गोरख रावत, तिलामा मदनकुमार शाही, हिमामा तिर्थवहादुर अधिकारी, सिंजामा जनक बुढा, कनकासुन्दरीमा रामसिंह कामी, पातारासिमा शंकर बुढा र गुठीचौर गाउँपालिकामा अंगत बुढा संयोजकमा चयन हुनु भएको छ ।
प्रत्येक पालिका स्तरको संयोजकको संयोजकत्वमा १० सदस्यीय चौतारीको पालिका स्तरको कमिटी गठन गरिएको हो । चौतारीको जिल्ला अधिवेशनमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज रतननाथ योगीले कपि पेष्टको पत्रकारीता अन्त्य हुनु पर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार पत्रकारीता पेशालाई मर्यादित बनाउदै अरुको भन्दा फरक तवरले चौतारीमा आवद्ध पत्रकारलाई समाचार लेख्न आग्रह गर्नुभयो । पत्रकारले सहि मार्ग देखाउने भएकाले कसैको पछि लागेर लेखिने समाचारले पत्रकारीता पेशाको मापन हुने उहाँको भनाइ छ । नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य तथा पूर्वराज्य मन्त्री बलवहादुर महतले नेकपा एमाले भित्र भएको गलत कुरालाई खुलस्त रुपमा बाहिर ल्याई दिन अनुरोध भएको छ ।
पत्रकारीताको धर्मलाई बिर्सेर पार्टीको विषयमा लेख्ने व्यक्ति असल पत्रकार हुन नसक्ने महतले ठाकुवा गर्नुभयो । नेकपा एमाले जुम्लाका पार्टी अध्यक्ष शान्तिलाल महतले प्रेस चौतारी नेपालमा आवद्ध भएका पत्रकारहरुले पार्टीका गलत कुरालाई सबैका बिचमा ल्याइ दिन आग्रह गर्नुभयो । पत्रकार पार्टीको नभई पछि परेका वर्गको पक्षमा हुनु पर्ने उहाँको भनाइ छ ।
अध्यक्ष महतले खराब प्रवत्ति र गलत कार्यका विरुद्धमा कलम चलाउन आग्रह गर्नु भएको छ । वर्तमान गठबन्धन सरकारले एक पछि अर्को गलत कार्य गर्दै गएको भन्दै अध्यक्ष महतले पत्रकारले त्यता पनि ध्यान दिनु पर्ने बताउनु भयो । नेकपा एमाले जुम्लाका पार्टी उपाध्यक्ष सुरतवहादुर शाहीले पत्रकारहरु निष्पक्ष हुनु पर्ने बताउनु भयो ।
उहाँका अनुसार पत्रकारले पार्टीको गुनगान होइन गरिब र पछि पारिएको समुदायको पक्षमा बोल्नु पर्ने जानकारी गराउनु भयो । पत्रकारको धर्मलाई आत्मसाथ गर्दै कलम चलाउन उहाँले अनुरोध गर्नु भएको छ । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य नवराज महताराले पत्रकार बिम्ब हुनु पर्ने बताउनु भयो ।
संस्कार स्थापित गराउने पक्षमा पत्रकारहरुको कलम चल्नु पर्ने उहाँको भनाइ छ । महताराका अनुसार पत्रकारीता पेशाबाटै समाज रुपमान्तरण गर्न संभव रहेको दाबी गर्नुभयो । मोफसलमा रहेका पत्रकारहरुलाई जीवन निर्वाह गर्न गाह्रो हुने भएकाले राज्यले न्युनतम पारिश्रमिक उपलब्ध गराउने विषयमा गम्भिर भएर सोच्नु पर्ने उहाँको भनाइ छ । प्रेस चौतारी नेपालका अर्का केन्द्रिय सदस्य प्रेमराज खिमखाडाले पत्रकारले जहिले पनि छायामा परेको वर्ग र व्यक्तिका विषयमा बोल्ने र लेख्ने गरेको सुनाउनु भयो ।
पत्रकारीताका माध्यमबाट समाज परिवर्तनको दिशमा गएको उहाँको भनाइ छ । यसैबिच, प्रेस चौतारी नेपाल जुम्लाका नवनिर्वाचित पदाधिकारीहरुलाई नेकपा एमाले जुम्लाले मंगलबारका दिन सम्मान गरेको छ । तेस्रो जिल्ला अधिवेशनबाट सर्वसहमितमा चयन भएको प्रेस चौतारी नेपाल जुम्लाको पदाधिकारीलाई नेकपा एमाले जुम्लाले सम्मान गरेको हो ।