
एनिसा हमाल, पुष ११ जुम्ला ।
प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस जुम्लामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सभ्य नागरिकको पहिचान, ज्येष्ठ नागरिकको सम्मान भन्ने मुल नाराका साथ ज्येष्ठ नागरिक दिवस मनाइएको हो । दिवसका अवसरमा शुभकामना दिदै प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाइले सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य र दिर्घायुको कामना गर्नुभएको छ ।
जीवनको उत्तराद्र्धमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै पालन पोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु सबैको कर्तव्य भएको उहाँले बताउनु भयो । बृद्धबृद्धाका लागि विभिन्न ठाउँमा बृद्धाश्रम खोल्ने प्रचलन रहेकाले बृद्धाश्रम खोल्नुको साटो छोराछोरीलाई जिम्मेवार बनाउनु पर्ने प्रसाइले बताउनु भयो ।
आफ्ना आमाबुवाको रेखदेख नगर्ने छोराछोरीलाई कारबाहीको व्यवस्था गर्न सके बृद्धाश्रमको आवश्यकता नपर्ने उहाँले बताउनु भयो । राज्यले ज्येष्ठ नागरिकका लागि सम्मान र संरक्षणको व्यवस्था गरे पनि घरपरिवारबाट उनिहरुले साथ र माया नपाएको उहाँले बताउनु भयो । ज्येष्ठ नागरिकको अधिकार सुनिश्चितताको लागि आफुले सक्दो सहयोग गर्न तयार रहेको प्रमुख जिल्ला अधिकारी प्रसाइले जानकारी गराउनु भयो ।
हाल सम्म कोहि ज्येष्ठ नागरिकले नागरिकता नबनाएको भए खबर गरे घरमै गएर नागरिकता दिने व्यवस्था गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । चन्दननाथ नगरपालिका जुम्लाका निमित्त प्रमुख प्रसासकिय अधिकृत क्षेत्र बहादुर बुढ्थापाले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता समयमै उपलब्ध गराउने बताउनु भयो । नयाँ पुस्ताले पुराना पुस्ताबाट केहि सिक्न आवश्यक रहेकाले ज्येष्ठ नागरिकले गर्ने सम्पूर्ण क्रियाकलाप समाज संग जोडिनु पर्ने उहाँले बताउनु भयो ।
राज्यले दिएको सेवा सुविधा ज्येष्ठ नागरिक आफैले उपभोग गर्न नपाएकोमा दुःख लाग्ने गरेको बुढथापाले बताउनु भयो । सरकारले दिएको सेवा सुविधाले मात्र नपुग्ने भएकाले घर र समाज बाटै उनिहरुलाई माया र सम्मान दिनुपर्ने बुढ्थापाको भनाइ छ । यस्तै ज्येष्ठ नागरिक संघ जुम्लाका कार्यवहाक सभापति तुलाराम न्यौपानेले राज्यले दिएको सामाजिक सुरक्षा भत्ता बाहेक अरु कुनै पनि सेवा सुविधा नपाएको गुनासो गर्नुभयो ।
यातायात, अस्पताल, बैंक हरेक ठाउँमा सकि नसकि लाइन बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो । हरेक सरकारी कार्यालयहरुले दिने सेवा ज्येष्ठ नागरिक मैत्री हुनुपर्ने न्यौपानेको भनाइ छ । दिवसको अवसरमा ज्येष्ठ नागरिकसंघ क्षेत्रलाई धुम्रपान रहित क्षेत्र घोषणा गरिएको छ । सके सम्म सबै सार्वजनिक क्षेत्र धुम्रपान रहित हुनुपर्ने भन्दै ज्येष्ठ नागरिक संघ क्षेत्रलाई धुम्रपान रहित क्षेत्र घोषणा गरिएको हो ।
सरकारले हरेक वर्षको पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको छ । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा विभिन्न क्षेत्रबाट ज्येष्ठ नागरिकलाई सहयोग गर्ने सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाइ, गणपति गगन श्रेष्ठ, प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्द, चन्दननाथ नगरपालिका जुम्लाका निमित्त प्रमुख प्रसासकिय अधिकृत क्षेत्र बहादुर बुढ्थापा,
विविसि संवाददाता कृष्णमाया उपाध्याय, वडा नम्बर ५ का वडाध्यक्ष अर्जुनसिहं कठायत र चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतलाई खादा लगाएर सम्मान गरिएको थियो । महा ज्येष्ठ नागरिक २ जना ९९ वर्षिया धर्मशिला बुढ्थापा र ९१ वर्षिय मुनबहादुर रोकायालाइ एउटा बलाङकेट र १ डिब्बा हरिलिक्स सहित खादा लगाएर सम्मान गरिएको थियो ।