सामाजिक विकास कार्यालयले गर्ने कामका बारेमा अन्तरक्रिया – Karnali News

सामाजिक विकास कार्यालयले गर्ने कामका बारेमा अन्तरक्रिया

 २० पुष २०७८, मंगलवार ०७:५८  

एनिसा हमाल, पुष २० जुम्ला
सामाजिक विकास कार्यालय जुम्लाले प्रत्येक स्थानीय तहका महिला तथा बालबालिका शाखा र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख र सरोकारवालासंग सोमबारका दिन जुम्ला सदरमुकाममा अन्तरक्रिया गरेको छ । सामाजिक विकास कार्यालयका कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने र स्थानीय तहसंग कसरी समन्वय गरेर जाने भन्ने विषयमा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइले संघियता पछि सबैभन्दा महिला बालबालिका र ज्येष्ठ नागरिक ओझेलमा परेको बताउनु भयो । उनिहरुका हकअधिकार सुनिश्चिताको लागि कुनै पनि स्थानीय तहले त्यति काम नगरेको उहाँले बताउनु भयो । संघियता पछि विशेष वर्गका लागि काम गर्ने सबै शाखाहरु स्थानीय तहमा छन ।

प्रसाइले भन्नुभयो प्रत्येक स्थानीय तहले जिम्मेवारी पुर्वक काम गर्न सके पहिले भन्दा धेरै राम्रो काम हुनुपर्ने हो तर कुनै पनि स्थानीय तहले त्यसतर्फ ध्यान नै दिएको देखिदैन । संघियता पछि विकास भनेको डोजर खन्ने मात्र हो ? भन्ने बुझाइ भएकाले विशेष वर्ग प्रथामिकतामा नपरेको उहाँले बताउनु भयो ।

जुम्लाम अहिले पनि बालविवाहको अवस्था भयावह छ उहाँले भन्नुभयो संघसंस्था बाहेक कुनै पनि स्थानीय तहले त्यसतर्फ चोसो देखाएको छैन । अहिले बालबालिकाको लागि कोरोना विरुद्धको मोर्डना खोप चलिरहेकोमा लक्ष्य अनुसार खोप खपत हुन नसकेको उहाँले बताउनु भयो । विद्यालय स्तरका बालबालिकालाई लगाइने खोप भएकाले प्रत्येक शिक्षा शाखाले यसबारे ध्यान दिन प्रजिअ प्रसाइले बताउनु भयो ।

यस्तै जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कार्मा बुढाले जिल्लामा एउटा मात्र भएको सेफ हाउसलाइ कुनै पनि स्थानीय तहले सहयोग नगरेको बताउनु भयो । जिल्लाका सबै स्थानीय तह लगायत अन्य छिमेकि जिल्लाका हिंसामा परेका महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्ने एउटा मात्र सेफ हाउस भएकाले सबैले सहयोग गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

संघियता पछि केहि काम नै भएको छैन त भन्न मिल्दैन बुढाले भन्नुभयो सबैलाइ समेटेर काम हुनुपर्यो । विकास गर्ने, सबै ठाउँमा बाटो पुराउने भन्दैमा विशेष वर्गको हक अधिकारलाइ ओझेलमा पार्न नहुने उहाँले बताउनु भयो । सामाजिक विकास कार्यालयका सामाजिक विकास अधिकृत तुलराज चौलागाइले यस कार्यालयमा शैक्षिक, युवा तथा खेलकुद र सरम रोजगारका कार्यक्रम रहेको जानकारी गराउनु भयो ।

सबै पालिकाबाट आएका सुझाव संकलन गर्ने र सबैसंग समन्वय गरेर कार्यक्रमहरु गर्ने पनि उहाँले बताउनु भयो । सामाजिक विकास कार्यालयबाट संचालन हुने कार्यक्रमहरु प्रभावकारी रुपले संचालन गर्नका लागि सबै पालिकासंग अन्तरक्रिया गरिएको चौलागाइले जानकारी गराउनु भयो । उहाँका अनुसार महिला, बालबालिका, दलित र जेष्ठ नागरिकका कार्यक्रमहरु पनि सामाजिक विकास कार्यालयमा रहेको जानकारी गराउनु भयो ।