जुम्लामा उत्पादन हुने उच्च मूल्यका बालीहरुको अध्ययन – Karnali News

जुम्लामा उत्पादन हुने उच्च मूल्यका बालीहरुको अध्ययन

 १० पुष २०७८, शनिबार ०८:२१  

नौरते नेपाली, पुष १० जुम्ला
जुम्लाका पाँचवटा स्थानीय तहमा उत्पादन हुने उच्च मूल्यका बालीहरुको अध्ययन गरिएको छ । उच्च मूल्यका बालीको पहिचान गर्ने, उत्पादनमा वृद्धि गर्ने र बजारीकरणमा सहयोग गर्नको लागि अध्ययन गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड प्रोग्राम म्यानेर भेषवहादुर रावलले जानकारी गराउनु भयो ।

बिभिन्न सूचकमा रहेर जिल्लाका तिला, तातोपानी, गुठिचौर, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिका भित्र उत्पादन हुने २२ वटा बालिबस्तु तथा फलफुलमा अध्ययन गरिएको उहाँको भनाइ छ । अध्ययन गर्दा सिमि, स्याउ, आलु र ताजा तथा बेमौसमी तरकारी उच्च मूल्यका बालीहरु छनोटमा परेको उहाँको भनाइ छ ।

रावलका अनुसार छनोटमा परेका बालीहरुलाई प्रतिबेदनमा समावेश गराई मूल्य शृखंला विश्लेषण तथा बस्तु प्रमाणिकरण गोष्ठी आयोजना गरि सार्बजनिक गरिएको छ । २२ वटा बालिमाथि अध्ययन गर्दा स्याउ, सिमी, आलु र तरकारीहरु उच्च मूल्यका बालिमा परेको रावलको भनाइ छ । छनोटमा परेका बालिहरु माथि आगामी दिनमा कार्यक्रम बनाई संचालन गरिएको उहाँले जानकारी गराउनु भयो ।

उहाँका अनुसार यी बालिहरुको बजार मूल्य बढी रहेको र उत्पादन पनि बढी हुने गरेको जानकारी गराउनु भयो । मूल्य शृखंला विश्लेषण तथा बस्तु प्रमाणिकरण गोष्ठीमा सहभागी भएका स्थानीय सरकारका प्रतिनिधि तथा किसानहरुले अध्ययनले निकालेको निष्कर्ष तथ्यगत भएको बताएका छन् । जुम्लामा उत्पादन भएका बालिहरुको वर्गीकरणको सन्दर्भमा निकै राम्रो काम भएको उनिहरुले बताएका छन् ।

उच्च मूल्यका बालिहरुको बजारीकरण र मूल्यमा एकरुपता कायम गर्न उनिहरुले आग्रह गरेका छन् । यो कार्यक्रम जिल्लाको तिला गाउँपालिकाको रारालिही, चन्दननाथ नगरपालिका र पातारासी गाउपलिकामा सम्पन्न भएको छ । उच्च मूल्यको उत्पादनमा धेरै परिवारको संग्लनता रहेको, उत्पादनका लागि प्राबिधिक सम्भाव्यता रहेको, उत्पादनमा कृषकको रुची भएको, उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने, बजारीकरणको लागि सम्भावना रहेको, छनोट तथा प्रशोधन गरेर मूल्य वृद्धि गर्न सकिने, उत्पादन तथा बजारीकरणका लागि उपयुक्त सरकारी नीति रहेको लगायतका बिभिन्न सूचकहरु माथि अध्ययन गरिएको फिल्ड प्रोग्राम म्यानेजर रावलले बताउनु भयो ।

किर्डाक नेपाल जुम्ला र वल्र्ड भिजन इन्टरनेश्नल नेपालको साझेदारीमा संचालित एकिकृत पोषण तथा उत्थानसील कार्यक्रम अन्तर्गत अध्ययन गरिएको हो । कार्यक्षेत्रमा अब आउँदा दिनमा मूल्य शृखंलाको रुपमा रहेका उच्च महत्वका बालिस्तुहरुको बारेमा गरिएको अध्ययन प्रतिबेदन सार्बजनिक गरिने भएको छ ।