तिलाका विपद् र कोभिड प्रभावितलाई भ्यालु भौचर वितरण – Karnali News

तिलाका विपद् र कोभिड प्रभावितलाई भ्यालु भौचर वितरण

 १० पुष २०७८, शनिबार १७:१६  

नौरते नेपाली, पुष १० जुम्ला
जुम्लाको तिला गाउँपालिकाका विपद् तथा कोभिड प्रभावित र विपन्न परिवारले भ्यालु भौचर प्राप्त गरेका छन् । अति विपन्न, गरिब तथा असहायको लागि समाजिक संस्था किर्डाक नेपालले रासन, भाँडावर्तन र लत्ताकपडाको लागि भ्यालु भौचर (प्रि–पेड कार्ड) प्रदान गरेको छ । सधै समाजिक क्षेत्रमा अग्रसर देखिएको किर्डाक नेपाल जुम्लाले ती वर्गलाई मध्यनजर गर्दै उनीहरुलाई सहयोगको लागि भ्यालु भौचर प्रदान गरेको हो ।

शनिबार तिला गाउँपालिका जुम्लाकाको त्रिवेणीमा भ्यालु कार्ड वितरणको सुरुवात भएको छ । युएसएआईडिको आर्थिक सहयोग, मर्सिकोर नेपालको अगुवाई र किर्डाक नेपाल जुम्लाको साझेदारीमा संचालित भकारी परियोजना अन्तर्गत भ्यालु भौचर किर्डाकले गरिब, असहाय, विपन्न, कोभिड प्रभावित र अपाङ्ग सहित जोखिममा परेका परिवारको लागि भ्यालु भौचर उपलब्ध गराउने कामको सुरुवात भएको हो ।

वितरण गरिएको भ्यालु भौचरमा १० हजार ३ सय ५० रुपैयाँ राखिएको छ । कार्डबाट तिलाका विभिन्न खाद्य तथा किराना पसल, भाडा पसल र कपडा पसलबाट त्यति मूल्य बराबरको किनमेल (सपिँग) गर्न सकिने किर्डाक नेपाल जुम्लाका लैङ्गिक समनता तथा सामाजिक समावेशीकरण अधिकृत नरवहादुर शाहीले बताउनु भयो ।

भ्यालु भौचर सो पसलहरुमा गएर स्वाईप गरेपछि समानको मूल्य काटिने व्यवस्था गरेको उहाँको भनाइ छ । शनिबार एक कार्यक्रमको आयोजना गरी तिला गाउँपालिका वडा नम्बर ४ नुवाकोट गाउँका ८३ घरलाई सो कार्ड वितरण गरिएको शाहीले बताउनुभयो ।

सो भ्यालु भौचरबाट उनीहरुले कपडाको लागि रोसनी तथा रजनी जनरल स्टोर, खाद्यन्नका लागि सुशिला तथा पारस जनरल स्टोर, गीब्सन तथा शान्ति जनरल स्टोर किराना पसल, भाडाका लागि सुशिला भाडा पसल र मासुका लागि नरेश फ्रेस हाउस बाट १० हजार ३ सय ५० रुपैयाँ मूल्य बराबरको समान खरिद गर्न सकिने भकारी परियोजनाका नगद तथा भौचर सहयोग अधिकृत धर्म प्रसाद बजगाईले बताउनु भयो ।

उक्त भ्यालु भौचरको अवधी भने ७ दिन सम्म रहने बताइएको छ । जोखिम प्रभावित धरधुरीलाई आवश्यकतामा आधारित सहयोग गर्ने कार्यक्रम अन्तर्गत सो वडाहरुमा सर्वेक्षणको आधारमा वास्तविक जोखिममा रहेका परिवारलाई भ्यालु भौचर वितरण गरिएको उहाँको भनाइ छ । स्थानीय सरकारले सिफारीस गरेका घर परिवारलाई भ्यालु भौचर वितरण भएको बजगाईले बताउनु भयो ।

उहाँका अनुसार ५४ प्रकारका सामाग्री मध्ये भ्यालु भौचर पाएकाहरुले आवश्कताका आधारमा १० हजार ३ सय ५० रुपैयाँको सामान लिन सक्ने व्यवस्था गरिएको बताउनु भयो । गएको कार्तिक महिनाको पहिलो साता भएको बैमसमी वर्षाबाट प्रभावित भएका र गरिब परिवारलाई सहयोग गरिएको उहाँको भनाइ छ ।

कोरोना प्रभावित, आर्थिक अवस्था कमजोर भएका र विपद् प्रभावित परिवारलाई सहयोग गरेको बजगाइले बताउनु भयो । दुईवटा स्थानीय तहका १४ गाउँहरु भ्यालु भौचर कार्यक्रमका लागि छनोटमा परेको भन्दै उहाँले तिला र तातोपानी गाउँपालिकाका ६ सय १२ घरपरिवारले राहत पाउने बताउनु भयो । टोप्ला, कयरकोट, एैरेनी, कुडारी, त्रिवेणी र रारा बजारमा रहेका तोकिएका पसलबाट प्रभावितले आवश्यकता अनुसार खाद्य र गैर खाद्य सामाग्री लिन मिल्ने व्यवस्था गरिएको बजगाईको भनाइ छ ।

तिला गाउँपालिका जुम्लाका अध्यक्ष रतननाथ योगिले गएको असोज ३० देखि कार्तिक १ गतेसम्म भएको अविरल वर्षाले तिला गाउँपालिकामा रहेका विभिन्न वस्ती मध्ये वडा नम्बर ४ को साँपुली, रावतवाडा र नुवाकोट गाउँमा बढी प्रभाव गरेको बताउनु भयो । उक्त बस्तीका खेतबारी पुरै नदिले बगाएर लगेको हुनाले सोहि वस्तीका नागरिकको घाउमा मलहम् लगाउन भकारी परियोजनासँग सहकार्य गरी राहत दिने कामको सुरुवात भएको जानकारी उहाँले गराउनु भयो ।

अध्यक्ष योगिका अनुसार गाउँपालिकाले विपद् प्रभावितका लागि बजेट विनियोजन गरे पनि पुग्दो मात्रमा रकम नभएकाले सहयोगि निकायलाई गरिएको आग्रह अनुसार तिलाका विपद् प्रभावित नागरिकले सहयोग पाउन थालेको बताउनु भयो । स्थानीय सरकारको निर्णय र पालिकाको भावनालाई कदर गरि सहयोग गर्ने निकाय प्रति उहाँले धन्यवाद समेत दिनुभयो ।

उहाँले भन्नुभयो, विपद्का क्रममा तिलाका नागरिकले ठुलो क्षतिको सामाना गर्नु परेको छ । विपद्ले किसानलाई पुराएको क्षति दिन नसकेपनि तत्काल सहयोग हुनेगरि राहत उपलब्ध गराएको अध्यक्ष योगीले बताउनु भयो । तिलाका ४ सय ३२ जना किसान गएको असोज र कार्तिमा महिनामा भएको वेमौसमी वर्षाबाट प्रभावित भएको उहाँले सुनाउनु भयो ।

विपद्बाट बढी प्रभावित भएकाहरुलाई पहिलो प्राथमिकता दिएर राहत दिने कामको सुरुवात भएको उहाँले संकेत गर्नुभयो । तिला गाउँपालिका वडा नम्बर ३ जोगिवाडा गाउँका ४३, स्याललुम्सेरा २२, सार्कीवाडा ४०, वडा नम्बर ४ नुवकोटका ८३ र साँपुलीका ७० घरले पहिलो चरणमा राहत पाउने भएका छन् ।

राहत वितरणको काम नुवाकोट गाउँबाट सुरु भएको छ । पहिलो चरणमा नुवाकोट गाउँका ८३ घरले राहत लिन सुरुवात गरेका छन् । यस्तै अन्य वडाहरुमा पनि राहत उपलब्ध गराउने आयोजकको तयारी रहेको छ । तिला गाउँपालिका वडा नम्बर १ राराका ६५, वडा नम्बर ६ घोडेका २५, सुडीका ५०, वडा नम्बर ९ राँसाका २८ र वडा नम्बर ७ तुहिका २५ घरले पनि राहत पाउने भएका छन् ।

यसैगरि तातोपानी गाउँपालिका वडा नम्बर ४ हाँकुका ५५, वडा नम्बर ८ पारिवाडाका ४५, वडा नम्बर ८ मुछालदेउका २६, वडा नम्बर ७ सुर्कीका ३५ घरले भ्यालु भौचर पाउने किर्डाक नेपाल जुम्लाका कर्मचारी नवराज भट्टराईले बताउनु भयो ।

भ्यालु भौचर वितरणका केहि तस्वीहरु ः

फोटोहरु सबै सरोज शाही