फोहोर व्यवस्थापनमा पूर्ण रुपमा सहयोग गर्ने प्रजिय प्रसाइको प्रतिवद्धता – Karnali News

फोहोर व्यवस्थापनमा पूर्ण रुपमा सहयोग गर्ने प्रजिय प्रसाइको प्रतिवद्धता

 १३ पुष २०७८, मंगलवार ०८:३५  

नौरते नेपाली, पुष १३ जुम्ला 
चन्दननाथ नगरपालिका भित्रको फोहोर व्यवस्थापनमा पूर्ण रुपमा सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले प्रतिवद्धता गर्नु भएको छ । नगरपालिकाले थालेकाे सफा नगर अभियानमा प्रहरी प्रशासनले पूर्ण रुपमा सहयोग गर्ने उहाँले बताउनु भयो । सोमबारका दिन चन्दननाथ नगरपालिका जुम्लाले आयोजना गरेको सरोकारवाला निकायसँगको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रसाईले सफा र स्वच्छ नगरपालिका बनाउने विषयमा सबै निकायका बिच सहकार्य र समन्वय आवश्यक रहेको बताउनु भयो । नगरपालिकाले नियमित रुपमा फोहोर उठान सुरु गरेबाट बजार सफा देखिन थालेको उहाँको भनाइ छ । फोहोर व्यवस्थापनको कार्यमा चासो र अगुवाई गरेकोमा उहाँले नगरपालिकालाई धन्यवाद समेत दिनु भएको छ ।

नगरपालिकाको पहिचानसँग जोडिएको सरसफाईको विषयलाई सबैले सहयोग गर्नु पर्ने उहाँको सुझाव रहेको छ । एक फरक प्रशंगमा उहाँले उपभोक्ताको कामलाई सहज गराउन मालपोत कार्यालयमा कम्प्युटर सम्बन्धि जानकारी भएको कर्मचारी पठाउन आग्रह गर्नु भएको छ । लाखौँ रुपैयाँ कर संकलन हुने कार्यालयमा नगरपालिकाले कर्मचारी पठाउनु पर्ने उहाँको सुझाव छ ।

मालपोत कार्यालयमा जनशक्तिको अभावले भनेकै समयमा काम हुन नसकेको भन्दै उहाँले काममा सहता गराउन कर्मचारी पठाउनु पर्ने जानकारी गराउनु भएको हो । फोहोर व्यवस्थापनका विषयमा चन्दननाथ नगरपालिकाले सरोकारवाला निकायसँग सोमबारका दिन छलफल गरेको छ । नगरभित्रको फोहोर व्यवस्थापनमा सक्रिय रहेको नगरपालिकाले सरोकारवाला निकायसँग छलफल गरेको हो ।

नगरपालिकाले दिर्घकालिन रुपमा फोहोर व्यवस्थापन कार्य चन्दननाथ नगरपालिकाकाे वडा नम्बर २ मा रहेको दुनादुनैमा गर्दै आएको छ । बजारको फोहोर उठान सुरु भएबाट अहिले जुम्ला बजार सफा हुँदै गएको छ । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरुसँग फोहोर व्यवस्थापनका विषयमा घनिभूत रुपमा छलफल भएको चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकिय अधिकृत क्षेत्रवहादुर बुढथापाले बताउनु भयो ।

उहाँका अनुसार बजारको फोहोर व्यवस्थापन कार्यमा सबै निकायलाई सहयोग गर्न आग्रह गर्नु भएको छ । फोहोर उठाउने कार्यमा नगरपालिका भित्रका १÷२ स्थानमा समस्या हुने भएकाले प्रहरी प्रशासनलाई सहयोग गर्न उहाँले आग्रह गर्नु भएको छ । नगरपालिका भित्रको फोहोर व्यवस्थापनको कार्य भइ सकेपछि सवारी सधान पार्किङ्ग गर्ने विषयमा पनि छलफल हुने बुढथापाले बताउनुभयो ।

उहाँका अनुसार स्वच्छ र सफा नगर, हामी सबैको रहर भन्ने मुल उद्देश्यका साथ नगरपालिका फोहोर रहित अभियानमा सक्रिय रहेको बताउनु भयो । सदरमुकाममा रहेका सरोकारवाला निकायलाई एकिकृत रुपमा आ–आफ्नो तहबाट सहयोग र समन्वय गरिदिन बुढथापाले अनुरोध गर्नु भएको छ ।

नगरपालिका भित्र सवारी साधान व्यवस्थापनको लागि नगरपालिकाले स्थान छनोट गरी जानकारी गराउने, सूचना प्रशारण तथा प्रकाशन गर्ने र जिल्ला ट्राफिक कार्यालय जुम्लालाई व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय भएको चन्दननाथ नगरपालिका जुम्लाका कार्यालय प्रवक्ता लक्ष्मी न्यौपानेले बताउनुभयो । उहाँका अनुसार घर बहाल घर बुझाउन आन्तरिक राजश्व कार्यालयमा पुगेका नगरबासिलाई नगरपालिकामा पढाई दिन आग्रह गरिएको बताउनु भयो ।