
नौरते नेपाली, पुष १४ जुम्ला
जुम्ला लगायतका साविकका कर्णालीका ५ जिल्लामा सोमबार राति देखि हिमपात भएको छ । जुम्लामा भने पहिलो पटक हिमपात भएको हो । हिमपातसँगै अत्याधिक चिसो बढेको छ । चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण स्थानीयबासी घरबाहिरको काममा निस्कन सकेका छैनन् ।
सोमबार रातिदेखि जुम्लामा हिमपात शुरु हुन थालेपछि यातायात, शैक्षिक संस्था र हवाई सेवा प्रभावित भएका छन् । चिसोले बालबालिका, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन । जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट जतिहिउँ परेको छ भने बेसीतिर झण्डै आदा फिटभन्दा बढी हिउ जमेको छ । डाडाँकाडा सेप्ताम्बे भएका छन् ।
हिउँ पर्दा किसान खुसी
सोमबार रातिदेखि लगातार परेको हिमपातले सबैभन्दा बढी खुसी किसानलाई बनाएको छ । सुख्खा मौसममा यसरी हिउँ पर्नुले हिउँदे बाली जौ, गहुँ, उवा राम्रो हुन्छ । सबैभन्दा राम्रो वर्षामा हुने फलफूल हुन्छन् । हिउँदमा हिउँ बढी प¥यो भने आरू, ओखर, स्याउ, नास्पाती लगायत जुम्लीलाई धेरै लाभ दिने फलफूललाई आवश्यक पर्ने पानी पूर्ति हुन्छ ।
फलस्वरूप फलफूल राम्रा हुन्छन् र किसानले मनग्ये आम्दानी लिन्छन् । यसरी फलफूल र बालीनाली मात्र नभई वनमा हुने अत्यन्तै लाभदायक गुच्ची च्याउ पनि हिउँदमा बढी हिउँ परेपछि बढी पाइन्छ भने पाटनमा हुने महंगो जीवनबुटी यार्सागुम्बा बढी मात्रामा हुनु पनि हिउँसँगैको साइनो हो । त्यसैले हिउँको सामाजिक, सांस्कृतिक तथा कृषि उत्पादन प्रणालीमा ठूलो महिमा र महत्व छ ।
प्रशासनले चोकचोकमा दाउरा उपलब्ध गरायो
हिमपात सँगैको चिसोले जनजीवन प्रभावित भएको छ । चिसोबाट सुरक्षित रहनको लागि स्थानीय प्रशासनले चोकचोकमा दाउरा उपलब्ध गराएको छ । जुम्लाको विजयनगर, कृष्णमन्दिर, कालेखोलि र बजारका अन्य चोकमा दाउरा उपलब्ध गराईएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइले बताउनु भयो ।
उहाँका अनुसार हिमपातको बेला नागरिकको सुरक्षामा खटिएका प्रहरी र नागरिक जम्मा हुने स्थानमा दाउरा फालिएको बताउनु भयो । डिभिजन वन कार्यालयले दाउरा सहयोग गरेको हो भने नगरपालिकाले सवारी साधन उपलब्ध गराएपछि स्थानीय प्रशासनले चोकचोकमा दाउरा फालेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रसाईले चिसोले विभिन्न प्रकारका घटनाहरु हुनसक्ने भएकाले सुरक्षित हुन आग्रह गर्नु भएको छ । प्रशासनले विहानै देखि जिल्ला भरी हिमपात भईरहेकाले बाटो चिप्लो भएकाले सडक सवारी सधान संचालन गर्न सुझाव दिएको छ । चिसोमा ज्येष्ठ नागरिक र वालवालिकालाई अनाआवश्यक काम बाहेक लामो यात्रामा नहिड्न अनुरोध गरिएको प्रसाईले बताउनु भयो ।